हिल्टन हाइड्रोको ५.२६३ प्रतिशत
काठमाडौं (संवाददाता)– हिल्टन हाइड्रो इनर्जी कम्पनीले आफ्ना शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । कम्पनीको चौथो साधारणसभाले शेयरधनीलाई विद्युत् बिक्रीबाट भएको कूल आम्दानीबाट नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले ताप्लेजुङमा निर्माण गरेको १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट भएको आन्दानीबाट आर्थिक वर्ष २०८१-८२ मा लगानीको प्रतिफल स्वरुप चुक्ता पुँजी ६८ करोड (करसहित) ५.२६३ प्रतिशत हुन आउने तीन करोड ५७ लाख ८९ हजार चार सय ७३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो आयोजनाले २०८१ चैत २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
आयोजनाबाट विद्युत् उत्पादन सुरु गरेको ४ महिनामा नै ५ प्रतिशत आम्दानी वितरण गर्न सफल भएको कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले बताए । उनले विविध चुनौतीका बाबजुत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरेर शेयरधनीलाई नगद लाभांश दिने अवस्थामा पुगेको बताए ।
‘यो आयोजनाको निर्माण सुरु हुँदा पाइपलाइन राखेर बनाउने गरी डिजाइन गरिएको थियो,’ उनले भने, ‘तर, निर्माणकै क्रममा बर्खामा आएको बाढीले त्यस क्षेत्रमा निर्माण भएका आयोजनामा ठूलो क्षति पुगेपछि भने डिजाइन परिवर्तन गरेर सुरुङ निर्माण गर्यौं ।’
सुरुङ निर्माण गर्नु परेपनि आयोजना प्रतिमेगावाट २० करोड रुपैयाँ लागतभित्रै सम्पन्न गर्न सफल भएको उनले बताए । आयोजनामा युरोपमा बनेका गुणस्तरीय उपकरणहरू जडान गरिएको छ । आयोजनाको बाँध र विद्युत्गृहबाहेकका संरचना भूमिगत छन् ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
स्नो रिभर्सको ४.२११ प्रतिशत
स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधाणसभाले संस्थापक शेयरधनीलाई विद्युत् बिक्रीबाट भएको आम्दानीबाट ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाटको सुपर काबेली खोला ’ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यो आयोजनाले २०८१ साल पुस ५ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गरिररहेको छ ।
कम्पनीले चुक्ता पुँजी ७५ करोड रुपैयाँ (करसहित) हुन आउने तीन करोड १५ लाख ७८ हजार नौ सय ४७ रुपैयाँ नगद लाभांश संस्थापक शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
अहिले संस्थापक शेयरधनीमात्रै भएको कम्पनीले सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्ने तयारी गरिरहेको छ । कम्पनीले १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
आयोजना सञ्चालन भएको ७ महिनामा नै शेयरधनीलाई नगद लाभांश वितरण गर्ने क्षमता बनेको कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले बताए । ‘हाम्रो आयोजनाले सञ्चालनमा आएदेखिबाट नै नेपाल विद्युत् प्राधिकरणलाई सम्झौता अनुसारकै परिमाणमा विद्युत् दिन सकेको छ,’ उनले भने, ‘आयोजना सञ्चालनमा आएको छोटो अवधिमा पनि प्रवद्र्धक कम्पनी मुनाफा आर्जन गर्न सफल भएको छ ।’
उनले यो आयोजनाको विद्युत् भारतीय बजारमा निर्यात गर्न भारत सरकारले स्वीकृति प्रदान गरेको बताउँदै कार्कीले यो स्वीकृतिले दीगो बजारको सुनिश्चित भएको बताए । सुपर काबेली खोला ‘ए’ बाट सुख्खायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न काबेलीको सहायक आम्जि खोलाको पानी उपयोग गर्ने गरी संरचना निर्माण गरिने पनि उनले जानकारी दिए । उनले चालू आर्थिक वर्षभित्र नै संरचना बनाउने काम सम्पन्न गर्ने योजना रहेको बताए ।
चेपेखोलाको १५.७८९ प्रतिशत
लमजुङमा निर्माण भएको ८.६६ मेगावाटको चेपेखोला जलविद्युत् आयोजनाका लगानीकर्ताले नगद लाभांश पाउने भएका छन् । आयोजनाको प्रवद्र्धक आशुतोष इनर्जी प्रालिले आठौं वार्षिक साधारणसभाबाट सञ्चालक समितिले गरेको १५.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
आयोजनाले प्रसारण लाइनको समस्याका कारण बर्खा याममा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नपाएको भए पनि लाभांश दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्पादन हुने सबै विद्युत् प्रसारण प्रणालीमा प्रवाह हुन नपाउँदा आर्थिक नोक्सानी हुँदै आएको छ । कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।
कम्पनी नोक्सान बेहोर्दै आए पनि शेयरधनीलाई मुनाफा वितरण गर्न सक्षम देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ मा आर्जित मुनाफाबाट चुक्ता पुँजी रहेको ४८ करोड रुपैयाँको करसहित १५.७८९ प्रतिशत हुन आउने ७ करोड ५७ लाख ८९ हजार ४७३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
विगत तीन आर्थिक वर्षमा यो कम्पनी घाटामा थियो । आर्थिक वर्ष २०७९-८० को ९ महिनामा पाँच करोड १५ लाख ६८ हजार छ सय ७५ रुपैयाँ, आर्थिक वर्ष २०८०-८१ मा आठ करोड १८ लाख ८२ हजार सात सय ५९ रुपैयाँ र आर्थिक वर्ष २०८१-८२ मा पाँच करोड ६४ लाख आठ हजार छ सय १२ रुपैयाँ गरी करिब १९ करोड रुपैयाँ नोक्सानी भएको छ ।
कम्पनीले निर्माण गरेको आयोजनाले २०७९ साल असोज १६ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गरिरहेको छ । प्रस्तावित कीर्तिपुर–उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन समयमै निर्माण नहुँदा आयोजनाको विद्युत् वैकल्पिक माध्यम (कन्टिन्जेन्सी) बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
यही कारण आयोजना बर्खामा पूर्ण क्षमतामा चल्न नसकेको कार्कीले बताए । कम्पनीले २ मेगावाटको चेपे खोला क्यासकेड आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।