नेभिगेशन
प्रदेश

पोलमा तारको चाङ, व्यवस्थापनमा कसको ध्यान ?

रौतहट । संघीय राजधानीका सडकपेटीका पोलबाट तारका गुजुल्टा हटाउन थालिएको वर्षदिन भइसक्यो । तर, उपत्यकाबाहिरका सहरमा भने अव्यवस्थित तारको समस्या उस्तै छ । रौतहटका बजारदेखि ग्रामीण क्षेत्रसम्म विद्युत् पोलमा तारका गुजुल्टा झुन्डिएका छन् ।
टेलिफोन र बिजुलीका तार तानिएका पोलमा इन्टरनेट, केबल टेलिभिजन तथा सञ्चार सेवाका तार थपिएका छन् । प्रयोगमा नरहेका, बिग्रिएका र पुराना तार नहटाइ नयाँ–नयाँ थपिएका छन् । चन्द्रनिगाहपुर, गरुडा, गौर र कटहरियालगायत प्रमुख व्यापारिक केन्द्रमा तारको अव्यवस्थित जालो देखिन्छ । कतिपय तार सडक तथा पैदलमार्गतर्फ लत्रिएका छन् । यसले आवागमनमा अवरोध र दुर्घटनाको जोखिम बढाएको छ ।
नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका सूचना अधिकारी धीरजविक्रम चौधरीले अव्यवस्थित तारले मर्मतसम्भारमा कठिनाइ भएको बताए । ‘एउटै पोलमा अत्यधिक तार हुँदा प्राविधिक काम गर्न कठिन हुन्छ,’ उनले भने, ‘पोलमा अनावश्यक भारसमेत थपिएको छ ।’
तारको गुजुल्टोले सहरी सौन्दर्यमा पनि असर पारेको छ । कतिपय पोलमा तारबीच चराले गुँड बनाएका छन् । अव्यवस्थित तारबाट आगलागीको जोखिमसमेत रहेको स्थानीय बताउँछन् ।
जिल्ला ट्राफिक रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले सडक सुरक्षाका दृष्टिले तार व्यवस्थापन आवश्यक रहेको बताए । ‘रातको समयमा सडकतर्फ झुन्डिएका तार नदेखिँदा दुर्घटनाको जोखिम रहन्छ,’ उनले भने, ‘सम्बन्धित निकायले सडक सुरक्षालाई ध्यान दिनुपर्छ ।’
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए । ‘स्थानीय तह, विद्युत् प्राधिकरण र सेवा प्रदायकबीच सहकार्य हुनुपर्छ,’ उनले भने ।
स्थानीय सुमन गौतमले अनावश्यक तार हटाउन अभियान चलाउनुपर्ने बताए । ‘वर्षौंदेखि तार थपिएका छन्, पुराना तार हटाइएका छैनन्,’ उनले भने, ‘कुन कम्पनीका तार हुन् भन्ने पहिचान गरेर हटाउनुपर्छ ।’
स्थानीयवासीले तारको विवरण संकलन गरी स्पष्ट मापदण्ड बनाउन माग गरेका छन् । सेवा विस्तारसँगै तारको संख्या बढ्ने भएकाले व्यवस्थित नीति आवश्यक देखिएको छ । मुख्य बजारमा सम्भव भएसम्म भूमिगत केबल प्रणाली विस्तार गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्