नेभिगेशन
खेलकुद

एसियाली खेलकुदमा मिक्स्ड मार्सल आर्ट्स समावेश

कुनै समय अत्यधिक हिंसात्मक खेल भन्दै आलोचना खेपेको मिक्स्ड मार्सल आट्र्स (एमएमए) ले अब ओलम्पिकमा स्थान बनाउने लक्ष्यसहित आफ्नो अन्तर्राष्ट्रिय अभियानलाई तीव्र बनाएको छ । यसैक्रममा एमएमएले जापानको नागोयामा जारी एसियाली खेलकुदमा पहिलो पटक स्थान बनाएको छ ।
फेडेरेसन अफ इन्टरनेसनल मिक्स्ड मार्सल आट्र्स (एफआईएमएमए) का महानिर्देशक गालास्टेन टानले एसियाली खेलकुदमा समावेश हुनु एमएमएका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उनका अनुसार कुनै पनि खेल महादेशीय प्रतियोगितामा समावेश हुनु भनेको त्यसको प्रशासनिक संरचना, सदस्यता, खेलाडी, नियम र प्राविधिक व्यवस्थाको परिपक्वता पुष्टि हुनु हो ।
    एसियाली खेलकुदमा थाइल्याण्ड, काजाकिस्तान, फिलिपिन्स र जापानलगायतका देशका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मा प्रयोग हुने अष्टकोणीय ‘केज’को सट्टा यहाँ खुला म्याटमा प्रतिस्पर्धा गराइएको छ । टानका अनुसार केज प्रयोग नगर्नुको कारण ओलम्पिकका मूल्य–मान्यतासँग मेल खाने प्रतियोगिता ढाँचा अपनाउनु हो । एमएमएलाई ओलम्पिकमा समावेश गराउने प्रयासमा प्रतियोगिताका नियमहरूलाई अन्तर्राष्ट्रिय रूपमा एकरूप बनाउनु र सबै पक्षबीच सहमति कायम गर्नु मुख्य चुनौतीका रूपमा रहेको छ ।
    सिंगापुरकी खेलाडी तेओ हुई हुनले एसियाली खेलकुदमा समावेश भएपछि एमएमाप्रति युवापुस्ताको आकर्षण बढ्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार यसले नयाँ प्रतिभालाई राष्ट्रिय टोली हुँदै भविष्यमा ओलम्पिकसम्म पुग्ने स्पष्ट अवसर प्रदान गर्नेछ ।
    एमएमा मात्र होइन, टेकबल र प्याडेलजस्ता नयाँ खेलहरूले पनि भविष्यमा ओलम्पिकमा स्थान बनाउने प्रयास गरिरहेका छन् । त्यसैले अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को मान्यता प्राप्त गर्ने प्रतिस्पर्धा निकै कडा रहेको छ ।
    टानले आईओसी तथा अन्य सम्बन्धित निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै एमएमा विश्वव्यापी रूपमा लोकप्रिय, व्यवस्थित र ओलम्पिकका लागि तयार खेल बनिसकेको दाबी गरे । उनका अनुसार सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि समय कम भए पनि भविष्यमा ओलम्पिकमा समावेश हुने सम्भावना खुला छ ।
    एमएमाको लोकप्रियता पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढे पनि यसलाई अझै पनि हिंसात्मक खेलका रूपमा हेर्ने धारणा कायम छ । सन् १९९० को दशकमा अमेरिकी सिनेटर जोन म्याककेनले यस खेललाई ‘मानिसहरूको भाले जुधाइ’ भन्दै आलोचना गरेका थिए । यद्यपि हाल यूएफसीको विश्वव्यापी सफलतासँगै एमएमए मुख्यधारको खेलका रूपमा स्थापित हुँदै गएको छ ।

उसुकी सुम्मिता तेह्रौं स्थानमा
उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौं स्थान हासिल गरेकी छन् । 
    जापानको आइची–नागोयामा जारी बीसौं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उनले सो उपाधि हासिल गरेकी हुन् । 
    सुस्मिताले ९.५८० अंक प्राप्त गर्दै तेह्रौं स्थानमा उपाधि हासिल गरेको नेपाल उसु महासंघले जनाएको छ । 
    यस विधामा हङकङकी लिडिया हुई यू शामले ९.७१३ अंकसहित स्वर्ण जितेकी छन्  । त्यसैगरी मकाउकी, चो मानले ९.७१० अंक प्राप्त गर्दै रजत पदक हात पारिन् भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९.७०६ अंकसहित कास्य पदक जितिन् ।
पुरुष कबड्डीमा नेपाल पराजित
एसियाडअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । 
जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा थाइल्यान्डसँग नेपाल २८–२४ ले पछि प¥यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन । दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई रोक्न नेपाल असफल रह्यो । दोस्रो हाफमा थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक बनाउन सक्यो ।
    समूह ‘बी’ रहेको थाइल्यान्डले ११ अंकको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोक्कामगरको कप्तानीमा नेपालले जित निकाल्न असफल भयो । समूह बी अन्तर्गत नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ ।
बक्सिङमा दर्लामी पराजित
जापानको नायोगामा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पराजित भएका छन् । 
    जापानको निशियो जिम्न्यासियममा आज सम्पन्न पुरुष ७० केजी तौल समूहको पहिलो चरणमा इराकका अलि कासिम हामदानअल–सारेसँग  दानबाहदुरले ५–० अंकले पराजित भएका हुन् । 
    उनीसँगै नेपालबाट बक्सिङमा सात खेलाडीले भाग लिएका हुन् । चन्द्रबहादुर थापा, खगेन्द्र रोक्का मगर, रबिन नेपाल, रमिसा श्रेष्ठ, अस्मिता तामाङ र कुसुम तामाङले अझै खेल खेल्न बाँकी छ ।
जुडो खेलाडीलाई बिदाइ
जुडो खेलाडी उत्पादन गर्दैै आएको बन्दी सहायता नियोग (पाम)ले २०औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीसहित जुडो टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।
    जापानको आइची÷नागोयामा यही असोज ३ गतेदेखि सुरु भएको एसियाडमा जुडोबाट समान तीन–तीन पुरुष र महिला खेलाडीले नेपालका तर्फबाट चुनौती पेस गर्नेछन् । जुडो भने असोज १४ गतेदेखि सुरु हुनेछ । टोली असोज १० गते जापान जाने तालिका छ । पुरुषतर्फ ६० किलोमुनि विकास विक, ६६ किलोमुनि विशेष विक र ९० किलोमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ५२ किलोमुनि देवकीमाया श्रेष्ठ, ४८ किलोमुनि निशा श्रेष्ठ र ७० किलोमुनि पुनम श्रेष्ठ सहभागी हुनेछन् ।
देवकी र विकासको यो दोस्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका पामले जनाएको छ । देवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । एसियाडमा सहभागी हुन सूचना प्रविधि विशेषज्ञ सुप्रसिद्ध ताम्राकार पनि जापान जानेछन् । पामबाट सफल जुडो खेलाडी उत्पादनमा गर्नमा पामकै कार्यकारी निर्देशक रहेका प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महŒवपूर्ण योगदान छ । सूर्यनारायणले पनि सन् १९९० मा चीनको बेइजिङमा भएको एसियाडमा प्रतिस्पर्धा गरेका थिए । टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान र देबु थापा, जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गरेका हुन् ।
नेपाल हङकङसँग पराजित
जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङकङसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।
    हङकङले नेपालमाथि पहिलो सेटमा २५–२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५–१९ ले आफनो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८–२६ को जित निकाल्यो । अब नेपालले ११औं स्थानका लागि मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्