नेभिगेशन
राजनीति
कांग्रेस महाधिवेशन

वडा कार्यसमिति गठन, क्षेत्रीय प्रतिनिधि चयन

७३ जिल्लाका ६ हजार १ सय ३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत ६ हजार १ सय ३२ वडामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार र आइतबार दुई दिन पार्टीले वडा अधिवेशनका लागि कार्यसूची तय गरेको थियो । सोही कार्यसूचीअनुसार पार्टीको वडा अधिवेशनहरु सम्पन्न भएको हो । 
वडा अधिवेशनमार्फत कांग्रेसको सबैभन्दा तल्लो तहको वडा कार्यसमिति गठन भएको छ भने क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ६ हजार १ सय ३२ वडामा कार्यसमिति चयन भएको छ भने विधानअनुसार क्षेत्रीय प्रतिनिधि पनि चयन भएका छन् । 
कांग्रेसमा वडा अधिवेशन पार्टीको महाधिवेशनका लागि सबैभन्दा महŒवपूर्ण मानिन्छ । वडा कार्यसमिति गठन सँगै वडाबाटै चयन हुने क्षेत्रीय प्रतिनिधि क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिका लागि मतदाता हुन्छन् । क्षेत्रीय प्रतिनिधि मध्येबाटै महाधिवेशन प्रतिनिधि चयन हुन्छन् भने केन्द्रीय नेतृत्वका लागि महाधिवेशन प्रतिनिधि मात्रै योग्य हुन्छन् । 
आइतबार बेलुका विज्ञप्ति जारी गर्दै कटुवालले भनेका छन्, ‘असोज ३ र ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकिएको छ । अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ ।’ अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् । 
शेरबहादुर देउवा नेतृत्वको इतरपक्ष  अधिवेशनमा सहभागी नहुँदा केही जिल्लाका वडा तहमा विगतमा जस्तो प्रतिस्पर्धा नदेखिएको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् । पार्टी संस्थापनलाई चुनौती दिँदै देउवा पक्षले असोज १५ गते छुट्टै वडा अधिवेशन गर्ने घोषणा गरिसकेको छ । पदमोह नभएको बताउँदै आए पनि देउवा पार्टीको विशेष महाधिवेशनबाट आएको कार्यसमितिको विपक्षमा छन् । अदालतले आफ्नो पक्षमा फैसला दिने भन्दै पार्टीको छुट्टै गतिविधि गरिरहेका छन् । देउवा पक्षले अलग महाधिवेशन गर्ने तयारी गरेको छ । 
यी जिल्लामा सम्पन्न भयो वडा अधिवेशन
कांग्रेस निर्वाचन समितिका अनुसार ७३ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्व), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा अधिवेशन भएको हो । 
पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पनि आइतबार अधिवेशन सम्पन्न भयो । जिल्ला सभापति अधिवेशनको पक्षमा उभिए भने उपसभापति अधिवेशन रोक्नुपर्ने पक्षमा उभिए पनि अधिवेशन सम्पन्न भएको नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि भुवन भट्टलले डडेलधुराबाट जानकारी दिए । 
बाढी प्रभावित जिल्लामा बाँकी
भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा केन्द्रकै निर्णयअनुसार पछि अधिवेशन हुनेछ । ती जिल्लामा अहिले अधिवेशन नगर्ने पहिले नै बताइएको थियो । सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ मा अधिवेशन हुन बाँकी छ । यहाँ भने सोमबार अधिवेशन हुने निर्वाचन समितिले जानकारी दिएको छ । 
कांग्रेसले असोज ७ गते पालिका अधिवेशन, १० गते प्रदेश र क्षेत्रीय अधिवेशन, १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५ औं महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्