हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन नेवारहरूले चथाः नखः मान्ने गर्दछन् । चथाः देवता पूजा गर्न नेवारहरूले बिहानै उखुको बोट, अदुवाको बोट, चथाः फूल पारिजात, कमलको पात किनेर ल्याउँछन् । देवतालाई चढाउन सानो नासपाती, हरियो झम्सी, हरियो खुर्सानी, काँचो लप्सी पनि किनेर ल्याउँछन् । सानो दसैं चाडका रूपमा मान्ने सन्दर्भमा समय्बजी राखेर आगम देवताको पूजा गर्छन् । नयाँ आएको मकै, पुरानो मकै, भटमास, छुस्यामुस्या, आरुको बियाँ, विभिन्न १२ थरी गेडागुडीलगायत छुस्यामुस्या चढाएर काँक्रो, नासपाती, अम्बा, उखुको बोट, अदुवाको बोट राखेर भोजको भाग चढाउँछन् ।
चथाः नखः आयो कि दसैं पनि आयो भन्ने सम्झिन्छन् । चथाः नखः जुन हप्तामा पर्छ महिना दिनपछि त्यही हप्तामा दसैंको कुछि भ्वय् अष्टमीको भोज पर्छ । चथाःको दिन पानी परेमा दसैंमा पनि पानी पर्छ भनिन्छ । चथाः नखः चाड राम्ररी मनाउन सके दसैंको चाड पनि राम्ररी मान्न सकिन्छ भन्ने विश्वास छ ।
चथाः देवतालाई चोर देवता पनि भनिन्छ । नेवारहरूले विभिन्न देवताहरूको पूजा गर्ने क्रममा चोर देवतालाई पनि पूजा गर्ने चलन छ । त्यसै चोर दोष नलागोस् भनी चोर देवतालाई पनि पूजा गर्ने चलन छ ।
नेवारी संस्कृतिअनुसार देवताहरूका पनि राजा देवेन्द्र इन्द्रलाई नै चोर देवता भनी मान्दै आइरहेको पाइन्छ । किंबदन्तीअनुसार इन्द्रकी आमाले वसुन्धराको पूजा गर्न चथाः स्वाँ परिजातको फूल स्वर्गमा नभएकाले फूल ल्याउन इन्द्रलाई अ¥हाइन् । इन्द्रले फूल खोज्दै जाने क्रममा मानिसको रूप लिई काठमाडांै भीमसेनस्थान टोलको तल खेतमा चथाः स्वाँ पारिजात टिपपिरहेका बेलामा खेतका मानिस ज्यापुले देखेर चोर भनी समाई डोरीले बाँधिदिएछ । चोरलाई सजाय दिने क्रममा मरुको सिंह सत्तलअगाडि दोबाटोमा उभ्याएर राखेछ । चथाः स्वाँ लिन गएका इन्द्र निकैबेरसम्म पनि नआएकाले इन्द्रकी आमा त्यहाँ आएर हेर्दा त आफ्नो छोरालाई बाँधिराखेको देखी आफ्नो छोरा र आफ्नो परिचय दिँदै ज्यापुसँग क्षमा मागेर खेती गर्न ज्यापुहरूलाई नभइनहुने धान पकाउने कुइरो र दिवंगत भएकाहरूलाई स्वर्गमा लगेर सुगतिमा पार्ने बचन दिई आफ्नो छोरा इन्द्रलाई स्वर्गमा लिएर गएको भनाइ छ । त्यही बेलादेखि काठमाडांैका नेवारहरूले हरेक वर्ष इन्द्रजात्राका दिन दिवंगत भएका परिवारका सदस्यहरू सुगति परोस् भनी दाँगी जाने चलन भएको हो । इन्द्रजात्रामा जात्रा मान्ने क्रममा इन्द्रलाई डोरीले बाँधेर दुवै हात फैलाएर राखिएको काठको मूर्ति बनाई प्रदर्शन गरिँदै आएको हो भनिन्छ ।
चथाःको दिन चथाः देवतालाई राती पूजा गरिन्छ । चथाःद्यः पूजा गर्दा गणेश र चन्द्रमासँगै राखेर देवताको पूजा गर्छन् । नेवारहरूले जुनसुकै पूजा गरे पनि नभई नहुने सुकुन्दा पनि बाल्छन् । सबैभन्दा पहिला सुकुन्दामा पूजा गरेपछि मात्र गणेश, चन्द्रमा र चथाः देवताको पूजा गर्छन् । चथाः देवतालाई मीठामीठा खाने कुरा राखेर पूजा गर्नु हुँदैन चोर पल्किन्छ भनी तितो टरो, नासपाती, मुखै पोल्ने हरियो खुर्सानी, हरियो कागती र काँचो लप्सी चढाएर दाँत कँुडिने र खानै नहुने गरी भुटिएको मकै, छुस्यामुस्या र गेडागुडी पनि चढाउने गरिन्छ । चथाःका दिन राती चन्द्रमा हेर्न हुँदैन चोर दोष लाग्छ भनी चन्द्रमामा नहेरी चथाः देवताको पूजा गर्छन ।
नेवारी संस्कृतिअनुसािर चथाःका दिन नेवारहरूले चन्द्रमा नहेरे झैं अन्य जातिका मानिसहरूले पनि चथाःको दिन चन्द्रमा हेर्दैनन् । चथाःका दिन किन चन्द्रमालाई हेर्नुहुँदैन भन्ने कुरामा गणेशसँग सम्बन्ध रहेको एउटा भनाइ रहेको छ ।
भाद्रशुक्ल चतुर्थी अर्थात् चथाःका दिन गणेशको जन्म भएको हो । त्यसैले शिव, पार्वती, ब्रम्हा, विष्णुलगायत ३३ कोटि देवताहरूले हर्षबढाइँका साथ रमाइलो गर्दै श्रीगणेशको जन्मदिन मनाइरहेका थिए । सम्पूर्ण देवताहरूले हर्षित भई श्रीगणेशको महिमा वर्णन गर्दै आशीर्वाद दिइरहेका बेलामा चन्द्रमाले भने सबै देवताहरूको रूप राम्रो छ तर गणेशको रूप हेरेर गिज्याए । आफूलाई गिज्याएको देखेर गणेशले रिसाएर चन्द्रमालाई ‘तेरो मुख जसले हेर्छ ऊ चोर बनोस् र महादेवको शिरबाट पनि तँ तल झरेस्’ भनी श्राप दिएछन् ।
गणेशले श्राप दिएपछि त्यहाँ भएका सबै देवताहरूले चन्द्रमालाई घृणा गरेर उसको मुख हेर्नुपर्ला भनी मुन्टो बटार्न थाले । श्राप थाप्नुपरेका र देवताहरूले पनि घृणा गरेकाले अत्यन्त दुःखी भई चन्द्रमा त्यहाँबाट फर्केर एक्लै लुकेर रोइरहे । चन्द्रमा रोइरहेको देखेर नारदले गणेशको श्रापबाट बच्न महादेवको तपस्या गर्न सल्लाह दिए ।
नारदको सल्लाहअनुसार चन्द्रमाले महादेवको तपस्याबाट खुसी भई महादेवले गणेशले दिएको श्रापबाट मैले पनि बचाउन सक्दिन, त्यसैले गणेशको पाउ परेर माफी माग्न भनेछन् । महादेवले यस्तो भनेपछि चन्द्रमाले पनि गणेशसँग गएर माफी मागेछन् । गणेशले मैले दिइसकेको श्राप खेर जाँदैन, त्यसैले मेरो जन्मदिन अर्थात् भाद्र शुक्ल चतुर्थीका दिनमात्र लागोस्, त्यो दिन कसैले पनि तिम्रो अनुहार हेर्नुहुँदैन भनेछन् । त्यही मान्यताअनुसार आजसम्म पनि सबैले चथाःका दिन चन्द्रमालाई हेर्दैनन् ।
गणेशको जन्मोत्सव भएकाले भाद्रशुक्ल चतुर्थीका दिन नेवारहरूले गणेशको पूजा विशेष रूपमा गर्दै जात्रा पनि मनाउँछन् । जमःमिहरूले अर्थात् जमलवासीहरूले कमलादी गणेशको खट जात्रा गर्छन् ।
घरैपिच्छे माटोको गणेश बनाई घरमा स्थापना गरेर चथाःका दिनदेखि ६ दिनसम्म पूजा गरेर दिनहुँ बिहान बेलुका पूजा गरी भजन गाउँछन् । अनि छैंठौं दिनमा घरैपिच्छेबाट गणेशका माटोका मूर्तिलाई बोकी बाहिर ल्याई जात्रा गर्दै समूह मिलेर पशुपति आर्यघाट, गुह्येश्वरी, गौरीघाट र सुन्दरीजलको नदीमा लगेर विर्सजन गरिन्छ । नेवारी संस्कृतिमा भने जुनसुकै चाडबाडमा पनि गणेशलाई पूजा गर्दा समय्बजी, जाँडरक्सी चढाइन्छ । नेवारी संस्कृति र परम्पराअनुसार गणेशलाई पनि पशुबलि दिने चलन छ ।
(लेखक धर्मसंस्कृतिका जानकार हुन् ।)