नेभिगेशन
राजनीति

कांग्रेसको पालिका अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बुधबार देशैभर एकसाथ पालिका तहको अधिवेशन हुने भएको छ । गत शनिबार वडा अधिवेशन गरेको पार्टीले एकैसाथ पालिका अधिवेशन गर्न लागेको हो । 
बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा मंगलबार अधिवेशन सम्पन्न भएको छ भने मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार हुने पालिका अधिवेशनबाट हरेक पालिकामा ५ जना पदाधिकारी चयन हुनेछन् । जसमा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने वैधानिक प्रावधान छ । सदस्यहरूको हकमा भने पालिका कार्यसमितिमा प्रत्येक वडाबाट एक महिला र एक खुला, युवा क्लस्टरबाट एक महिला र दुई खुला, तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् ।
कार्यसमितिलाई पूर्ण समावेशी बनाउन गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था मिलाइएको छ । मनोनयन गर्दा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्