नेभिगेशन
राजनीति

‘संविधानका नाममा ध्रुवीकरण गर्नै हुन्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका विषयमा अब कुनै पनि प्रकारको द्वन्द्व र ध्रुवीकरण गर्न नहुने बताएका छन् । संविधानमा आवश्यक संशोधन गर्न सकिने भन्दै उनले त्यसका लागि सबै राजनीतिक दलबीच संवाद र सहकार्य आवश्यक रहेको बताए ।
आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौं–३० मा वडा अधिवेशनमा सहभागी हुन पुगेका सभापति थापाले संविधानलाई अपरिवर्तनीय दस्तावेजका रूपमा बुझ्न नहुने धारणा राखे । संविधानका आधारभूत मूल्य र संरचनालाई जोगाउँदै व्यवहारिक अनुभवका आधारमा आवश्यक विषय संशोधन गर्न सकिने उनको भनाइ छ ।
‘संविधान भनेको कमा, फुलस्टप पनि परिवर्तन गर्नु हुँदैन भनेर अडिएर बस्ने कुरा होइन,’ सभापति थापाले भने, ‘संविधानका आधारभूत कुराहरूलाई जोगाउने हो । हाम्रो अनुभवले जे कुरा सिकाएको छ, कतिपय कुरा बदल्नुपर्ने छ ।’ तर, संविधान संशोधन अपरिपक्व वा हतारो ढंगले नभई सुझबुझ र परिपक्वताका साथ काम गर्नुपर्ने पनि उनले बताए । संविधान संशोधनका लागि अन्य राजनीतिक दलसँग संवादको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ छ ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउने शक्तिहरु एक ठाउँमा उभिनुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला थापाले भने संविधानका नाममा राजनीतिक ध्रुवीकरण गर्न नहुने स्पष्ट पारेका हुन् । ‘संविधान बनाउने शक्तिहरू एकजुट हौँ भन्ने कुरा आइरहेको छ । हिजो हामी को–को मिलेर संविधान बनायौं, संविधान बनाउने बेलामा हुँदै नभएको शक्तिलाई अलग गरौं भन्ने कुरा पनि गर्नुहुँदैन,’ उनले भने । ०७२ असोज ३ गते संविधान जारी भएको थियो । जतिबेला अहिले संसदको सबैभन्दा ठुलो र एकल सरकार चलाइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएकै थिएन । प्रचण्ड र ओलीको भनाइ रास्वपा लक्षित छ । 
कांग्रेस सभापति थापा भने संविधान कार्यान्वयन र संशोधनको विषयमा राष्ट्रिय सहमति निर्माण गर्न रास्वपासहित सबै दललाई समेट्नुपर्ने पक्षमा उभिएका छन् । ‘रास्वपा पनि चाहिन्छ । मधेसका दल पनि चाहिन्छ । सबै मिलेर मात्र काम गर्न सकिन्छ । अरू कुरामा प्रतिस्पर्धा गर्ने हो,’ उनले भने, ‘संविधानको नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि खालको ध्रुवीकरण गर्ने कुरा गर्नु हुँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्