नेभिगेशन
उपत्यका

प्रहरी चौकी उभ्याउन जुर्मुराउँदै कलाकार

पाँच महिनाअघि मात्र नयाँ भवनमा सरेको थानकोटको प्रहरी चौकी गएको जेनजी आन्दोलनमा जलेर ध्वस्त भएपछि फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो निजी स्रोतबाट पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।

यस संवाददातासँग कुरा गर्दै उनले यस्तो दुःखद् अवस्थामा आफू जन्मेको गाउँठाउँका लागि सहयोग गर्नु जरुरी भएका कारण सानो सहयोग गरेको बताए । आन्दोलनका क्रममा सुरुमा सीसीटीभी कन्ट्रोल रुममा आक्रमण गरिएकाले ठूलो क्षति पुगेको छ । तीन करोड बराबरको कन्ट्रोल रुमको क्षतिले वरपरका क्षेत्रको सुरक्षाका लागि खतरा भएकाले यसको चाँडो पुनर्निर्माणका लागि आफूले सहयोग गरेको कलाकार गिरीले बताए ।

समग्रमा सात करोड रुपैयाँ बराबरको क्षति भएको सो प्रहरी कार्यालय पुनर्निर्माणमा अरूले पनि सहयोग गरून् भनेर सहयोगको सुरुवात गरेको उनले बताए । अरू कलाकारले सहयोग गर्ने वा नगर्नेबारे आफूलाई थाहा नभए पनि आफ्नो दायित्व सम्झेर सहयोग गरेको उनले बताए ।

आफू जन्मेको ठाउँ मात्र नभएर अन्य ठाउँमा पनि आफ्नो सहयोग चाहिने भएकाले अन्यत्र पनि सहयोग गर्ने सोच रहेको उनले बताए । उनले भने, ‘के कति सहयोग गर्न सकिन्छ, हेरौं तर सुरुवात भने गरिहालौं भन्ने सोच हो ।’

नयाँ ठाउँमा सहयोगका लागि अहिले रिसर्च गरिरहेको समेत उनले बताए । यसअघि सज्जन श्रेष्ठ, पूजन अधिकारी, सुमन कार्की, प्रभात लामालगायतका कलाकारहरूले आफ्नो क्षेत्रमा रहेको एउटा प्रहरी चौकीलाई आफ्नै गोजीबाट रकम योगदान गरी रंगरोगन गरिदिएका थिए । 

उनीहरूले जलेर ध्वस्त भएको चौकीलाई रंगरोगन गरी चिटिक्क पारिदिएका थिए । यस क्रममा करिब ९० हजारमै रंगरोगनको काम सकिएको यस कार्यमा सक्रिय पूजन अधिकारीले बताए । चौकीमा रहेका अन्य धेरै सामग्रीहरू जलेर ध्वस्त भएका छन् । स्थानीयहरूले ती सामग्रीहरू पनि व्यवस्थापन गर्न आफ्नोतर्फबाट सहयोग गरिरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्