नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

धन र जन विदेशिने क्रम बढ्यो

मुलुकको अर्थतन्त्र लामो समयदेखि विदेशमा रोजगारीमा गएका युवाले पठाउने रेमिट्यान्समा निर्भर छ । हाम्रा होनहार युवाहरू खाडी, मलेसिया, जापान, कोरियालगायतका मुलुकमा रोजगारीका क्रममा जाने क्रम बढ्दो छ । पछिल्ला दिनमा युवा मात्र होइन, म्ुलुकबाट पुँजी पलायनको डरलाग्दो तस्बिर खडा भएको छ । मुलुक विदेशबाट प्राप्त हुने रेमिट्यान्सको आकडा हेरेर दंग छ । तर, रेमिट्यान्स खर्चिएर ठूलो परिरमाणमा कृषिजन्य सामग्रीको आयात भइरहेको छ । गाउँ रित्तिँदै जानुका साथै कृषिको उत्पादन घट्दो अवस्थामा छ । युरोप अमेरिका, अस्ट्रेलिया गएकाहरूबाट रेमिट्यान्समा खासै कुनै योगदान देखिँदैन । खाडी क्षेत्रका मुलुकहरूमा गएका नेपाली युवाले पठाउने रेमिट्यान्स हिस्सा निकै ठूलो छ । 
पछिल्ला दिनमा विदेशबाट भित्रिने रेमिट्यान्सलाई चुनौती थपिएको छ । किनभने नेपालबाट पनि रकम विदेशिने क्रम निकै बढेको सामाचार सार्वजनिक भएको छ । 
नेपाल राष्ट्र बैंकले पछिल्लो विवरण सार्वजनिक गर्दै एक महिनामै बाहिरियो २ खर्ब १२ अर्ब विदेशी मुद्रा बाहिरिको तथ्य सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनामै नेपालबाट २ खर्ब १२ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको तथ्य बाहिर ल्याएको छ । वस्तु आयात, सेवा खर्च, विदेश अध्ययन तथा भ्रमणलगायतका कारण एक महिनामै यति ठूलो रकम बाहिरिएको यो आकडा मुलुकको अर्थतन्त्रका लागि निकै चुनौतीपूर्ण हो । त्यसैगरी नेपालबाट विदेशिनेहरूले मात्र एक महिनाको अवधिमा १५ अर्बभन्दा बढी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । यो आकडा गत वर्षको तुलनामा करिब ४० अर्ब रुपैयाँले बढेको छ । यसले अर्थतन्त्रमा एउटा संकेत पक्कै पनि गरेको छ । नेपालबाट विदेशिने रकम बढेको स्पष्ट हुन्छ । मुलुकबाट विदेशी मुद्रा बाहिरिने क्रम बढे पनि तत्कालै बाह्य क्षेत्र दबाबमा परेको अवस्था भने देखिँदैन । 
आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थमा खर्च भएको देखिन्छ । सरकारले ऊर्जा तथा विद्युत्को खपत र प्रयोग बढाउने कुरा गरेको छ । तर, आम जनता खाना पकाउने ग्यासमा निर्भर देखिन्छ । सामान्य जनताको घर भान्छामा विद्युतीय चुलो तथा बिजुलीको प्रयोग बढेको देखिँदैन । पछिल्लो दिनमा आयात र निर्यातबीचको खाडल पनि बढेको अवस्था छ । 
विदेश अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या पनि पछिल्ला दिनमा बढ्दो छ । यसमा विदेश अध्ययन गर्ने नेपाली विद्यार्थीले खर्च गर्ने रकम पनि प्रमुख हो । नेपाली युवा आज ठूलो संख्यामा विद्यार्थीका रूपमा विदेशिने क्रम बढेको छ । शिक्षा, स्वास्थ्य तथा अन्य व्यक्तिगत प्रयोजनका विदेश भ्रमणसमेत जोड्दा व्यक्तिगत भ्रमणतर्फ जानेको संख्या पनि बढ्दो छ । 
वर्तमान सरकारले अर्थतन्त्रको सुधार गर्न लगानीको वातावरण निर्माण गर्न सकेको छैन । सरकार रेमिट्यान्सको आधारमा मात्र अर्थतन्त्र सञ्चालन गर्ने सोचमा छ भने पक्कै पनि यस्तो खालको प्रवृत्ति मुलुकका लागि राम्रो अवस्था होइन । सरकारले विदेशी लगानी आकर्षित गर्न लगानीको वातावरण र लगानीमैत्री नीति योजनालाई अघि सार्न सक्नुपर्छ । पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले पनि अर्थतन्त्रमा आशा र विश्वास कायम गर्न सकेको देखिँदैन । लगानीकर्तालाई विश्वासमा लिएर मात्र सरकाले लगानीको वातावरण निर्माण गर्न सक्छ । निजी क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास भएन भने उनीहरूले घुमाउरो बाटोबाट आफनो सम्पत्ति तथा रकम विदेश पलायन गर्ने जोखिम र खतरा हुन्छ । नेपालका ठूला व्यापारिक घरानियाँ तथा व्यापारिक समूहको लगानीलाई सुरक्षाको प्रत्याभूति दिने दायित्व सरकारको हो । सरकारी निति, नियम देशभित्र लगानी आकर्षित गर्ने खालको हुनुपर्छ । रास्वपा नेतृत्वको झण्डै दुईतिहाई बहुमत पाएको सरकारलाई लगानीको वातावरण निर्माण गरी अर्थतन्त्रमा रोजगारी र विश्वासको वातावरण सिर्जना गर्ने अवसर छ । आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउन सरकारले पर्याप्त वातावरण र विश्वास कायम गर्न सक्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण