नेभिगेशन
विश्व

एआईको डरले किन हल्लियो विश्व सेयर बजार ?

काठमाडौं (एजेन्सीहरू) – केही वर्षयता एआई विश्व सेयर बजारको आकर्षण बनेको छ । एआईसँग जोडिएका कम्पनीको सेयर मूल्य तीव्र बढेको छ । चिप निर्माता र डाटा सेन्टर कम्पनी पनि चम्किएका छन् । लगानीकर्ताले एआईलाई भविष्यको ठूलो आम्दानीको स्रोत मानेका छन् ।
मंगलबार भने तस्वीर केही बदलियो । एआई कम्पनीका सेयरमा बिक्री चाप बढ्यो । त्यसको असर विश्वका प्रमुख सेयर बजारमा देखियो । युरोपका प्रमुख बजार पनि ओरालो लागे । एसियाली बजारमा पनि दबाब देखियो ।
अमेरिकामा एआई कम्पनीको मूल्य निकै माथि पुगेको छ । कतिपय कम्पनीको मूल्य आम्दानीभन्दा छिटो छिटो धेरै बढेको छ । यसले बजारमा ‘एआई बबल’को बहस बढाएको छ । लगानीकर्तालाई मूल्य अत्यधिक बढेको चिन्ता छ ।
मंगलबार विश्वका प्रमुख सेयर बजारमा व्यापक दबाब देखिएको छ । अघिल्लो दिन अमेरिकी एआई कम्पनीका सेयर घटेपछि त्यसको असर अन्य बजारमा पनि प¥यो । अमेरिकी बजारमा सोमबार डाउ जोन्स ०.२९, एस एन्ड पी ५०० ०.४८ र नास्डाक ०.५६ प्रतिशत घटेका थिए ।
मंगलबार एसियामा जापानको निक्केई, दक्षिण कोरियाको कोस्पी र अस्ट्रेलियाको एस एन्ड पी÷एएसएक्स २०० दबाबमा रहे । हङकङको हाङसेङ र चीनको सांघाई परिसूचक पनि कमजोर भए । युरोपमा पनि फ्रान्सको क्याक ४० र जर्मनीको ड्याक्स ओरालो लागे । बेलायतको एफटीएसई १०० पनि दबाबमा रह्यो । एआई विकास सुस्तिन सक्ने चिन्ता यसको मुख्य कारणमध्ये एक बन्यो । तर बजारमा एआई मात्रै चिन्ताको विषय थिएन । कच्चा तेलको मूल्य १०७ डलरभन्दा माथि पुगेको थियो । अमेरिकी १० वर्षे ऋणपत्रको प्रतिफल पनि पाँच प्रतिशत नाघ्यो । यसले मुद्रास्फीति र ब्याजदर बढ्ने डर थप्यो ।
अर्को चिन्ता एआईमा भइरहेको विशाल लगानी हो । प्रविधि कम्पनीले डाटा सेन्टरमा अर्बौँ डलर खर्चिरहेका छन् । अत्याधुनिक चिप खरिदमा पनि ठूलो रकम खर्च भइरहेको छ । एआई मोडल विकासमा पनि ठूलो लगानी भइरहेको छ ।
यो लगानीबाट तत्काल ठूलो आम्दानी आउँदैन । कम्पनीले पहिले ठूलो खर्च गर्नुपर्छ । त्यसपछि एआई सेवा विस्तार गर्नुपर्छ । आम्दानी बढ्न समय लाग्न सक्छ । यही कारण लगानीकर्ताको चिन्ता बढेको हो ।
रोयटर्सका अनुसार एआई उद्योगको पुँजीगत खर्च निकै बढेको छ । चालु वर्ष खर्च ७ खर्ब ९५ अर्ब डलर पुग्न सक्छ । आगामी वर्ष सन् २०२७ मा यो १० खर्ब ८० अर्ब पुग्ने अनुमान छ ।

यस्तो खर्चले धेरै कम्पनीलाई फाइदा पु¥याएको छ । चिप निर्माता त्यसका प्रमुख लाभग्राही हुन् । डाटा सेन्टर निर्माण गर्ने कम्पनी पनि लाभान्वित छन् । विद्युत् र नेटवर्क उपकरण कम्पनीले पनि बजार पाएका छन् ।
तर खर्च घट्यो भने अवस्था बदलिन सक्छ । चिपको माग घट्न सक्छ । डाटा सेन्टर निर्माण पनि सुस्तिन सक्छ । त्यसले सम्बन्धित कम्पनीको आम्दानी घटाउन सक्छ । त्यसपछि सेयर मूल्यमा थप दबाब आउन सक्छ ।
एआई सुरक्षाको बहसले पनि बजारलाई प्रभावित गरेको छ । एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोडेईले विकासको गति घटाउन आग्रह गरेका छन् । उनले एआई विकासमा विश्वव्यापी सुस्तता आवश्यक रहेको बताएका छन् । मानव सुरक्षाका लागि यस्तो कदम आवश्यक भएको उनको तर्क छ ।
यो भनाइ बाहिरका आलोचकबाट आएको थिएन । एआई उद्योगभित्रकै प्रमुख व्यक्तिबाट आएको थियो । त्यसैले लगानीकर्ताले यसलाई गम्भीर संकेत माने । एआई विकासमा नियमन बढ्ने सम्भावना पनि देखियो ।
नियमन बढे कम्पनीको खर्च बढ्न सक्छ । नयाँ एआई प्रणाली बजारमा पुग्न ढिला हुन सक्छ । त्यसले कम्पनीको अपेक्षित आम्दानीमा असर पार्न सक्छ । यही सम्भावनाले लगानीकर्तालाई झस्काएको संकेत संसारका ठुला स्टक मार्केटका सूचकले गरेका छन् । 
ओपनएआईको सम्भावित सेयर निष्कासन पनि चर्चामा छ । प्रमुख कार्यकारी साम अल्टम्यानले तत्काल सेयर बिक्री नगर्ने संकेत दिएका छन् । त्यसले प्रारम्भिक लगानीकर्ताको ठूलो आम्दानी ढिला हुन सक्छ । यसले पनि एआई बजारको उत्साह केही घटाएको छ ।
तर लगानीकर्ताले अहिले नै आत्तिनुपर्ने अवस्था छैन । एआईको माग भने अझै बलियो देखिन्छ । कम्पनीहरूले एआईमा लगानी पनि रोकिसकेका छैनन् । बजारमा देखिएको गिरावटलाई सुधारका रूपमा पनि बुझ्न सकिन्छ ।
समस्या एआई प्रविधिमा मात्र छैन । मुख्य समस्या कम्पनीको मूल्यांकनमा देखिएको छ । लगानीकर्ताको अपेक्षा निकै माथि पुगेको छ । अब ती अपेक्षा पूरा गर्नुपर्ने दबाब बढेको छ ।
यसले बजारलाई एउटा प्रश्न सोध्न बाध्य बनाएको छ, एआईबाट वास्तविक नाफा कहिले आउँछ ? यही प्रश्नको उत्तर अहिले लगानीकर्ताले खोजिरहेका छन् ।
एआई विकास रोक्ने बहस पनि यही कारण महŒवपूर्ण छ । उद्योगभित्र सुरक्षा परीक्षण बलियो बनाउन माग बढेको छ । स्वतन्त्र संस्थाबाट एआई प्रणाली परीक्षण गर्ने प्रस्ताव आएको छ । जोखिम देखिए विकासको गति घटाउने विषय पनि उठेको छ ।
सरकारहरू पनि एआई नियमनको तयारीमा छन् । कम्पनीका लागि सुरक्षा मापदण्ड बनाउने प्रयास भइरहेको छ । अमेरिका र चीनबीचको प्रतिस्पर्धाले भने चुनौती बढाएको छ । दुवै देश एआई विकासमा अगाडि बढ्न चाहन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्