नेभिगेशन
प्रदेश

धरान उपमहानगरले बल्ल ल्यायो बजेट

सुनसरी (संवाददाता) - जनप्रतिनिधिबीचको विवादका कारण समयमा बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाले तीन महिना ढिलो गरेर बजेट ल्याएको छ । शनिबार बसेको १७औं नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०८२-८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

यसअघि भदौ २६मा नगरसभा गर्ने निर्णय भए पनि जेनजी आन्दोलनका कारण रोकिएको थियो । कानूनअनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट ल्याउनुपर्ने व्यवस्था छ । तर जनप्रतिनिधिहरूबीच विवाद भएपछि बजेट ल्याउन सकेको थिएन । 

बजेट नै नआएपछि धरानमा कर्मचारीहरूले साउन र भदौ महिनाको तलब पनि पाएका छैनन् । यस्तै स्थानीय तहबाट हुने आयोजनाहरू ठप्प भएका थिए । धरान उपमहानगरपालिकामा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोडको सिलिङ कार्यपालिकामा पेस गरेपछि केही जनप्रतिनिधिले असहमति जनाएका थिए ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार रुपैयाँ, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार रुपैयाँ, सडक बोर्डबाट दुई करोड रुपैयाँ र गत वर्षको मौज्दातबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

सहरी योजना तथा भौतिक पूर्वाधार विकासततर्फ ६६ करोड ९४ लाख, रुपैयाँ शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख रुपैयाँ, स्वास्थ्यतर्फ छ करोड ९९ लाख ९५ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चार करोड ८६ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

साथै आर्थिक विकासतर्फ एक करोड २ ९ लाख रुपैयाँ, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ७४ लाख ५० हजार रुपैयाँ, कानून तथा न्याय सम्पादनतर्फ २० लाख रुपैयाँ, सार्वजानिक जग्गा संरक्षणतर्फ १५ लाख रुपैयाँ, राजस्व परिचालनतर्फ ४३ लाख रुपैयाँ र नगर भिजन कार्यक्रमतर्फ पाँच करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि धरानका २० वटा वडाका लागि २१ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार रुपैयाँ, ससर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार रुपैयाँ, समपूरक बजेटबाट एक करोड ८२ लाख रुपैयाँ र विशेष अनुदानबाट पाँच करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्