नेभिगेशन
दृष्टिकोण

लाखे नाचको सांस्कृतिक महत्व

उपत्यकाको नेवार बस्तीका विभिन्न स्थानमा नचाइने लाखे नाचको चर्चा गर्नुअघि लाखे भनेको कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । लाखे भनेको डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटा लगाई राखेको, रातो लामो कपाल, च्यातिएको ठूलो मुखबाट निस्किरहेको दुईवटा दाह्रा भएको, तासको जामा (पछाडिपट्टि षड्कोण लेखिराखेको) र लुगा लगाई राखेको, हातको औंलामा लामा–लामा नंग्रा भएको, कम्मरमा ठूला–ठूला यंगला र रातो पटुका बाँधिराखेको हुन्छ । उपत्यकामा जति देवी देवता छन् त्यति नै भूत प्रेत, दैत्य र लाखे पनि छन् भन्ने मान्यता रहिआएको छ ।
नागपञ्चमीमा उपत्यकाका विभिन्न नेवार बस्तीमा सन्ध्याकालमा लाखे नाच नचाउन थालिन्छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म विभिन्न टोलमा लाखे नाच नचाइन्छ । विशेष लाखे नाच नाग पञ्चमीदेखि कृष्णाष्टमीसम्म र इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । राजा हरिसिंहदेवले सिमौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भिœयाएका हुन् भनिन्छ । भाषा वंशावलीअनुसार लाखे नाचको चलन काठमाडौंका राजा गुणकामदेवले सुरु गरेका हुन् । 
नेवारी संस्कृति र परम्पराअनुसार चल्दै आएको लाखे नाच नेपालका विभिन्न जिल्लामा रहेका नेवारले आ–आफ्ना बस्तीमा देखाउने गरेका छन् । कर्णालीजस्तो विकट ठाउँमा समेत नेवारहरूले लाखे नाच नचाउँदै आएका छन् । काठमाडौंका नेवारहरूले देशका विभिन्न जिल्लामा लाखे नाचको विस्तार गरेका हुन् । काठमाडौंबाट बाहिर गएर बसेका नेवारहरूले चलाएको लाखे नाचलाई काठमाडांैमा पनि ल्याएर नचाउने गरिन्छ । धरानबाट ललितपुरमा आएर लाखे नाच नचाउने गरिन्छ । ललितपुकै नेवारहरूले धरानमा चलाएको लाखे नाचलाई लाखे नाचको अवधि पारेर ललितपुरमा पनि ल्याएर नचाएको देखिन्छ । यो लाखेलाई धराने लाखे भनिन्छ । हाल आएर विदेशमा गएर बसोबास गरिरहेका नेवारहरूले त्यहाँ पनि लाखे नाचको प्रदर्शन गर्न थालेका छन् । बेलायत, अमेरिका र युरोपियन मुलुकहरूमा बसेका नेवारहरूले नेवारी चाडपर्व जात्रा र लाखे नाच पनि नचाउन थालेका छन् । 
देशका ३५ वटा जिल्लाका लाखेहरूको उत्सव २०७६ साल फागुनमा मच्छेगाउँमा मनाइयो । नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा उक्त उत्सव मनाइएको हो । उक्त उत्सवमा ३५ जिल्लाका लाखेहरूले नृत्य प्रदर्शन गरेका थिए । यसरी राष्ट्रियस्तरमै लाखे नाचको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सामाजिक र राष्ट्रियस्तरमै सबै लाग्नुपर्ने देखिन्छ । परम्परागत रूपमा चल्दै आएका यस्ता मौलिक संस्कृतिको संरक्षण गर्न सबै एकजुट हुुनुपर्दछ । 
लाखे नाच विशेष गरेर धाः र मुस्याः बाजा बजाएर नचाइन्छ । खिं पछिमा, नाड्ढिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शकहरूले रमाइलो मान्छन् । लाखे नाचसँगै झ्यालिंचालाई पनि नचाइन्छ । कागज र प्लाष्टिकको मुखौटा लगाएर झ्यालिंचा जोकर जस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेका नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेटने गर्छ । झ्यालिंचामा चाहिँ दर्शकहरूको समूहभित्र छिर्दै लाखेलाई हायलकायल पार्दै दर्शकहरूलाई थप मनोरञ्जन दिइरहेको हुन्छ । काठमाडांैको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजिपा लाखेलाई शान्त भैरवका रूपमा पनि लिइन्छ ।
इन्द्रजात्रामा यो मजिपा लाखे निकालिन्छ । लाखेको मुकुण्डोमा पूजा गरिसकेपछि लाखे आजु आफ्नो घरबाट बाहिर आउनुहुन्छ । न्हूघः र चिकं मुगःको दोबाटोमा तीन पटक उफ्रिनुहुन्छ, नृत्यको शुभारम्भ गर्नुहुन्छ । अनि बाजाको तालमा नाच्दै गएर सबैभन्दा पहिला यंगाल टोलको प्रधानहरूको क्लब घरमा पूजा थाप्नुहुन्छ ।
हरेक वर्ष नाग पञ्चमीका दिनदेखि कृष्णाष्टमीसम्म काठमाडौंका विभिन्न टोलमा नचाइने मतिगा लाखे नाचले विशेष स्थान ओगटेको पाइन्छ । नेवारी समाजमा चल्दै आइरहेका जातीय जात्राहरूमध्ये द्यःला पोडे समाजको नेतृत्वमा यो मतिगा लाखे नाच चल्दै आइरहेको छ । उपत्यकाका विभिन्न देवी देवताका मन्दिरहरूमा अझ त्यसमा पनि अष्टमातृका पीठमा पुजारी द्यःला नै हुँदै आइरहेका छन् भने मतिगा लाखे नाच यो समाजको नेतृत्वमा चल्दै आएको छ । हुन त द्यःला नै थकाली बनाई कीर्तिपुरको ऐतिहासिक सात गाउँले जात्रा चलाउने र भोज खाने चलन छ । त्यस्तै हाँडी गाउँको टुँडाल देवीको जात्रामा पनि देवीभन्दा माथि राखेर राँगाको बलि दिएर भोज खाने परम्पराले गर्दा द्यःला समाजको सांस्कृतिक महŒव र महिमा रहँदै आएको पाइन्छ । त्यसरी नै नुवाकोटको कागती गाउँमा हुने महास्थमीको जात्रामा पनि काठमाडौंको सबल बहालका द्यःला नगएसम्म र उसले बली नदिएसम्म जात्रा नै शुरु नहुने परम्पराले पनि द्यःला समाजको सांस्कृतिक महŒव बढी भएको देखिन्छ । सवल बहालका द्यःला नै नुवाकोटबाट ल्याइएको लाखे हो पनि भनिन्छ । 
सवल बहालको मतिगा लाखे नाचले द्यःला समाजको पहिचानलाई झनै महŒवपूर्ण बनाइदिएको छ । मतिगा लाखे नाच कहिलेदेखि सुरु भएको हो भन्ने तथ्य छैन । तर सम्बन्धित मानिसहरूका भनाइअनुसार ने.सं. ९० देखि मतिगा लाखे नाच नचाउँदै आएको हो । मतिगा लाखे कहाँबाट आयो ? कुन द्यःला युवतीसँग विवाह भएको हो कसैलाई थाहा छैन । द्यःला समाजले भने आफ्नै चेलीबेटी हुन् भन्ने विश्वास गर्दै आएका छन् । 
    एउटा भनाइअनुसार इन्द्रजात्राको समयमा निकालिने मजिपा लाखे र मतिगा लाखे कहिल्यै पनि आमनेसामने पार्नु हुँदैन । केही भएर मतिगा लाखे नाच मजिपाटमा पुग्यो वा मजिपा लाखे सबल बहालमा पुग्यो भने रगत छादेर मर्न सक्छ भन्ने विश्वासले दुवैले एक अर्काको क्षेत्रमा कहिल्यै जाँदैनन् । सबल बहालको नाटेश्वरलाई सुँगुर र राँगाको बलि दिएर शुरु गरिने मतिगा लाखे नाच टोलै पिच्छे लगिन्छ । जहाँ जहाँ बलि पूजा दिइन्छ त्यहीं त्यहीँ लाखे नाच नचाइन्छ । 
रातो अनुहार, ठूला ठूला डरलाग्दा आँखा भएको, मुखबाट दाह्रा निस्किएको मुकुण्डो, रातो जामा लगाएको र छातीमा षटकोण चिन्ह भएको जामा लगाएको मतिगा लाखे नाच नचाउन सम्पूर्ण खर्च स्थानीय स्रोतबाटै जुटाउने गरेको पाइन्छ । द्यःला समाजको पहिचान भएको ढोलक र सानो बाँसुरी एकोहोरो तालमा बजाई लाखे नाच नचाइन्छ । नेवारी संस्कृति, चाडवाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रुपमा रहेको यो लाखे नाचको आकर्षणले गर्दा विदेशी पर्यटकहरूले पनि रमाइलो मान्छन् । लाखे नाच नचाएर विभिन्न पर्यटकीय स्थान र होटलहरूमा पर्यटकलाई आकर्षणको केन्द्र बनाएर नेपालको पर्यटन विकासमा यो लाखे नाचले पनि धेरै नै टेवा पु¥याउन सकिन्छ ।
(लेखक डंगोल धर्म संस्कृतिका जानकार छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण