काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता–कार्यकर्तालाई अपील गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै उनले वडा तहदेखि केन्द्रसम्म हुने सबै अधिवेशनमा कुनै अलमल र द्विविधामा नपरी सक्रिय रूपमा सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका हुन् । असोज ३ र ४ गते हुने वडा अधिवेशनबाटै महाधिवेशनको प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन उनले आग्रह गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ काठमाडौंमा हुँदैछ ।
थापाले संविधान, कांग्रेसको विधान र प्रचलित कानुनअनुसार महाधिवेशन प्रक्रिया अघि बढिरहेको भन्दै पार्टीको बृहत्तर हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । लोकतान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक हुने उल्लेख गर्दै उनले मतभेदलाई संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नुपर्ने बताएका छन् । कांग्रेसले फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्दै आएको उनको भनाइ छ ।
थापाका अनुसार २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज रूपमा सहभागी गराउने निर्णय गरिएको छ । पार्टीका अग्रज नेता तथा विभिन्न तहका पदाधिकारी र सदस्यबाट प्राप्त सुझावका आधारमा यस्तो निर्णय गरिएको उनले बताएका छन् । सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाइसकेको अपिलमा उल्लेख छ । निर्वाचन अधिकृतहरू समेत जिल्लामा खटिइसकेको थापाले जानकारी दिएका छन् ।
वडा अधिवेशनबाट सुरु हुने महाधिवेशन अभियानले कांग्रेसलाई अझ एकताबद्ध, गतिशील र राष्ट्रिय चुनौती सामना गर्नसक्ने बलियो पार्टी बनाउने विश्वास व्यक्त गर्दै थापाले सौहार्दपूर्ण वातावरणमा सबैको सहभागिता सुनिश्चित गरी महाधिवेशन सफल बनाउन अपिल गरेका छन् ।
कुन तहको उमेदवारलाई कति शुल्क ?
कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन निर्देशिका सार्वजनिक गरेको छ । जसमा विभिन्न तहका लागि उम्मेदवारको मनोनयन शुल्क तोकिएको छ । जसअनुसार गाउँ–नगर वडा कार्यसमिति सभापति पदका लागि मनोनयन फाराम लिन एक हजार रुपैयाँ शुल्क लाग्ने छ । उपसभापति, सचिव र सहसचिवका लागि ७ सय, सदस्यका लागि ५ सय र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय शुल्क छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १५ सय र सदस्यका लागि एक हजार शुल्क लाग्नेछ ।
त्यस्तै, नगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । महानगर÷उपमहानगर सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार शुल्क तोकिएको हो । प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचनका लागि ५ हजार शुल्क छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार शुल्क छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि ७ हजार र केन्द्रीय महासमिति सदस्यका लागि ५ हजार शुल्क तोकिएको छ ।
जिल्ला कार्यसमिति सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार, प्रदेश कार्यसमिति सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र सदस्यहरूको लागि ५ हजार शुल्क तोकिएको छ । केन्द्रीय कार्यसमिति सभापतिका लागि ४० हजार शुल्क राखिएको छ । उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार शुल्क छ ।
महाधिवेशन गर्नु आफ्नो कर्तव्यः देउवा
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति भएका नाताले १५औं महाधिवेशन गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । उनले मंगलबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो ।’
कांग्रेसलाई कमजोर बनाउने कार्य भएमा आफू मूकदर्शक भएर नबस्ने पनि देउवाको चेतावनी छ । ‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमति वेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मूकदर्शक भएर बस्न सक्ने छैन,’ उनले भनेका छन् ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन पनि उनले अपिल गरेका छन् । यससँगै आउँदो मंसिर २१ देखि २३ गतेसम्म हुने एकताको महाधिवेशनमा जुट्न पनि आग्रह गरेका छन् ।
सात बुँदे अपिल जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताएका छन् । ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन । अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन,’ देउवाले भनेका छन्, ‘तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन ।’