नेभिगेशन
प्रदेश

दशकअघिको भूकम्प हो विनाशकारी बाढीको कारण ?

काठमाडौं । ल्हेन्दे खोलाबाट भोटेकोशीहुँदै आएको विनाशकारी बाढी एकाएक थिएन । २०७२ साल वैशाखको भूकम्पले गत भदौ १० गतेको विनाशकारी बाढी निम्त्याउन ‘ठूलो भूमिका’ खेलेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
एउटा विस्तृत अध्ययनले २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको उक्त भूकम्पका कारण पहाडको एउटा ठूलो भाग कमजोर भएर चर्किएको र त्यही भाग पछि खसेर त्रिशूली नदीमा पुगेको देखाएको बेलायतबाट प्रकाशित हुने द टाइम्स अखबारले जनाएको छ । त्यसपछि ठूलो परिमाणमा ढुंगा, माटो र बरफ नदीमा खस्दा सयौं किलोमिटर तलसम्म विनाशकारी प्रलयको लहर फैलिन पुगेको अध्ययनले देखाएको हो ।
७ हजार २३४ मिटर अग्लो लाङटाङ लिरुङ हिमालको भिरालो भागमा गएको पहिरोले त्यसमाथि रहेको हिमनदीको ठूलो भाग पनि कमजोर बनाएको थियो । पहिरो र हिमनदीबाट झरेको गरी करिब ११ करोड घनमिटर ढुंगा र बरफ त्रिशूली नदीसम्म बगाउँदै ल्यायो । त्यसले नदीको सतह करिब नौ मिटर माथि उठाइदियो र त्यसपछि आएको विनाशकारी लहरले कम्तीमा १ हजार ३ सय ८६ जनाको ज्यान गयो भने ५ हजार १ सय ३० जना अझै बेपत्ता छन् ।
लन्डनस्थित इम्पेरियल कलेजलगायत विश्वका विभिन्न देशका वैज्ञानिकहरूले गरेको अध्ययनले जलवायु परिवर्तनले पनि पहिरोमा महŒवपूर्ण भूमिका खेलेकोमा ‘कुनै शंका नभएको’ निष्कर्ष निकालेको छ । जलवायु परिवर्तनका कारण हिमनदी पातलिँदै जानुका साथै हिमालयका भिरालो पहाडलाई जोडेर राख्ने स्थायी जमेको माटो अर्थात् पर्माफ्रस्ट पग्लिँदै जानुले पहिरोको जोखिम बढाएको वैज्ञानिकहरूको भनाइ छ ।
सन् १९८० को दशकयता हिमालय क्षेत्रमा पर्माफ्रस्ट पग्लिन सुरु हुने उचाइ प्रत्येक दशकमा करिब १०० मिटरले माथि सर्दै गएको छ । जमेको बरफ मौसमी रूपमा जम्ने र पग्लिने क्रम बढ्दा चट्टानमा चिरा पर्न थालेका छन् । यसले पहिरोको जोखिम अझ बढाएको छ ।
गएको साउन र भदौ महिनामा स्थानीय स्तरमा अहिलेसम्मकै उच्च मासिक तापक्रमको रेकर्ड बनेको थियो । अत्यधिक गर्मीका बेला हिमनदीबाट बगेको पग्लिएको पानीले पहाडको भिरालो भागलाई थप कमजोर बनाएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । समग्रमा, औद्योगिक युग सुरु हुनुअघिको समयको तुलनामा मानव गतिविधिबाट उत्सर्जित कार्बनका कारण यस क्षेत्रमा तापक्रम करिब २ डिग्री सेल्सियसले बढिसकेको छ ।
अध्ययनका एक लेखक तथा उत्रेख्ट विश्वविद्यालयका पर्वतीय जलविज्ञानी प्राध्यापक वाल्टर इमरजिलले यो पहिरो आकारका हिसाबले ‘अभूतपूर्व’ भएको बताएका छन् । उनका अनुसार सन् २०१५ को भूकम्प र जलवायु परिवर्तनमध्ये कुन कारण बढी जिम्मेवार थियो भनेर भन्न सम्भव छैन । तर दुवैले यस विपत्तिमा ‘महŒवपूर्ण भूमिका’ खेलेका थिए ।
उनले भने, ‘हामी हिमालयका पर्वतीय वातावरणमा आधारभूत र अपरिवर्तनीय परिवर्तन भइरहेको प्रत्यक्ष देखिरहेका छौं । उच्च हिमाली क्षेत्रमा पर्माफ्रस्ट पग्लिनु, हिमनदी पछाडि हट्नु र गर्मी याममा रेकर्ड स्तरको तापक्रम बढ्नु एकैसाथ हुँदा यी पहाडी भित्ताहरूको संरचनात्मक मजबुती कमजोर हुँदै गएको छ । त्यसपछि हुन सक्ने विनाशकारी प्रभाव कस्तो हुन्छ भन्ने कुरा अहिले सबैले स्पष्ट रूपमा देखिरहेका छन् ।’
यस बाढीका कारण टुक्रिएका परिवारलाई पुनर्मिलन गराउन नेपाल सरकार अझै प्रयासरत छ । बाढीले ८४ हजारभन्दा बढी मानिसलाई घरबाट विस्थापित गरेको छ ।
यस अभूतपूर्व क्षतिका बारेमा नेपालमा ‘जलवायु न्याय’का कुरा पनि उठाउन थालिएको छ ।
गत साता राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघसमक्ष ‘जलवायु न्याय’ को माग गर्दै जलवायु परिवर्तनका कारण हुने विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति तथा सहयोगका लागि स्थापना गरिएको संयुक्त राष्ट्रसंघको ‘लस एन्ड ड्यामेज फन्ड’बाट २ करोड अमेरिकी डलर सहयोग मागेका थिए । यो कोष सन् २०२२ मा जलवायु परिवर्तनबाट हुने विपत्तिका कारण क्षति बेहोर्न बाध्य गरिब तथा विकासशील देशलाई सहयोग गर्न स्थापना गरिएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनाल पनि विभिन्न मञ्चमा ‘हामीले सिर्जना नगरेको विश्वव्यापी संकटको सबैभन्दा ठूलो मूल्य हामीले चुकाइरहेका छौं’ भन्दै गुनासो गरिरहेका भेटिन्छन् । यही सन्दर्भ जोडेर यसपटक प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् ।
जलवायु परिवर्तन गराउने कार्बन उत्सर्जनमा नेपालको योगदान जम्माजम्मी ०.१ प्रतिशत छ तर जलवायु परिवर्तनबाट नेपाल अत्यन्त प्रभावित मुलुकमध्ये एक बन्न पुगेको छ । पछिल्लो ३० वर्षमा हिमालयले आफ्नो कुल हिउँको करिब एक तिहाइ गुमाइसकेको छ ।
इमरजिलका अनुसार हिमालयका प्रत्येक हिमनदी र चट्टानी पहाडको निगरानी गर्न सम्भव नभए पनि जलवायु परिवर्तनका कारण भविष्यमा हिमनदी भत्किने वा पहिरो जाने घटना बढ्न सक्ने भएकाले पूर्वसूचना प्रणाली सुधार गर्न धेरै काम गर्न सकिन्छ ।
ठूला बस्ती र जलविद्युत् आयोजना रहेका उपत्यकाको निगरानी गर्न सीसी क्यामेरा, ड्रोन र भू–उपग्रह प्रयोग गर्न सकिने उनले बताए । यी प्रविधिबाट हिमनदी भत्किनुअघि वा पहिरो जानुअघि देखिने संकेतहरू पहिचान गर्न सकिन्छ । उनका अनुसार यस्तो निगरानी प्रभावकारी बनाउन सके सम्भावित विपत्तिको केही सातादेखि केही महिनाअघिसम्म पूर्वसूचना दिनसमेत सम्भव हुन सक्छ । यसको पछिल्लो सहकार्य भने नेपाल तथा चीन सरकारबीच भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्