नेपालमा अस्कर अवार्डमा कुन फिल्मलाई पठाउने भन्ने विवाद चलिरहँदा फ्रान्सले भने इरानी निर्देशक जफर पनाहीको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’लाई आफ्नो आधिकारिक फिल्म घोषणा गरेको छ ।
यो फिल्मले हालै मात्र कान्स फिल्म फेस्टिभलमा पाल्म डी ओर जितेको थियो । यस चयनले पनाहीको फिल्मलाई अस्कर अवार्डसम्म पुग्ने बाटो खोलिदिएको छ । इरानले भने कहिल्यै पनाहीका फिल्मलाई आफ्नो आधिकारिक फिल्मका रूपमा पेस गर्दैनथ्यो ।
पनाहीले पछिल्ला १५ वर्ष कहिले नजरबन्द त वैदेशिक यात्रामा प्रतिबन्ध झेलेका छन् । कतिपय अवस्थामा उनले जेलमा बिताएका छन् । उनले ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ पनि इरानी सरकारको अनुमतिबेगर नै बनाएका हुन् । रोचक के छ भने, यसअघि पनाही र उनका साथी मोहम्मद रसुलोफको फिल्म ‘द सिड अफ द सेक्रेट फिग’लाई जर्मनीले आफ्नोतर्फबाट अस्कर अवार्डका लागि छनोट गरेको थियो ।
अस्कर अवार्डको आयोजक संस्था एकेडेमी अफ मोशन पिक्चर आट्र्स एन्ड साइन्सेजले नियम परिमार्जन गर्दै शरणार्थी वा आश्रय लिइरहेका फिल्म निर्माताहरूलाई आफ्नो जन्मदेशबाहेक अन्य देशमार्फत पनि प्रतिनिधित्व गर्ने सुविधा दिएको छ ।
यही सुविधाअन्तर्गत पनाहीले फ्रान्सबाट प्रतिनिधित्व गर्ने भएको हो । दुई वर्ष जेलमा बिताएपछि आमरण अनसन गरेर उनी छुटेका थिए । छुटेलगत्तै पनाहीले ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ बनाएका हुन् ।
यो फिल्म फ्रान्समा सम्पादन गरेको, फ्रान्सेली कम्पनीले सहलगानी गरेको भन्दै फ्रान्सले आफ्नोतर्फबाट अस्कर अवार्डका लागि पेस गरेको हो । गत मे महिनामा कान्स फिल्म फेस्टिभलमा स्वयं निर्देशक पनाहीको उपस्थितिमा प्रिमियर गरिएको थियो । त्यसबेला फिल्मले पाम डी ओर जितेपछि नियन नामक कम्पनीले फिल्मको अधिकार लिएर अस्कर अभियान सुरु गर्ने तयारी गरेको थियो ।
पाल्म डी ओर ग्रहण गर्दा पनाहीले भनेका थिए, ‘हामी एकजुट होऔं । कसैले पनि हामीलाई के पहिरन लगाउने, के गर्ने वा नगर्ने भन्ने सिकाउने हिम्मत गर्नु हुँदैन । सिनेमा एउटा समाज हो । हामीले के गर्नुपर्छ वा गर्नुहुँदैन भन्ने अधिकार कसैलाई छैन ।’
यो फिल्म बदला कथामा आधारित छ । कथामा जेलमा यातना भोगेकाहरूको एउटा समूहले आफूलाई जेलमा छँदा यातना दिएको हुन सक्ने एउटा सम्भावित व्यक्तिलाई भेट्छन् । जेलमा आँखामा पट्टि बाँधिएको हुँदा उनीहरू त्यही व्यक्ति हो भन्ने पक्का छैनन् । ऊसँग यी भूतपूर्व कैदीले कसरी बदला लिन्छन्, यसै विषयमा आधारित फिल्म हो यो ।
यो कथा पनाहीकै तेहरानमा बिताएको कारावास अनुभवबाट प्रेरित हो । पनाहीले कान्समा सहभागी हुँदा भनेका थिए, ‘यो म जेलमा भेटेका ती सबै मानिसहरूको अनुभव हो, मेरो आफ्नै बुझाइ र अनुभवसँग मिसिएको । आफ्नो अनुसन्धानकर्ताको अनुहार कहिल्यै नदेख्ने सबैको साझा अनुभव हो ।’
फ्रान्सले पनाहीको फिल्मलाई सर्टलिस्टमा रहेका अन्य फिल्महरूलाई किनारा लगाएर यसलाई छानेको हो । प्रतिस्पर्धामा रिचर्ड लिंकलेटरको ‘नुभेल भोग’, रेबेका जुलोटोव्स्कीको ‘ए प्राइभेट लाइफ’ र एनिमेटेड फिल्म ‘आर्को’ पनि दौडमा थिए । पछिल्ला वर्षहरूमा फ्रान्सको फिल्म छनोटबारे विवाद हुँदै आएको छ । यस पटक अन्य फ्रान्सेली फिल्मकारका फिल्म छनोट नगरी इरानी फिल्म छनोट गरेकामा फ्रान्सेली फिल्म उद्योगका धेरै जना आक्रोशित भएका थिए ।
फ्रान्सको फिल्म उद्योग बलियो र सम्मानित मानिन्छ । यसका बाबजुद पनि अस्करमा यसको उपस्थिति कमजोर रहँदै आएको छ । पछिल्लोपटक फ्रान्सले १९९३ मा ‘इन्डोचाइना’पछि अन्तर्राष्ट्रिय अस्कर अवार्ड जितेको छैन । यसैबीच भारतले आधिकारिकरूपमा ‘होमबाउन्ड’लाई छनोट गरेको छ । ९८औं एकेडेमी अवाड्र्स आगामी १५ मार्च, २०२६ मा लस एञ्जेलसमा आयोजना हुनेछ ।