नेपालका राजनीतिक दलहरू ‘खानका लागि सबैसँग एकता, व्यवहार र नियतमा अनेकता’ भेटिन्छन् । बीउ उमिँ्रदा एकदलीय वा द्विदलीयताबाट उत्पत्ति हुन्छ । नेपालका राजनीतिक दलहरू प्रायः द्विदलीयता भु्रणबाट उम्रिए जस्तो लाग्छ । नेपाली कांग्रेस (भारतको वैरगनीया सम्मेलन ९ अप्रिल १९५१) पछि एउटा दल भएको र नेपाल कम्युनिष्ट पार्टी (१५ सेप्टेम्बर १९४९ कलकत्ता)मा गठन र (३ अप्रिल १९५९)को प्रथम आमनिर्वाचनपछि गुट–उपगुट, सत्ताको मोह नजिकै र बाहिर (भूमिगत)वा निर्वासन (भारत)मा रहेर सत्ता प्राप्तिका लागि कार्यरत (कार्यगत एकता भन्दै) झण्डै ४ दशक (२०४७ साल)सम्म बिताउँदै आएका हुन् ।
यो क्रमले कुनै न कुनै रूपमा निरन्तरता पाइरहेको छ । अझै पनि नेपाली सामाजिक–सांस्कृतिक एवं भू–राजनीतिक धरातलीय यथार्थमा यी दलहरू संस्थागत विकास र दिगो हुन सकिरहेका छैनन् । वि.सं. २०१७ को घटना र पछिल्ला जेनजी विद्रोह (२३÷२४ भाद्र २०८२)को घटना एवं २१ फागुन २०८२ को आमनिर्वाचनको परिणामले सम्पूर्ण दलहरू (रा.स्व.पा.) बाहेकलाई पाखा लगाउँदा पनि यो तितो यथार्थबाट शिक्षा ग्रहण गर्न सकिरहेका छैनन् ।
यसै प्रसंगमा झण्डै साढे दुई दर्जन वामपन्थी दलका हिमायतीहरू र ठूलो सत्तामोहकोे चोट नेकपा–एमाले नेतृत्वको सरकार पनि पुनः गर्दन जोड्न पुष्पकमल दाहाल प्रचण्डको संयोजन र माधवकुमार नेपालको सहसंयोजनबाट ‘वामपन्थी’ एकताको धुनमा मुन्टो उठाउन थालेको आभास हुन थालेको छ । यी राजनीतिक दलहरूलाई झण्डै साढे ७ दशक पहिलेदेखि जनताले बारबार सत्तामा विराजमान गराएका हुन् । झण्डै ४ दशकसम्म नेपाली मतदाताहरूले अवसर नदिएको भए ४÷५ पटकसम्म प्रधानमन्त्री र तीन दशकसम्म अविच्छिन्न सांसद कसरी हुन पुगे ? अब सिङ र पुच्छर उम्रन बाँकी छैन । इतिहास मेटिएको छैन । केर्न पनि सकिँदैन, बरु कोर्न÷लेख्न आ–आफ्नो ढाँचाबाट सकिन्छ । वामपन्थी दलको के कुरा, संसदीय शासन प्रणालीको मिसन बोकेको नेपाली कांग्रेस आफ्नै दलको विधान बुझ्न नसकेर न्यायपालिकाको शरणमा पुगेको छ । कुन दलको शासन प्रणालीको विधि–विधान के छ कस्तो छ कसलाई के थाहा ? सञ्चार माध्यम, दलका आफ्नै कार्यकर्तालगायत आमबुद्घिजीवी, लेखकहरूसम्मलाई के थाहा ? पार्टीका स्कुल विभाग चलाउने मास्टरलाई जबजको अर्थ के हो ? त्यो मदन भण्डारीले कहिले कहाँ रोपे र आज किन यति धेरै, झण्डै ३ दर्जन वामपन्थी हाँगा–बिगा, पातपतिंगर र झाडीभित्र पस्यो ? सिद्धान्तले काम गरेन कि, मदन भण्डारीले अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनको परिभाषालाई राम्ररी उल्था गर्न जानेनन् ? आज नेपालका वामपन्थीहरू यो मति र गतिमा गुज्रिन पुगेका छन् ? यही पारा हो भने भोलि नेपालका वामपन्थीहरूको विकासक्रम, नौ महिने लोकप्रिय मनमोहन अधिकारीको शासनकाल, स्थानीय सरकारहरूको सशक्तीकरण, ७७ जिल्ला र झण्डै सात सय ५३ पालिका र वडाहरूमा फैलिन सफल मोटरेबल सडक सञ्जाल सञ्चालनलाई बामपन्थीहरूले बिर्सनेछन् ।
नेकपा–एमालेको विगतको साख, ‘सामाजिक सुरक्षा भत्ता’को प्रभाव र महŒवलाई बिर्सने र कसैको योगदान मेटाउने धृष्टता दुई पार्टी (माओवादी र एमाले)को एउटै पद (पार्टी अध्यक्ष–नेकपा)मा केपी ओली र पुष्पकमल दाहालको झण्डै दुईतिहाई सरकारलाई अदालतले किनारा लगाइदिएपछि बल्ल आ–आफ्नो ठेगानामा बनाइदिएपछि एक अर्कालाई हदैसम्मका गालीगलौज गर्दै एकले अर्कालाई सराप्न पछि नपरेकाहरू पुनः ‘वामपन्थी’ एकताको नाममा एकैै ठाउँमा कसरी बस्लान् ? जात र थर, काम र व्यवहार, पेशा र राष्ट्रको सुविधा, शक्ति र ओहोदा बिर्सेर बिचौलियामार्फत् कमाउन तयार कसरी हुँदैछन् ? नेपाली मतदाताले नजिकैबाट बुझ्दैछन् । बुढाको नेतृत्वको विकल्प युवाहरूबाट केही हुन सक्ला तर युवा नेतृत्वको विकल्प वृद्घाहरू हुन सक्दैनन् । यिनीहरूले विगतमा असंवैधानिक, गैरकानुनी, प्रजातन्त्रका मूल्य र मान्यताविपरीत काम गरेका छन् । गठबन्धन, पदहरूको बाँडफाँट, राज्यका संवैधानिक अंगहरू र न्यायिक संस्थामा समेत दलीय अंशबण्डामा काम गरेका प्रमाणहरू धेरै छन् । अब ती दिनहरू फर्कलान् भन्ने समय समाप्त हुँदैछन् ।
वामपन्थी नेताहरूको मनोविज्ञान, पृष्ठभूमि, आचरण र व्यवहारबारे पनि छोटो चर्चा गरौं । मानिसको स्वभाव, उमेर, शिक्षा, संगत र भेगीय÷क्षेत्रीय इकोलोजिकल धरातलीय यथार्थतालाई नजरअन्दाज गर्नुहँुदैन । अर्कोतर्फ युवाको जोस कडा हुने तर ज्ञान, अनुभव र परिपक्वता कम हुन्छ । यो प्रमाणित तथ्य र सत्य साबित हो । यस्ता गतिविधिहरू वर्तमान सरकारका जिम्मेवार पदमा आसिन केही मन्त्री र सांसदहरूले देखाइसकेका छन् । यसबारे थप चर्चा कुनै समयमा गरौंला । वामपन्थीहरू अस्तित्वको संकटमा जुट्ने र सहजतामा फुट्ने; आफ्नो गल्ती स्वीकार नगर्ने र अरुको नेतृत्वमा रहेर काम गर्ने चलन छैन । पार्टीको आन्तरिक प्रजातान्त्रिक निर्वाचनमा चुनाव लड्ने, हार भएमा अर्को गुट वा पार्टी खोल्ने अर्थात् महासचिव वा पार्टी अध्यक्ष बन्ने चलन छ । अझ निर्वाचन भरसक नगराउने । भइहाले खोइरो गरेर लखेटे्ने । ताकि आफ्नो पदको दाबी कसैले पनि नगरोस् । उत्तराधिकारी हुर्काउने काम नगर्ने, अन्तिम सास फेर्दासम्म पदमा बसिरहने परम्परा छ । यो कम्युनिष्ट शासन प्रणालीको व्यक्तिवादी चरित्र हो ।
वि.सं. २००६ सालपछि नेपालमा कति महासचिव र पार्टी अध्यक्ष बने ? प्रचण्डका गुरुहरू र समकक्षीहरू कहाँ छन् ? डा. बाबुराम भट्टराईहरू कता पलायन हुन पुगे ? हिसाबकिताब गर्न गाह्रो छ । त्यसैले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भनेझंै नेपाली कम्युनिस्ट पार्टीभित्रका पात्र र चरित्रहरूको व्याख्या र विश्लेषण गरी साध्य छैन । यसको सही विश्लेषण र निष्कर्ष भनेकै मुखमा अनेक वाम, खानमा सबै एकै ठाम, तर एकतामा अनेक ठाम भन्दा केही फरक पर्ला र ?
वामपन्थी एकता कहाँ होला ? लक्ष्य– कमाउ, उद्देश्य– सत्तामा जुनसुकै सिद्धान्तविहीन गठबन्धन हैसियतले सत्तामा पुगेर शक्तिको दुरुपयोग गरी आफू र आफन्तहरूलाई नैतिक–अनैतिक माध्यमबाट, बिचौलिया लगाएर, संवैधानिक, गैरसंवैधानिक अंगहरूलाई निकम्मा बनाएर दलीयकरण र गठजोड गर्ने, मिलिभगत्मा तैं चुप, मैं चुप रहेर नेपाल र नेपालीलाई बिर्सेर आफूमात्र सत्तामा टिकिरहने नियतका छन् । वामपन्थीको भ¥याङको माध्यम दलित, महिला, जनजाति, पिछडिएका वर्ग, मधेसी, धर्म–कर्म निरपेक्ष, सस्तो लोकप्रिय नारामा विगत इतिहास रह्यो । सस्तो नारा– ‘वि.सं. १८१६ को सुगौली सन्धि वा इ.सं. १९५० को नेपाल भारत असमान सन्धि वा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद वा महाकाली साझा सीमा–नदी पनि भन्ने, लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो । नेपालको चुच्चे नक्सा पनि कोठामा राख्ने, १२ घण्टा अगाडिसम्म एमसीसी अनुमोदनको कडा विरोध र अन्त्यमा ६ घण्टामा युटर्न गर्ने चरित्र होइन ? आमसभा मञ्चबाट पूरै बलमा पुरुष–महिला समान हौं भन्ने तर घर पुगेपछि पुनः असमान व्यवहार ? तल–माथिको चलखेल भन्ने वामपन्थीहरू नेपाली, वीर गोर्खाली, विश्व प्रसिद्ध पहिचान बोकेका शेर्पाहरू र स्वदेशी–विदेशी नेपाली एनआरएन शुभचिन्तकहरूलाई सबै कुरा थाहा छ ।
त्यसैले, मुसाले बिरालोको घाँटीमा घण्टी बाँध्ने कथा, सोम शर्माको बाबुले पिठो बेचेर धनी बन्ने सपना, विविधताको अनेकतामा लामो नेपाली एकताको इतिहास अगाडि ‘वामपन्थी एकता’ मात्रै होइन राप्रपा–एकता पनि उही मार्क हुन्; असम्भव एकतामा अनेकता खोज्नु हो । विषम वामपन्थी अनेकतामा रगतको नाता कसरी एकतामा परिणत होला ?
(लेखक शर्मा त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुन् ।)