रौतहट, ४ असोज - जेनजी आन्दोलनको क्रममा कार्यालयमा आगजनी भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले टेन्टबाट सेवा दिन सुरु गरेको छ । कार्यालयमा आगजनीपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा शरण लिएका इप्रकाका प्रहरीले फर्किएर कार्यालयको प्रांगणमा दुईओटा टेन्ट उभ्याएका छन् ।
अहिलेलाई टेन्टबाट नागरिकको उजुरी तथा गुनासो सुन्ने र त्यसको सुनुवाइ गर्ने कार्यहरू गरिरहेको डीएसपी लाबुङले जानकारी दिइन् । आगलागीबाट ध्वस्त कार्यालय पुनर्निर्माणका स्थानीयले सक्रियता देखाएका छन् ।
पुनर्निर्माणको लागि आर्थिक सहयोग संकलन भइरहेको छ । हालसम्म साढे सात लाख नगद सहयोग उठिसकेको छ । आर्थिक सहयोगबाहेक पनि दाताहरूले इँटा, काठ, सिमेन्ट, बालुवा, सिसालगायतका जिन्सी सामग्रीहरू पनि सहयोग गरिरहेका छन् ।
आगलगीबाट क्षति पुगेको कार्यालयको सरसफाइ गर्न स्थानीय तथा नेपाली सेनाले पनि श्रमदान पनि गरेका छन् । उनीहरूले तीन दिन लगाएर सरसफाइ गरेका थिए । निर्माणका क्रममा केही समस्या आए पनि काम भइरहेकाले छिट्टै प्रहरीलाई हस्तान्तरण गरिने अभियानकर्मी हर्कबहादुर मोक्तान बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २४ गतेको आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटसहित १० वटा प्रहरी कार्यालयहरूमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजन कार्कीका अनुसार आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय शिवनगर , प्रहरी चौकी हर्षाहा, प्रहरी चौकी सुकदेव चोक, प्रहरी चौकी बंकुल, प्रहरी चौकी चन्द्रनिगाहपुर तल्लो बजारमा क्षति पुगेको छ ।