नेभिगेशन
नेपाल

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि नौ अर्ब ८० करोड निकासा

काठमाडौं, ४ असोज - सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सहुलियतपूर्ण कर्जाको ब्याजबापतको अनुदान भुक्तानी गर्न रकम निकासा गरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासको सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि पहिलो त्रैमासमा निकासा गर्ने अर्थमन्त्री स्तरीय निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालू आर्थिक वर्ष २०८२-८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जाको ब्याज प्रयोजनका लागि आवश्यक रकम निकासा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘दोस्रो त्रैमासिक अवधिमा विनियोजित रकम संशोधन गरी पहिलो त्रैमासिक कायम गरी विगतका ७ वटा त्रैमासमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई सोध भर्ना उपलब्ध गराउन अर्थमन्त्री स्तरीय निर्णय भएको छ ।’

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान रकम सरकारबाट पाउन सकेको थिएन । यो रकम निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अनुमान गरिएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा २५ लाख रुपैयाँसम्म उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

त्यसैगरी, वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजनाका लागि २० लाख रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जाका रूपमा पाँच लाख रुपैयाँ बराबर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने यस्तो सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्