नेभिगेशन
प्रदेश

माथिल्लो त्रिशूलीमा थप ११ शव फेला

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप ११ जनाको शव भेटिएको छ । नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले शनिबार आयोजनाको अडिट–३ सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शव फेला पारेर बाहिर ल्याएको हो ।
सेनाका अनुसार फेला परेका शव सुरुङबाट बाहिर निकालिएको छ । सुरुङभित्र अझै खोजी जारी राखिएको छ । यसअघि शुक्रबार मात्रै सोही सुरुङबाट १८ जनाको शव बाहिर निकालिएको थियो । गत बिहीबार पनि सोही क्षेत्रमा ६ जना शव भेटिएको थियो । तीन दिनको खोजीमा ३५ जनाको शव फेला परिसकेको छ ।
भदौ १० गते बाढी आएका बेला आयोजनाको सुरुङभित्र कामका लागि कति जना थिए भन्ने यकिन विवरण अझै नपाउँदा वेपत्ता हुनेहरुको नाम र संख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
शुक्रबार आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र शव फेला परेका हुन् । बाढी र त्यसपछि सुरुङभित्र थुप्रिएको हिलो तथा अन्य अवरोधका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्