काठमाडौं । कांग्रेस सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवासहितका असन्तुष्ट नेताहरुलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिँदै यस्तो आग्रह गरेका हुन् ।
पार्टीभित्रको विवाद समाधानको बाटो महाधिवेशन नै भएको पनि थापाले बताए । ‘मेरो आदरणीय नेता, पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु । कतिपय साथीहरूले भन्नुभएको छ देउवाज्यूले आएर उद्घाटन गरिदिने विषय हाम्रा लागि सम्मानको हुन्छ,’ थापाले भने । खिचातानी छाडेर पार्टीलाई एकढिक्का भइ अघि बढाउन देउवाले अभिभावकीय भूमिकामा आउनुपर्ने आशय उनको थियो ।
विशेष महाधिवेशनपछि दुई धारमा बाँडिएको कांग्रेसमा बिहीबारको बैठकमा भने देउवालाई साथ दिइरहेका नेताहरु पनि सहभागी भए । १४औं महाधिवेशनपछिको केन्द्रीय समितिमा रहेका नेताहरुसहित पहिलोपटक बैठक बसेको हो । उक्त बैठकपछि महामन्त्री गुरुराज घिमिरेले भने,‘१५औं महाधिवेशनको संघारमा उहाँहरू समायोजित हुनुभएको छ । यसले पार्टीलाई ताकत मिलेको छ । पार्टीका साथीहरूमा उत्साह बढेको छ । हामीलाई पनि असाध्यै खुशी लागेको छ ।’
बैठकमा देउवा पक्षमा रहँदै आएका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने, नैनसिंह महर, ज्ञानेन्द्रबहादुर कार्की, गोविन्द भट्टराई, किरण यादवसहितका नेता सहभागी भए । उनीहरुले महाधिवेशनको प्रक्रियामा सहभागी हुने र भूमिका नपाए पुनः देउवापक्षको महाधिवेशनमा सहभागी हुने हुन् की भन्ने आशंका पनि व्यक्त गरेका छन् । तर, हालै सानेपा पुगेका नेता विश्वकर्माले त्यस्तो सम्भावना नरहेको दाबी गर्दै असोज ३ बाट शुरु हुने महाधिवेशनमा ९० प्रतिशत नेता कार्यकर्ता सहभागी हुने बताए । ‘हामी ३१ जनाबाट सुरू गरेको ५१ जना पुग्नुभयो, अधिवेशनमा ९० प्रतिशत साथीहरू सहभागी हुनुहुन्छ,’ उनले आफूहरुमाथिको आशंका मेट्दै भने ।
देउवा अहिले सर्वोच्च नेता रहेको पनि उनले बताए । ‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौं,’ उनले भने, ‘देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।’
‘महाधिवेशन रोकेर सहमति खोजौं’
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले महाधिवेशन अघि नै सबै पक्षबीच सहमति कायम गर्न दबाब दिएका छन् । थापाले निर्धारित मितिमै महाधिवेशन हुने स्पष्ट पार्दै पूर्वसभापति देउवासहित सबैलाई सहभागी हुन अपिल गरेका बेला खड्काले भने महाधिवेशनको कार्यतालिका नै स्थगित गरेर संवाद र एकताको वातावरण बनाउन प्रस्ताव गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा थापाले कांग्रेस एकताबद्ध भएर १५औँ महाधिवेशनमा जानुपर्ने बताइरहँदा खड्काले यस्तो आग्रह गरेका हुन् । ‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको १५औँ अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस्,’ खड्काले भनेका छन्, ‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ ।’ खड्काले दुई अलग–अलग महाधिवेशनको अवस्था रोक्न नसके कांग्रेस विभाजनको जोखिम बढ्ने चेतावनीसमेत दिएका छन् ।
थापाले खड्का र शेखर कोइराला सहितका नेताहरुले अघि सारेका अधिकांश माग पार्टीले सम्बोधन गरिसकेकाले महाधिवेशनमा आउन आग्रह गरेका छन् । बाँकी विषयमा पनि छलफल गरेर समाधान खोज्न सकिने उनको संकेत छ । तर, उनले महाधिवेशनको निर्धारित कार्यतालिका भने परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् । ‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन । पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ सभापति थापाले भने ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ । त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
‘कांग्रेस विभाजनबाट रोमाञ्चित हुन सक्दिनँ’
नेता डा. शेखर कोइरालाले पनि कांग्रेसभित्रको विवादको समाधान महाधिवेशनबाट पक्ष–विपक्ष छुट्याएर नभई सबैलाई समेटेर खोज्नुपर्ने धारणा राखेका छन् । बिहीबार कोइरालाले विज्ञप्ति जारी गर्दैे आफू कांग्रेस विभाजनबाट ‘रोमाञ्चित हुनै नसक्ने’ बताएका छन् । उनले पार्टीभित्र आफ्नै साथीहरूमाथि असुरक्षा, अपमान र घृणा पैदा हुने अवस्था निर्माण गरेर कांग्रेसको भविष्य सुरक्षित गर्न नसकिने उल्लेख गरेका छन् ।
‘म को ठिक, को बेठिक भनेर वकालत कसरी गर्न सक्छु,’ कोइरालाले भनेका छन्, ‘कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ ।’ उनले दुईवटा महाधिवेशनको अवस्था अन्त्य गर्न मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्ने बताएका छन् । पार्टीभित्र कोही हार्ने र कोही जित्ने अवस्थालाई कांग्रेसको विजयका रूपमा उत्सव मनाउने राजनीतिक संस्कार आफूले नबुझेको उनको भनाइ छ ।
विशेष महाधिवेशन हुँदा देउवा र थापा कसैको पनि पक्षमा उभिन नसकेका कोइराला अन्तिममा देउवाकहाँ पुगेर अधिवेशन रोक्न आग्रह गरेका थिए । अहिले पार्टी संस्थापन र इतरपक्षले आआफ्नो तयारी गरिराख्दा कोइराला फेरि दुवै कित्ताबाट बाहिर देखिएका छन् ।
कांग्रेसमा अहिले सभापति थापा पक्षले असोज १६–१९ काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ । अर्कोतर्फ देउवा पक्षले मंसिर २१–२३ छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ । थापा निर्धारित महाधिवेशनलाई निरन्तरता दिँदै त्यही प्रक्रियामा सबै पक्षलाई सहभागी गराउने पक्षमा छन् भने खड्का र शेखर महाधिवेशनअघि नै संवाद, सहमति र एकताको वातावरण बनाउनुपर्ने पक्षमा उभिएका छन् ।