नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

कांग्रेस एकता र विभाजनको कसरतमा

मुलुकको पुरानो र ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफनै पार्टी भित्रको बिवादको भ्ुँमरीमा परेको छ । मुलुकको विभिन्न कालखण्ड र राजनीतिक परिवर्तनमा शसक्त भूमिका र नेतृत्व लिएको नेपाली कांग्रेस गत बर्ष युवा पुस्ता जेनजी आन्दोलन पछि निकै अप्ठ्यारो अवस्थामा पुग्यो ।  मुलुकको लोकतान्त्रिक शासन पद्धति र प्रजातान्त्रिक आन्दोलनको अग्र मोर्चामा रहेको काग्रेस यति बेला आफ्रनै घरभित्रको लोकतान्त्रिक  प्रकृया र राजनीतिक समझदारी कायम गर्न नसक्दा कठिन घडीबाट गुज्रेको छ । गत बर्ष जेनजी आन्दोलन पछि निकै कठिन अवस्थामा पुगेको कांग्रेस यति बेला घर झगडा मिलाउन सकिरहेको छैन् ।  कांग्रेस  भित्र पुराना र नयाँ बीच आपसी द्धन्द र कलह बढेको देखिएको छ । दुवै पक्ष आआफनो अडान र अस्तित्वको लडाईमा देखिएका छन् । 
पछिल्लो निर्वाचनपछि कमजोर बनेको कांग्रेसको १५औँ महाधिवेशन पार्टीलाई पुनर्गठन, पुस्तान्तरण र नयाँ ऊर्जा दिने अवसर बन्न सकेको देखिदैन तर, महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रको विवाद झन् गहिरिँदै गएको छ । संस्थापन र इतर समूहले आ–आफ्नै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया अघि बढाउने निश्चय गरिसकेका छन् । एउटै पार्टीभित्र दुईथरी अधिवेशनको तयारी हुनु भनेको पक्कै पनि पार्टीको लागि हितकर हुदैन र यस्तो प्रवृत्तिले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र लाई पनि कमजोर बनाउन सक्छ । 
कांग्रेस भित्र यति बेला सामान्य आन्तरिक प्रतिस्पर्धा भन्दा पनि संस्थागत संकट तर्फ उन्मुख भएको देखिन्छ ।  लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक हुन्छ । विचार, नीति र नेतृत्वबारे मतभिन्नता हुनु पनि अनौठो होइन । तर लोकतन्त्रको अर्थ आफ्नो पक्षले जित्दा मात्र प्रक्रिया स्वीकार गर्ने र आफू प्रतिकूल हुँदा त्यसलाई अस्वीकार गर्ने होइन । लोकतन्त्रको वास्तविक परीक्षा भनेकै आफ्नो अनुकूल परिणाम नआउँदा पनि विधि र संस्थालाई स्वीकार गर्न सक्ने संस्कार हो । कांग्रेसको वर्तमान विवादले राजनीतिक संस्कारमाथि गम्भीर प्रश्न उठाएको छ । कांग्रेस भित्र कति लोकतान्त्रिक संस्कार छ ? भन्ने प्रश्न सामुन्नेमा ल्याएको छ ।
अहिलेको विवादमा महाधिवेशनको मिति, प्रतिनिधि चयन र पार्टीको आधिकारिकतासम्बन्धी प्रश्न महत्वपूर्ण छन् । अदालतमा विवाद विचाराधीन छ भने त्यसको कानुनी निरूपण पनि आवश्यक छ । तर राजनीतिक दलको संकट कानुनी प्रक्रियाले मात्र समाधान गर्न सक्दैन । अदालतले वैधानिकताको प्रश्न टुंग्याउन सक्छ । तर, पार्टीभित्रको विश्वास र एकता अदालतले निर्माण गरिदिन सक्दैन । त्यसका लागि राजनीतिक नेतृत्वकै पहल आवश्यक हुन्छ । 
कांग्रेसको समस्या आज संस्थापन र इतरसमूहबीचको शक्ति संघर्षमा सीमित छैन । यो संस्थामाथि व्यक्तिको प्रभाव कति हाबी हुने भन्ने प्रश्न पनि हो । यदि महाधिवेशन नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रिया नभएर नेतृत्व कब्जा गर्ने रणनीतिक मैदानमा परिणत भयो भने महाधिवेशनकै अर्थ कमजोर हुन्छ । महाधिवेशनले पार्टीलाई एकीकृत र बलियो बनाउनुपर्ने हो । अदालतमा मुद्दा विचाराधिननै रहेकको अवस्थामा सम्पन्न हुने दुईथरी महाधिवेशनले वैधानिकताको विवादलाई भने जिवितै राख्नेछ । 
वडा तहदेखि नै अलग–अलग अधिवेशन भए त्यसको असर केन्द्रीय नेतृत्वमा मात्र पर्ने छैन । एउटै वडाबाट दुईथरी प्रतिनिधि, एउटै जिल्लामा दुईथरी नेतृत्व र अन्ततः एउटै पार्टीको दुईथरी दाबी बन्न सक्छ । त्यसपछि विवाद ‘को सभापति?’ भन्ने प्रश्नमा सीमित रहने छैन । ‘कुन कांग्रेस आधिकारिक ?’ भन्ने प्रश्न खडा हुनेछ । अहिले विद्यमान यो प्रश्नको समाधानका लागि महाधिवेशन हुनुपर्ने थियो । तर, उही प्रश्न बल्झिने देखिँदैछ । यस्तो अवस्था कुनै पनि लोकतान्त्रिक दलका लागि सुखद होइन । 

कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण राजनीतिक शक्ति हो । त्यसैले कांग्रेस कमजोर हुनु उसको मात्र समस्या होइन । लोकतन्त्रमा राजनीतिक दलहरू बलिया, लोकतान्त्रिक र संस्थागत अभ्यास  हुनु आवश्यक छ । दलभित्रको विवादलाई व्यवस्थापन गर्न नसक्दा जनतामा दलप्रतिको विश्वाससमेत कमजोर हुन्छ । विशेषतः लामो लोकतान्त्रिक इतिहास बोकेको कांग्रेसले आफ्नै आन्तरिक लोकतन्त्रको परीक्षा यसरी असफल हुन दिनुहुँदैन पक्कै पनि उसको नेतृत्व र पार्टी भित्रको आन्तरिक प्रकृया कमजोर रहेको प्रष्ट नै हुन्छ । 
यसको अर्थ कांग्रेसभित्र मतभेद हुनु हुँदैन भन्ने होइन । बरु मतभेदलाई संस्थागत बहसमा बदल्नुपर्छ । पुस्तान्तरण, संगठन सुधार, नेतृत्व चयन, नीति र कार्यशैलीबारे खुला बहस आवश्यक छ । समस्या बहसमा होइन, बहसपछि निष्कर्ष स्वीकार गर्ने संस्कार कमजोर हुनुमा हो । लोकतन्त्रमा सबैले जित्दैनन् । कहिलेकाहीँ हार स्वीकार गर्नुपर्छ, कहिलेकाहीँ सहमति खोज्नुपर्छ र कहिलेकाहीँ आफ्नो अडानबाट एक कदम पछि हट्नुपर्छ । 
अहिले पनि कांग्रेसका दुवै पक्षसँग समाधानको बाटो रोज्ने अवसर छ । आ–आफ्नो कार्यतालिकालाई प्रतिष्ठाको विषय नबनाई संवाद सुरु गर्नुपर्छ । महाधिवेशनको मिति, प्रतिनिधित्व, वैधानिकता र नेतृत्व चयनबारे साझा सहमति खोज्न सकिन्छ । तर त्यसका लागि संवादलाई कमजोरी र सहमतिलाई पराजय ठान्ने प्रवृत्ति त्याग्नुपर्छ ।

राजनीतिक दलहरू प्रायः एकैपटक विभाजित हुँदैनन् । पहिले संवाद कमजोर हुन्छ, त्यसपछि समानान्तर संरचना बन्छ, त्यसपछि वैधानिकताको दाबी सुरु हुन्छ र अन्ततः विभाजन अपरिहार्यजस्तो देखिन थाल्छ । कांग्रेस अहिले यही जोखिममा छ ।
महाधिवेशनमा एउटा पक्षले जित्ला, अर्को पक्षले हार्ला । नेतृत्व फेरिन सक्छ । तर कांग्रेस नै कमजोर भयो भने जित्ने र हार्ने दुवैको राजनीतिक घाटा हुनेछ । पार्टी अस्त्वि जोगिएन भने कुनै पनि समूहको विजय दीर्घकालीन विजय हुँदैन । त्यसैले अहिले कांग्रेसका नयाँ र पुराना दुवै पक्षका नेताहरुले त्याग र इमान्दारिता देखाउने समय आएको छ ।  नेताहरूले ‘कसको महाधिवेशन सही ?’ भन्दा ठूलो प्रश्न सोध्नुपर्छ—‘कांग्रेसलाई एउटै लोकतान्त्रिक संस्थाका रूपमा कसरी जोगाउने ?’ महाधिवेशन शक्ति प्रदर्शन होइन, संस्थागत लोकतन्त्रको परीक्षा हो । यो परीक्षा कांग्रेसले हा¥यो भने नेतृत्व जसले जिते पनि कांगे्रस पार्टी हार्नेछ । यो संकटमा काग्रेसको नेतृत्वले आफनो तथा समूहको स्वार्थ र कसैको इशारा भन्दा पनि लोकतन्त्र र नागरिकको अधिकारको लागि दुवै पक्षको नेतृत्वले त्याग र इमान्दारिता आवश्यक हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्