काठमाडौं, ४ असोज - चालू आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिनामा उद्योग विभागले दुई सय ३६ वटा उद्योग स्थापनाका लागि ३३ अर्ब नौ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउन र भदौ महिनामा दुई सय २५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूला परियोजनामा लगानी स्वीकृत गरेको हो ।
विभागले भदौ महिनामा मात्रै एक सय नौवटा उद्योगमा आठ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । जुन साउन महिनाको तुलनामा निकै कम हो । साउनमा एक सय २७ उद्योगका लागि २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो ।
भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनले निजी र सरकारी दुवै क्षेत्रमा ठूलो क्षति पुगेको छ । यसका कारण वैदेशिक लगानीमा नकरात्मक प्रभाव पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् । विभागले भदौ महिनामै वैदेशिक लगानी प्रतिबद्धता घटेको तथ्यांक सार्वजनिक गरेपछि, आन्दोलनले लगानीमा असर पारेको प्रष्ट भएको छ ।
भदौ मसान्तसम्म कृषिमूलक उद्योग र परियोजना संख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकाले स्वीकृत गरेको विभागले जनाएको छ ।
त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा एक अर्ब २४ करोड रुपैयाँ, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा १८ करोड २५ लाख ५० हजार रुपैयाँ र सेवामूलक उद्योगका १५ परियोजनामा दुई अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा छ अर्ब ६९ करोड २० लाख ५० हजार रुपैयाँ सूचना प्रविधिमूलक उद्योगका एक सय २० परियोजनामा ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
विभागका अनुसार कुल लगानीमध्ये कृषि क्षेत्रमा ६५ प्रतिशत, पर्यटनमा २० प्रतिशत, सेवा क्षेत्रमा आठ प्रतिशत, उत्पादनमा चार प्रतिशत, सूचना प्रविधिमा २ प्रतिशत र उर्जामा एक प्रतिशत लगानी प्रतिवद्धता आएको छ ।
विभागले लगानी स्वीकृत गरेका आयोजनामा लगानीकर्ताले कुल ३३ हजार आठ सय १४ जनाले रोजगारी प्राप्त गर्ने प्रतिवदता जनाएको छ । भदौ महिनामा प्राप्त लगानीबाट २५ हजार एक सय ६७ जनाले रोजगारी पाउने प्रतिवद्धता प्राप्त भएको विभागले जनाएको छ ।
विभागले स्वीकृत गरेअनुसार वैदेशिक लगानी भित्रिएको भने पाइदैन । हरेक वर्ष अर्बौंको लगानी प्रतिवद्धता आए पनि पछि लगानी नआउने प्रवृति बढी देखिन्छ । तथ्यांकअनुसार पछिल्लो दुई महिनामा मात्रै चार सय नौ जना लगानीकर्ता र ६० जना लगानीकर्ताका प्रतिनिधि र तीनका एक सय सात जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ ।
यी लगानीकर्ताहरू लगानी स्वीकृति लिनका लागि नेपाल आएका हुन् । उद्योग विभागले हालसम्म कुल सात हजार चार सय ७५ वटा परियोजनाका लागि छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ ।