नेभिगेशन
प्रदेश

विवादकाबीच डाक्नेश्वरीको नगरसभा

सप्तरी, ४ असोज - स्थानीय सरकारले असार १ देखि १० गतेसम्म अगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानूनी प्रावधान छ तर कतिपय स्थानीय तहहरूले यसलाई बारम्बार उल्लंघन गर्ने गरेको देखिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका पनि त्यसको एक उदाहरण बनेको छ । 

गत आर्थिक वर्षको असार १० सम्मै गर्नुपर्ने नगरसभा नगरपालिकाले तीन महिनापछि शनिबार मात्र १६औं सभा सुरु गरेको छ । नगरपालिकाको चालु आर्थिक बर्षमा चालुतर्फ ५६ करोड ८० लाख र पुँजीगत ३० करोड ५३ लाख गरि कुल ८७ करोड ३३ लाखको बजेट उपप्रमुख मीरा यादवले प्रस्तुत गरेकी छन् ।

नगरसभामा बिहान ८ बजे तोकिए पनि चोर बाटोबाट बजेट ल्याउन लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र संचालन हुन सकेको थियो । नगरपालिकामा अपारदर्शिता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण दिएपछि मात्र सभा गर्न माग गरेका थिए ।

भ्रष्टाचार मौलाएको र अपारदर्शी ढंगले नगरप्रमुखले बहुमत सदस्यलाई प्रलोभनमा पारेर काम गर्न खोजेको स्थानीय ओमप्रकाश यादवको आरोप छ। नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख रामलखन मलाहले स्थानीय जनभावना विपरीत बन्द कोठामा कुनै सूचना नगरी चोर बाटोबाट बजेट ल्याउन लागेकाले विरोध गरेको स्थानीय पूर्णमान यादवले बताए ।

नगरप्रमुखको कार्यशैलीबाट नेकपा एमालेबाटै निर्वाचित उपप्रमुख मीराकुमारी यादव पनि असन्तुष्ट छिन् । बजेट निर्माणमा उपप्रमुखको भूमिका अनिवार्य रहे पनि नगरप्रमुख मलाहले आफूलाई केही जानकारी नदिई काम गर्ने गरेको उनको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखले मिलोमतोमा जिल्लाको सदरमुकाम राजविराजमा भाडामा कोठा लिएर त्यहीँबाटै काम गर्ने गरेको समेत उनले आरोप लगाएकी छन् ।

नगरप्रमुख मलाहले भने आयव्यय विवरण तयार नरहेकाले अहिले तुरुन्तै दिन नसक्ने बताए । नगरप्रमुखले दशैंमा कर्मचारीहरूले नगरसभा नभए तलब नपाउने भनेपछि नगरसभालाई नरोकिने तर आफूहरूले त्यसलाई नमान्ने तथा जनस्तरमा कार्यान्वयन गर्न नदिने अडान लिँदै स्थानीय गएपछि नगरसभा सुरु भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारमा मुदा दायर गरेपछि उनी निलम्बनमा परेर असारमा अन्त्यसम्म आर्थिक कामकाज भइरहेकोले नगरसभा गर्न विलम्ब भएको नगरप्रमुख मलाहले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्