नेभिगेशन
प्रदेश

असोज ९ देखि गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ ।
त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
विभागका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भागमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै जाने सम्भावना रहेकाले बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्न संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई अनुरोध गरेको छ ।
त्यस्तै, जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न आग्रह गरिएको छ ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिनेछ । विपद्का बेला मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्