बीपीवाद नेपाली कांग्रेसको वैचारिक मेरुदण्ड हो । त्यसैले नेपाली कांग्रेसको वैचारिक बहस गर्दा बीपी कोइरालालाई केवल स्मृतिमा सीमित गर्न सकिँदैन । बीपीवाद नेपाली कांग्रेसको ऐतिहासिक विरासत मात्र होइन, राजनीतिक दर्शन हो । यसको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । तर यी तीन शब्दलाई नारा बनाउने र तिनको आधुनिक अर्थ खोज्नेबीच ठूलो अन्तर छ ।
राष्ट्रियता बीपीका लागि भूगोलको संरक्षण मात्र थिएन । राष्ट्रियता जनताको आत्मसम्मान, राष्ट्रिय स्वाधीनता र नेपाली समाजको स्वतन्त्र अस्तित्वसँग जोडिएको थियो । आज राष्ट्रियताको अर्थ नयाँ सन्दर्भमा पुनर्विचार गर्नुपर्छ । आर्थिक निर्भरता, वैदेशिक श्रम, सीमापार प्रभाव, सांस्कृतिक विश्वव्यापीकरण र भूराजनीतिक दबाबबीच नेपालको राष्ट्रिय हित कसरी सुरक्षित गर्ने ? कांग्रेसले राष्ट्रियतालाई भावनात्मक नाराबाट नीति र व्यवहारमा रूपान्तरण गर्न सकेको छ कि छैन ? यही प्रश्न आज महŒवपूर्ण छ ।
लोकतन्त्र बीपीका लागि केवल चुनाव थिएन । लोकतन्त्र विचारको स्वतन्त्रता, संगठनको स्वतन्त्रता, नागरिक अधिकार र सत्ता परिवर्तनको शान्तिपूर्ण प्रक्रिया थियो । त्यसैले नेपाली कांग्रेसभित्र लोकतन्त्रको अभ्यास पार्टीको आन्तरिक संरचनाबाट सुरु हुनुपर्छ । यदि पार्टीभित्र फरक विचारलाई सुन्ने संस्कार छैन, निर्णयमा पारदर्शिता छैन र असहमतिलाई शत्रुताका रूपमा हेरिन्छ भने कांग्रेसले बाहिर लोकतन्त्रको भाषण गरेर मात्र आफ्नो वैचारिक दायित्व पूरा गर्न सक्दैन ।
बीपीको समाजवाद वा लोकतान्त्रिक समाजवाद राज्यको सर्वाधिकारवाद होइन । यो राजनीतिक स्वतन्त्रता र आर्थिक न्यायको संयोजन हो । लोकतान्त्रिक समाजवादले निजी स्वतन्त्रतालाई अस्वीकार गर्दैन, तर आर्थिक असमानतालाई पनि स्वीकार गर्दैन । यसले बजारलाई पूर्ण रूपमा निषेध गर्दैन, तर बजारको नाममा शोषणलाई वैधता पनि दिँदैन । आजको नेपालमा लोकतान्त्रिक समाजवादको अर्थ के हो ? बेरोजगारी, युवा पलायन, शिक्षा र स्वास्थ्यको व्यापारीकरण, किसानको संकट, भूमि समस्या, डिजिटल अर्थतन्त्र र बढ्दो असमानताको सन्दर्भमा कांग्रेसले लोकतान्त्रिक समाजवादको आधुनिक व्याख्या गर्नुपर्छ । यदि कांग्रेसले बीपीवादलाई केवल स्मारक, जयन्ती र भाषणमा सीमित राख्यो भने त्यसले नयाँ पुस्तालाई आकर्षित गर्न सक्दैन ।
संस्थापन पक्षले सामाजिक लोकतन्त्र र इतर पक्षले लोकतान्त्रिक समाजवादको कुरा गर्दा कतिपयले यसलाई दुई विपरीत विचारका रूपमा प्रस्तुत गर्न सक्छन् । तर वास्तवमा यी दुईबीच समानता र अन्तर दुवै छन् । लोकतान्त्रिक समाजवादले आर्थिक समानता, सामाजिक न्याय र लोकतान्त्रिक स्वतन्त्रतालाई जोड दिन्छ । सामाजिक लोकतन्त्रले पनि सामाजिक सुरक्षा, राज्यको उत्तरदायित्व, कल्याणकारी नीति र लोकतान्त्रिक संस्थालाई महत्व दिन्छ । दुवै विचारधाराले निरंकुशता र अनियन्त्रित बजारवादप्रति आलोचनात्मक दृष्टिकोण राख्न सक्छन् । त्यसैले नेपाली कांग्रेसभित्रको वास्तविक बहस “सामाजिक लोकतन्त्र ठीक कि लोकतान्त्रिक समाजवाद ठीक ?” भन्ने शब्दको विवाद मात्र हुनु हुँदैन । यी विषयहरुमा वास्तविक बहस हुनुपर्छ ।
बीपीवादमा नेपालको ऐतिहासिक वास्तविकता हिन्दू, बौद्ध, किराँत, प्रकृति पूजक तथा अन्य धार्मिक परम्पराको सहअस्तित्वबाट बनेको छ भन्ने मान्यता राखेको थियो । नेपालको राष्ट्रिय पहिचानमा यी परम्पराको गहिरो प्रभाव छ । यस इतिहासलाई अस्वीकार गर्नु पनि यथार्थबाट भाग्नु हो । तर राज्यले कुनै एक आस्थालाई नागरिक अधिकारको आधार बनाउनु भने आधुनिक लोकतन्त्रसँग मेल खाँदैन । कांग्रेसले यस प्रश्नमा स्पष्ट रूपमा भन्न सक्नुपर्छ राज्य सबै नागरिकको आस्थाप्रति समान रूपमा जिम्मेवार हुनेछ, नेपालको ऐतिहासिक सनातन र मौलिक सांस्कृतिक परम्पराको संरक्षण हुनेछ; तर कुनै पनि नागरिकको धार्मिक स्वतन्त्रतामाथि राज्य वा बहुमतको नाममा हस्तक्षेप हुनेछैन ।
अब कुरो रह्यो महाधिवेशन समयमै गर्ने कि विवाद समाधानपछि ? नेपाली कांग्रेसको तत्कालीन राजनीतिक संकटको केन्द्रमा यही प्रश्न छ । संस्थापन पक्ष भन्छ अधिवेशनमा सहभागी भएर असोजमा महाधिवेशन सम्पन्न गरौँ । इतर पक्ष भन्छ कानुनी वा राजनीतिक रूपमा विवाद समाधान नभएसम्म महाधिवेशन गर्दा विवाद समाधान हुँदैन, त्यसैले रोकौँ । मध्यमार्गी धार भन्छ विवादको जड सफा नगरी महाधिवेशन गर्दा केन्द्रको विभाजन वडा वडासम्म पुग्छ । त्यसैले तीनै पक्षका तर्कमा केही न केही सत्यता छ ।
महाधिवेशन अनिश्चितकालसम्म रोक्न सकिँदैन । त्यसो गर्दा पार्टीको लोकतान्त्रिक जीवन कमजोर हुन्छ । तर विवादलाई बेवास्ता गरेर जबर्जस्ती महाधिवेशन गर्नु पनि समाधान होइन । त्यसैले निकासको बाटो “महाधिवेशन गर्ने कि नगर्ने” भन्ने द्वन्द्वभन्दा “महाधिवेशनलाई सबैले स्वीकार्ने कसरी बनाउने ?” भन्ने प्रश्नमा खोज्नुपर्छ । यसका लागि तीन चरण आवश्यक छन् ।
पहिलो, विवादको तथ्यगत पहिचान गरेर भावनात्मक आरोप प्रत्यारोपभन्दा पहिले विवादका बुँदा स्पष्ट गर्नुपर्छ । कुन निर्णय कानुनी रूपमा विवादित छ ? कुन विषय राजनीतिक रूपमा असहमतिको कारण बनेको छ ? कुन विषय प्रक्रियागत त्रुटिसँग जोडिएको छ ? दोस्रो, सर्वस्वीकार्य समाधान संयन्त्र बनाउने । यसका लागि पार्टीभित्र वरिष्ठ र निष्पक्ष व्यक्तिहरू, कानुनी विशेषज्ञ र सबै धारका प्रतिनिधि सम्मिलित विश्वसनीय संयन्त्र बनाउन सकिन्छ । यसको उद्देश्य कसैलाई जिताउनु होइन, महाधिवेशनको आधारलाई विश्वसनीय बनाउनु हुनुपर्छ । तेस्रो, महाधिवेशनलाई विचारको प्रतिस्पर्धा बनाउने ।
संगठनात्मक एकताको आधार तय हुनुपर्छ नकि भागबण्डा, संवाद आज कांग्रेसको सबैभन्दा ठूलो चुनौती संगठनात्मक एकता हो । तर एकताको अर्थ सबैले एउटै कुरा बोल्नु होइन । लोकतान्त्रिक पार्टीमा एकता भनेको फरक विचार राख्ने अधिकार स्वीकार गर्नु हो । वास्तविक संगठनात्मक एकताका लागि चार आधार आवश्यक छन् । पहिलो, विचार सुन्ने संस्कार । असहमति राख्ने व्यक्ति शत्रु होइन । फरक विचार पार्टीको आन्तरिक लोकतन्त्रको हिस्सा हो । दोस्रो, निष्पक्ष प्रक्रिया । जसलाई प्रक्रियामाथि विश्वास छैन, उसलाई परिणाम स्वीकार गर्न बाध्य बनाउन सकिँदैन । तेस्रो, साझा न्यूनतम राजनीतिक कार्यक्रम । राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, आर्थिक विकास र संवैधानिक मूल्यका विषयमा साझा धारणा आवश्यक छ । चौथो, पराजय स्वीकार गर्ने संस्कार । महाधिवेशनमा हार्नु भनेको पार्टीबाट निष्कासन हुनु होइन । यही आधारमा मात्र गुटलाई लोकतान्त्रिक धारमा रूपान्तरण गर्न सकिन्छ ।
अब कांग्रेसले के गर्नुपर्छ ? नेपाली कांग्रेसले आज केवल महाधिवेशनको मिति तय गरेर आफ्नो समस्या समाधान गर्न सक्दैन । उसले पार्टी पुनर्निर्माणको व्यापक प्रक्रिया सुरु गर्नुपर्छ । खुला वैचारिक बहस आयोजना गर्नुपर्छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सामाजिक लोकतन्त्र, धर्म, संघीयता, अर्थनीति र सामाजिक न्यायजस्ता विषयमा पार्टीभित्र खुला बहस हुनुपर्छ। नेताहरूले बन्द कोठामा होइन, पार्टी पंक्तिको सामु आफ्ना विचार प्रस्तुत गर्नुपर्छ ।
बीपीवादको आधुनिक पुनव्र्याख्या गर्नुपर्छ । बीपीको नाम जपेर मात्र पुग्दैन । आजको पुस्ताको भाषा र समस्यासँग जोडेर लोकतान्त्रिक समाजवादको नयाँ कार्यनीति बनाउनुपर्छ । महाधिवेशनपूर्व विवाद समाधान गर्नुपर्छ । कानुनी विवादलाई कानुनी र राजनीतिक विवादलाई राजनीतिक संवादबाट समाधान गर्नुपर्छ । एउटालाई अर्कोको बहानामा प्रयोग गर्नु हुँदैन । महाधिवेशनलाई गुटीय युद्ध होइन, विचारको प्रतिस्पर्धा बनाउनुपर्छ । यदि महाधिवेशन फेरि पनि केवल नेतृत्वको अंकगणितमा सीमित भयो भने कांग्रेसको वैचारिक संकट अझ गहिरिनेछ ।
कांग्रेसले बुझ्नुपर्ने कुरा के हो भने महाधिवेशन संगठनात्मक प्रक्रियाको अन्त्य होइन, राजनीतिक प्रक्रियाको एउटा चरण मात्र हो । विवादको मूल कारण बाँकी राखेर गरिएको महाधिवेशनले नयाँ नेतृत्व त दिन सक्छ, नयाँ एकता दिन सक्दैन । त्यसैगरी महाधिवेशन अनिश्चितकालसम्म रोकेर पनि पार्टीको लोकतान्त्रिक संकट समाधान हुँदैन । सही बाटो भनेको विवादको जड पहिचान गर्ने, कानुनी र राजनीतिक प्रश्नलाई अलग अलग समाधान गर्ने, निष्पक्ष प्रक्रियामाथि विश्वास निर्माण गर्ने र त्यसपछि विचारको खुला प्रतिस्पर्धासहित महाधिवेशनमा जाने हो ।
बीपी कोइरालाले कांग्रेसलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार दिएका थिए । आजको पुस्ताको दायित्व त्यसलाई जस्ताको तस्तै मन्त्रझैँ दोहो¥याउनु मात्र होइन, बदलिँदो समयअनुसार त्यसको जीवन्त अर्थ खोज्नु हो । राष्ट्रियता आधुनिक चुनौतीसँग जोडिनुपर्छ, लोकतन्त्र पार्टीभित्रबाट सुरु हुनुपर्छ र समाजवाद आर्थिक तथा सामाजिक न्यायको व्यावहारिक कार्यक्रम बन्नुपर्छ । नेपाली कांग्रेसले यदि विचारभन्दा गुट, प्रक्रियाभन्दा शक्ति र संगठनभन्दा नेतृत्वको व्यक्तिगत प्रतिस्पर्धालाई ठूलो ठानिरह्यो भने विभाजन केन्द्रबाट वडा वडासम्म फैलिनेछ । तर यदि फरक विचारलाई पार्टीको शक्ति मान्दै खुला बहस, निष्पक्ष प्रक्रिया र साझा राजनीतिक लक्ष्य निर्माण गर्न सक्यो भने यही संकट कांग्रेसको पुनर्निर्माणको ऐतिहासिक अवसर बन्न सक्छ ।
(लेखक चालिसे स्वतन्त्र पत्रकार हुन् ।)