काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया शनिबारदेखि सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै ४३ जिल्लामा वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको बताएका छन् । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको समितिले जनाएको छ ।
कांग्रेसको संस्थापन पक्ष महाधिवेशनको प्रक्रियामा अघि बढ्दा असन्तुष्ट शेरबहादुर देउवा पक्ष भने सहभागी भएको छैन । तर, केही दिनअघि देउवा निकट करिब ५ दर्जन केन्द्रीय नेताहरु महाधिवेशनको प्रक्रियामा जान सहमत भएका थिए । वडा तहको अधिवेशनमा तल्लो तहमा पनि देउवापक्षका धेरै नेता कार्यकर्ता सहभागी भएको पार्टीले जनाएको छ ।
कहाँ कहाँ भयो वडा अधिवेशन ?
कांग्रेसले वडा अधिवेशनका लागि असोज ३ र ४ गते दुई दिनको समय तोकको थियो । जसअनुसार शनिबार ४३ जिल्लामा अधिवेशन भयो । कांग्रेस निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो ।
भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा आइतबार पनि वडा अधिवेशन जारी रहने पार्टीको निर्वाचन समितिले जानकारी दिएको छ ।
डडेलधुरामा विवाद, सभापति–उपसभापतिको अलग विज्ञप्ति
कांग्रेस संस्थापन इतरपक्षका नेता, पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि अधिवेशन हुने भएको छ । देउवा पक्षले अधिवेशन रोक्न प्रयास गरिरहेपनि संस्थापन पक्ष अधिवेशनको तयारीमा छ । डडेलधुरामा आइतबार अधिवेशन गर्ने तयारी छ ।
जिल्ला सभापति भीमबहादुर साउदले जिल्ला कार्यसमितिको निर्णयका आधारमा आइतबार वडा अधिवेशन गर्ने सूचना जारी गरेका छन् । तर, उपसभापति डिल्लीराज जोशीले भने अर्को सूचना जारी गर्दै सभापतिले आह्वान गरेको अधिवेशनमा सहभागी नहुन अपील गरेका छन् । जिल्ला सभापति साउद महाधिवेशनको पक्षमा उभिएका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका नातेदार हुन् । महर १५ औं महाधिवेशनमा महामन्त्रीको आकांक्षी छन् । उसो त महर फागुन २१ को चुनावमा डडेलधुराबाट उम्मेदवार समेत थिए । उनलाई हराउन देउवा पक्षले अन्तरघात गरेको भन्दै सभापति साउदसहितका नेताहरु सभापति देउवासँग रुष्ट रहेको डडेलधुरा कांग्रेसका एक जिल्ला सदस्यले बताए ।
साउदले पार्टीको संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाअनुसार वडा अधिवेशन गर्ने निर्णय गरेपछि देउवा पक्षका नेताहरूले त्यसप्रति असहमति जनाएर रोक्ने प्रयासमा उत्रिएका छन् । जोशीले जारी गरेको विज्ञप्तिमा कांग्रेस विभाजनको संघारमा पुग्नु दुःखद भएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउन संवाद र सहमतिको बाटो रोज्न आग्रह गरिएको छ । ‘कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण नेपाली कांग्रेस डडेलधुरा वडादेखि केन्द्रसम्म बलियो र एकताबद्ध कांग्रेसको पक्षमा रहेको जानकारी गराउँदछौँ ।’ देउवा पक्षले आइतबारका लागि आह्वान गरिएको वडा अधिवेशन तत्काल रोक्दै संवादबाट निकास खोज्न पनि अपिल गरेको छ । जिल्ला सभापतिले आह्वान गरिसकेकाले इतरपक्षलाई पनि मिलाउने प्रयास गर्ने र उनीहरु नआएपनि अधिवेशनको प्रक्रिया अघि बढाउने तयारीमा संस्थापन छ ।
‘असन्तुष्टलाई समेट्न प्रयास जारी रहन्छ’
कांग्रेस सभापति गगन थापा आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौं महानगरपालिका वडा नं ३० को वडा अधिवेशनमा शनिबार सहभागी भए । उनले अन्तिमसम्म पनि असन्तुष्टलाई समेट्न प्रयास जारी राख्ने बताए ।
‘मैले प्रयास गर्न आवश्यक नठानेको भए, धेरै पहिला अधिवेशन सम्पन्न गरिसक्थेँ । मेरो लागि अनुकूल थियो । तर मैले निरन्तर प्रयास गरेँ, २९ गतेको भेलाको सेरोफेरोमा पूर्णबहादुर, शेखर र शशांक दाइलाई भेटेँ, मैले सम्पूर्ण शक्ति लगाएँ,’ उनले भने । अदालतबाट पुनरावलोकन कुरा आएपछि इतर पक्ष फरक ढंगले प्रस्तुत भएको उनले बताए ।
‘मंसिरसम्म त पार्टीको विधानले ठाउँ दिएको छ । तर उहाँहरूले फिर्ता नलिएपछि असोजको १६ भन्दा उता लैजान सकिँदैन,’ उनले भने, ‘बाधा अड्काउ फुकाइएको छ । अरू थप निर्णय गर्ने ठाउँहरू राखिएको छ । १६ गतेसम्म बिहानसम्म पनि म भगीरथ प्रयास गरिराख्छु ।’