काठमाडौं । कांग्रेसभित्रको बढेको विवाद अब समानान्तर महाधिवेशनतर्फ प्रवेश गरेको छ । संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रिया अस्वीकार गर्दै शेरबहादुर देउवा पक्षले असोज १५ देखि छुट्टै वडा अधिवेशन सुरु गर्ने घोषणा गरेपछि पार्टीको विवाद पार्टी विभाजनको औपचारिक बाटोमा अघि बढेको हो ।
सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै इतरपक्षले असोज ३ बाट सुरु हुने अधिवेशनमा सहभागी नहुन पनि आग्रह गरेको छ । ‘पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औं महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौं,’ इतरपक्षको महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले पत्रकार सम्मेलनमा भने,‘पार्टीलाई विभाजनमा धकेल्ने कुनै पनि कदमबाट बच्न संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रुपमा ग्रहण गरिएन ।’
उनले सर्वोच्च अदालतमा पार्टीको विवाद विचाराधीन रहेकाले संस्थापनपक्ष महाधिवेशनमा एकलौटी अघि बढेको र त्यसलाई उचित मान्न नसकिने बताए ।
संयोजक डा. कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले तय गरेको कार्यतालिका अनुसार नै पार्टी अघि बढ्ने दाबी गरे । उनले असोज १५ गतेदेखि वडा तह हुँदै सुरु हुने अधिवेशनमा सक्रिय सहभागिता जनाएर मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा अनुरोध गरेका छन् ।
एउटै पार्टी, दुई अधिवेशन
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वमा बनेको कार्यसमितिले असोज ३ देखि महाधिवेशन प्रक्रिया सुरु गर्ने कार्यतालिका अघि सारेको छ । संस्थापन पक्षले मंसिर १६ देखि १९ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसलाई चुनौती दिँदै कोइराला संयोजक रहेको तयारी समितिले असोज १५ देखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ सम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
यससँगै कांग्रेसका वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय तहसम्म प्रष्ट विभाजन हुने देखिएको छ । दुवै समूहले आफ्नो प्रक्रियालाई वैधानिक दाबी गर्दै अधिवेशनको अलग प्रक्रियामा जान लागेका छन् । यसले एउटै पार्टीभित्र दुईथरी प्रतिनिधि चयन हुने र त्यसले कांग्रेसलाई औपचारिक विभाजनतर्फ उन्मुख गराउने छ ।
अदालतको फैसला नपर्खने संस्थापन, इतरको आपत्ति
इतर समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउँदै संस्थापनले महाधिवेशन प्रक्रिया अघि बढाउनु अस्वीकार्य भएको जनाएको छ । उसो त इतरपक्षले महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आदेश गर्न नपर्ने भन्दै महाधिवेशन गर्न संस्थापनलाई बाटो खुला गरिदिएको थियो ।
कोइरालाले एकतर्फी कार्यतालिका स्थगन गरी वार्ता र संवादबाट सहमतिमा पुग्नुपर्ने बताएका छन् । ‘सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न,’ कोइरालाको भनाइ छ । संस्थापनइतर पक्षले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनको एकतालाई जोगाउन सहमतिको प्रयास गरिए पनि त्यसलाई संस्थापनले नसुनेको आरोप लगाएको छ ।
तर, संस्थापनपक्षले भने आइतबार कार्यसम्पादन समितिको बैठकबाटै १४ औं महाधिवेशनबाट निर्वाचित देउवा पक्षका केन्द्रीय सदस्यहरुलाई सोही पदमा स्वीकार गर्ने भन्दै अधिवेशनको प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो । इतरसमूहबाट पूर्णबहादुर खड्का निकट संस्थापनको उक्त प्रस्तावमा सकारात्मक देखिएको छ । खड्का समूह सानेपा जान तयार भएकोबारे डा.कोइरालाले पत्रकार सम्मेलनमा भने, ‘हामी एकताबद्ध भएर जान चाहन्छौं । कुनै समूह चोटिन्छ भने हामीले के गर्न सक्छौं ? वार्ता बाहेक हाम्रो कुनै समाधान छैन । उनीहरूसँग वार्ता गरेर मूल बाटोमा हामी उनीहरूलाई स्वागत गर्न चाहन्छौँ । एकताबद्ध हामी अगाडि बढ्न चाहन्छौं ।’ देउवा, कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेतलगायतका नेताहरु संस्थापनको प्रस्तावमा सहमत देखिएका छैनन् । महाधिवेशनमा भाग लिन आए केन्द्रीय सदस्य दिन्छौं भने संस्थापनले अपमान गर्न खोजेको पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।
इतरले बनायो ३ समिति
कांग्रेसको संस्थापन इतर समूहले सोमबार महाधिवेशनलक्षित विभिन्न ३ समिति गठन गरेको छ । पार्टीको १५औं महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति, र सदस्यता व्यवस्थापन समितिको संयोजक मनोनयन गरेका हुन् । अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा मनोनीत भएको इतरपक्षको सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिएका छन् ।