नेभिगेशन
खेलकुद

एसियाली खेलकुद सुरु, नेपालका १३५ खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । जापानमा २०औं एसियाली खेलकुद प्रतियोगिता शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ । आइची प्रिफेक्चर र नागोया सहरमा १५ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २१ खेलमा १३५ खेलाडीसहित सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
यसपटक नेपालको खेलाडी सहभागिता अघिल्लो संस्करणको तुलनामा झन्डै आधा घटेको छ । बरु विगतजस्तै खेलाडीका तुलनामा व्यवस्थापक बनेर जानेहरुको संख्या धेरै छ । सन् २०२३ मा चीनको हाङ्झाउमा आयोजित एसियाली खेलकुदमा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए । 
यसपटक छनोट प्रक्रियाका कारण खेलाडी संख्या घटेको परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बताएका छन् । नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक र मेडिकल प्रतिनिधिसहित टोलीमा २११ जना छन् । नेपालले यसपटक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ ।
प्रतियोगितामा ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोली सहभागी छन् । कुल ४३ खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन समारोहको मार्चपासमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोके । थापामगरले गत वर्ष दुबईमा विश्व बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक जितेका थिए । विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले हाङ्झाउमा काँस्य जितेको थियो ।
नेपालले यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी उतार्दैछ । क्रिकेटमा १५, भलिबलमा १२ र उसुमा १० खेलाडी सहभागी छन् । करातेमा आठ तथा बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा ६–६ खेलाडी छन् । पौडी र टेनिसमा पाँच–पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार–चार खेलाडी छन् । तेक्वान्दोमा तीन खेलाडी सहभागी छन् ।
आर्चरी, साइक्लिङ, ¥याफ्टिङ तथा क्यानोइङ, स्केटबोर्डिङ र स्क्वासमा दुई–दुई खेलाडी छन् । प्रतियोगिताको उद्घाटन समारोहमा जापानी संस्कृति र एसियाली एकताको सन्देश प्रस्तुत गरिएको थियो । जापानी सम्राट् नारुहितोले प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरेका थिए । समारोहमा नृत्य, संगीत र आतिसबाजी प्रस्तुत गरिएको थियो । 
प्रतियोगिताको तयारीमा देखिएका समस्याले चर्चा पाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । केही टोलीले आवास र यातायात व्यवस्थापनमा समस्या भोगेका छन् । खेलाडी तथा अधिकारीले बसोबास र दर्तासम्बन्धी कठिनाइबारे गुनासो गरेका छन् । आयोजकले ती समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ । 
यसपटक नेपालले पदक तालिकामा आफ्नो उपस्थिति बढाउने लक्ष्य राखेको छ । हाङ्झाउमा नेपालले एक रजत र एक काँस्यसहित दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले काँस्य जित्दा करातेकी एरिका गुरुङले रजत जितेकी थिइन् ।
नेपालको यसपटकको लक्ष्य स्वर्णसहित दोहोरो अंकमा पदक जित्नु हो । त्यसका लागि कबड्डी, कराते, बक्सिङलगायत खेलमा नेपाली खेलाडीको प्रदर्शन महŒवपूर्ण हुनेछ । प्रतियोगितामा नेपालको पदक सम्भावना खेलाडीको तयारी र प्रतिस्पर्धात्मक प्रदर्शनमा निर्भर रहनेछ ।
जापानले ३२ वर्षपछि एसियाली खेलकुद आयोजना गरेको हो । यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा प्रतियोगिता भएको थियो । यसपटक ४३ खेलका ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका केही खेल उद्घाटनअघि नै सुरु भएका थिए । पुरुष बास्केटबलको प्रतिस्पर्धा सेप्टेम्बर १० देखि सुरु भएको थियो । 
उद्घाटन समारोहको मुख्य मञ्च मुटुको आकारमा बनाइएको थियो । समारोहको विषयवस्तु ‘हार्मोनिक हार्ट बिट’ थियो । यसले एसियाली खेलाडीबीचको एकता र सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको थियो । जापानी चलचित्र निर्देशक युकिहिको सुत्सुमीले समारोह निर्देशन गरेका थिए । जापानी संस्कृति, परम्परागत नृत्य र आधुनिक प्रकाश प्रविधि प्रस्तुत गरिएका थिए ।
प्रतियोगिताको तयारीमा भने केही व्यवस्थापकीय समस्या देखिएका छन् ।  आयोजकले परम्परागत खेलाडी गाउँ निर्माण नगरी होटल, कन्टेनर आवास र पानीजहाजमा खेलाडी राखेका छन् । आवास, यातायात र दर्तासम्बन्धी कठिनाइबारे केही टोलीले गुनासो गरेका छन् । कतिपय खेलाडीका बस ढिला हुँदा निर्धारित समयमा खेलस्थल पुग्न समस्या भएको समाचारमा उल्लेख छ । 
यस संस्करणमा मिश्रित मार्सल आट्र्स, प्याडल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबल समावेश छन् । ई–स्पोट्र्स र ब्रेकडान्स पनि प्रतियोगिताको हिस्सा छन् । केही खेलका प्रतिस्पर्धा सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि छनोट प्रक्रियासँग जोडिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्