नेभिगेशन
दृष्टिकोण

विश्वकर्मा पूजाको महत्व

हरेक वर्ष आश्विन १ गतेका दिन विश्वकर्मा भगवान््को पूजा गरिन्छ । देशैभरिका सानादेखि लिए ठूलठूला कलकारखानामा पनि विश्वकर्माको पूजा गरिन्छ । यस दिन काम गर्ने सामानहरू विश्वकर्मा भगवान््को मूर्ति वा फोटोको अगाडि राखेर पूजा गरिन्छ । सिकर्मी, डकर्मी, फलाम र विभिन्न किसिमका धातुका सामान बनाउने कालीगढहरू, घरको नक्सा बनाउने ओभरसियर, इन्जिनियर र ठेकेदारहरूले पनि विश्वकर्मा भगवान््को पूजा गर्छन् । 
उपत्यकाका आदिवासी नेवारहरूमध्ये कुमालेहरूले पनि विश्वकर्मालाई पूजा गर्छन् । उनीहरूले विश्वकर्मालाई कुलदेवताका रूपमा मान्दै आएका छन् । हिन्दु धर्म अनुसार सृष्टिकर्ता र शिल्प रचना गर्नेलाई प्रजापति भनिन्छ । ब्रह्माको अर्को नाम प्रजापति हो । त्यसैले आपूmलाई ब्रह्माका सन्तान हौं भनी प्रजापति कुमालेहरूले भन्ने गर्छन् । 
काठमाडांैको माथिल्लो टोल ज्याठाका कुमालेहरूले गणेशलाई विश्वकर्मा भगवान््को रूपमा पूजा गर्दै आइरहेका छन् । उनीहरूले ज्याठामै रहेको गणेशलाई नै ब्रह्म गणेश र विश्वकर्मा भगवान्का रूपमा पूजा गर्छन् । काठमाडांैको तल्लो टोलका कुमालेहरूले भने कुल देवताका रूपमा धुम्बाराहीको पूजा गर्छन् । भक्तपुरमा अझ विशेष गरी ठिमीमा भेटिएको लिच्छविकालीन विकुम्हा देवताको शिलालेखअनुसार पनि प्रजापति कुमाले जातिले विश्वकर्मा भगवान््लाई विकुम्हाका रूपमा मानिरहेका छन् । 
विश्वकर्माका बारेमा धार्मिक, ऐतिहासिक कथाहरू छन् । एकपटक सबै ऋषिहरू मिलेर धर्मक्षेत्र कुरुक्षेत्रमा एउटा ठूलो गोष्ठी गरेका रहेछन् । उक्त गोष्ठीमा प्रमुख अथिति धर्मज्ञ सूतजीसँग ऋषिहरूले विष्णु भगवान््का अनेक रूपको वर्णन सुनेका छौं तर तीमध्ये सबैभन्दा श्रेष्ठ कुन हो भनी सोध्दा सूतजीले भन्नुभयो, यो अत्यन्तै रहस्यमय प्रश्न हो । एकपटक यस्तै प्रश्न लक्ष्मीले विष्णु भगवान््सँग सोध्नुभएको थियो । त्यही कुरा मैले यहाँ बताउने प्रयास गर्नेछु ।
लक्ष्मीको प्रश्नको जवाफ दिनुहुँदै विष्णु भगवान्ले भन्नुभयो, ‘यो विश्व ब्रह्माण्डको सृष्टि गर्नेक्रममा मैले सूर्य समान तेज भएका विश्वकर्माको रूप धारण गरें । त्यसपछि ब्रह्माको सृष्टि गरें । अनि ऋगवेद, यजुर्वेद, सामवेद सृष्टि गरें । त्यस्तै शिला विद्याका लागि अथर्ववेद पनि सृष्टि गरें । यिनै वेदबाट ज्ञान लिएर शिल्पकारहरूले विभिन्न किसिमका सामानहरू बनाउने गर्दछन् । मेरो जति पनि रूप छन् तीमध्ये मुख्य रूप भन्नु नै विश्वकर्माको रूप हो । यही विश्वकर्माको रूपबाट नै मैले विश्व ब्रह्माण्डको सृष्टि गर्न सकेको हुँ । जसले यो अद्भूत रूपको एकैछिन भए पनि ध्यान गर्छ उसको सबै विघ्न नाश हुनेछ ।’
    सूतजीले बताउनुभएको यो कथा सुनिरहेका ऋषिहरूले यस्तो अद्भूत रहस्य तपाईंले कसरी थाहा पाउनुभयो अनि यो देवताको पूजा कसरी शुरु भयो, संसारमा कसरी प्रचारप्रसार भयो भन्ने प्रश्न राखे । अनि सूतजीले भन्नुभयो, महर्षि अङ्गिराले हिमालय पर्वतको फेदमा गंगा नदीको किनारमा बसी तपस्या गरे पनि, गर्मीमा चर्को घाममा बसी तपस्या गरे पनि, जाडोमा नदीको चिसो पानीमा डुबेर तपस्या गरे पनि केही फल नपाई मन अशान्त भई मृग जस्तै यताउता दौडिरहे । त्यही समयमा आकाशवाणी हुन्छ– ‘तिमी बेकारमा यताउता दौडिरहेका छौ । सृष्टि र संहार गर्ने, जे माग्यो त्यही फल दिने, सरस्वती र लक्ष्मीले पनि पूजा गर्ने, दश हात र मुख भएका विश्वकर्मा भगवान्लाई औंशीका दिन पूजा गर्नु वा ध्यान गर्नु ।’
    यो आकाशवाणी सुनेपछि अङ्गिरा मुनि ध्यानमा बस्छन् । विश्वकर्माको एकचित्तले ध्यान गरिरहँदा अङ्गिरा मुनिको चित्तमा शिल्प शास्त्रको भण्डार अर्थसहित अथर्ववेदको ज्ञान पाई धन्य हुन्छन् । अनि अङ्गिरा मुनिले आफ्नो बुद्धिको प्रयोग गरेर विमानको आविष्कार गर्छन् । अन्य जति पनि यो संसारमा प्रयोग गर्नुपर्ने सामानहरू सबै बनाउँछन् । उही समयदेखि विश्वकर्मा भगवान्को नाम संसारमा प्रख्यात भएको हो ।
सूतजीले अर्को एउटा कथा पनि सुनाउनु भयो । पहिला प्रमाङ्गद नामक एक राजा थिए । उनले आफ्ना प्रजालाई छोरा समान लालनपालन गर्ने गर्दथे । तर ती राजालाई कुष्ठरोग भएर अति नै दुःख पाए । राजा अत्यन्तै दुःखी भइरहेको देखेर रानीले भनिछिन्– ‘हाम्रा पुरेत उपमन्युुले आँखाको रोग भएर अन्धो भइरहेको बेलामा उनले विश्वकर्माको व्रत  गरे । त्यसैको प्रभावले उनलाई दिव्य दृष्टि प्राप्त भयो । तपाईं पनि विश्वकर्मा भगवान्को शरणमा जानुहोस् ।’ राजालाई यो कुरा उचित लाग्यो । अनि प्रत्येक औंशीमा विश्वकर्माको व्रत बस्न थाले । यसको प्रभावले राजाको कुष्ठरोग निको हुँदै गयो । त्यसैले जसले विश्वकर्माको दिनदिनै ध्यान गर्छ, उसको सबै रोग मुक्त हुन्छ भन्ने मान्यता छ । 
त्यस्तै सूतजीको अर्को कथाअनुसार वनारसको एउटा गाउँमा देवताको रथ बनाउने कार्यमा निपूर्ण एकजना कालिगढका सन्तान नहुँदा एक ब्राह्मणको सल्लाहले विश्वकर्मा भगवान्को पूजा गरी व्रत बसेर छोरानाती समेत प्राप्त गरे । 
सूतजीले अर्को एउटा कथा पनि बताउनुभएको छ । उज्जैन शहरमा एकजना प्रख्यात धर्मात्मा महाजन धनधान्यले परिपूर्ण रहेछन् । तर समयक्रममा उनको धनसम्पत्ति सकिएर निराश हुँदै जंगलमा गएर कन्दमूल, फलफूल जे भेटिन्छ त्यही खाएर जीवन चलाइरहे । एकदिन जंगलमा ती महाजनले तपस्या गरिरहेका लोमश ऋषिलाई भेटे जो तपस्या गरिरहेका थिए, उनैको सल्लाह बमोजिम विश्वकर्मा भगवान्को पूजा गरेर व्रत बसेपछि उनको दुःख नाश भयो अनि सुखपूर्वक जीवन बिताए ।
भगवान् यमले पनि लंकामा जान सेतु बन्धन नामक पुल बनाउनुअघि विश्वकर्माको पूजा गर्नुभएको थियो । यस्तो अत्यन्तै महŒवले भरिएको विश्वकर्मा भगवान्को हरेक वर्ष आश्विन संक्रान्तिका दिन नेपाल र भारतमा पर्वका रूपमा पूजा गर्ने र व्रत बस्ने चलन चलेको हो ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्