गत भदौ १० मा विदीर्ण मन, वेदना र रोदनले भरिएका आँखा, अनेकन पीडा अनि चपेटामा परेका ती बस्ती, विद्यालय, घर, चौपाया, मठ मन्दिर, धार्मिक सांस्कृतिक स्थल अझै बढी भौतिक क्षतिको के कुरा गरौँ । सहन पनि नसक्ने, घाउमा मलम पट्टीसम्म लगाउन नमिल्ने गरी तहस नहस भएका कठै ती बगेका लासहरू अनि एक मुठी सास जोगाउन हारगुहार गर्दै भागदौड गरिरहेका मानिसहरू ।
प्रकृतिको नियति कतिबेला के हुने हो कसैलाई थाहासम्म नभई संसारकै सर्वश्रेष्ठ अनि चेतनशील मानिएको मानव जगत्लाई पीडा दिन आइहाल्छ । हुन त प्रकृतिको के दोष सायद हामी मानव जगत्कै दुव्र्यवहारका कारण वा प्रकृतिमाथि गरिएको दुव्र्यवहारका कारण हामी आफैँ यसको शिकार बन्नु परिरहेको छ ।
प्रकृति तिमीमाथि भएको पीडा बुझ्दछु तर यति धेरै ठूलो घाउ अनि चोट र मानवमाथि बज्रपात किन ? अझै पनि हामीले प्रकृतिलाई सही ढङ्गले सोच्न, बुझ्न र चलाउन जानेनौँ भने अझै ठूलो बज्रपात भएमा कसैको गुनासो पनि रहने छैन । प्रकृति तिमी महान् छौ, तिम्रा ती अपरम्पार उपहार मानवका लागि अति आवश्यक मात्र होइन दैनिकी नै हुन् । तिमीबिना हामी कुनै कुराको कल्पनासम्म गर्न सक्दैनौँ । त्यसैले हामी प्रकृतिकै सन्तति हौं ।
बेला–बेलामा तिमीले रूप फे¥यौ, रिसायौ अनि बहुलायौ । हेर त आज हामी कति पीडाको दलदलमा परेर रोइरहेका छौँ, तिमीले सिंगो जगत् बनायौ, जगत्भित्र रगत बनायौ । आज त्यही रगतको मायाले वा नाताले कसैको रगत भेलसँग मिसिँदा कसैको रगत पीडाले जम्न लागिसक्यो । आज मानव जगत्ले आफ्नो ज्यादतीका कारण अनेकन अप्ठ्याराहरू कहिले बाढी, कहिले पहिरो, भूकम्प, हिमपात, आँधी थुप्रै प्राकृतिक प्रकोपको सामना गर्नु परिरहेको छ । यस्ता प्रकोपले हाम्रो भौतिक संरचना, मानवजातिको जीवन तहसनहससँगै अनेकन रहर अनि सपनाहरू अकालमा गुमाउनु परेको छ । अब त अति नै पीडा सहन पनि सकिएन । आमाबाबु, दाजुभाइ, आफन्त, छिमेकी अझ भनौँ धेरै ठाउँमा सिङ्गो बस्तीका बस्ती, गाउँ अनि सहर सबै बगरमा परिणत हुँदा भावविह्वल भई बोल्ने शब्दसम्म उच्चारण हुँदैन ।
अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कहिले कहाँ त कहिले कतै हरेक वर्ष हामीले ठूलो क्षति व्यहोर्नु परेको छ । जहाँ बज्रपात भए पनि हामी नेपालीले नै भोग्नुपर्ने अनि सहनुपर्ने ।
बाढीसँगै हजारौँ मानव शरीर छिनभरमै लासमा परिणत भई भेलसँगै बग्दै गर्दा हेर्ने, देख्ने धेरै मानिस भेटिए तर मानवता भेट्ने एकाध केही मानवहरू दुःखमा मलम लगाउन आतुर भए त कति बगेका लासमाथि सपना बुन्दै लासहरू उद्धार खोजिरहेको बेला, शरीर टुक्राटुक्रा भएर बग्दा सायद विरलैको मन खुसी भयो होला तर आज सायद कलियुग भनौँ या मानवीयता हराएको भनौँ बगेका लासमाथि सपना बुन्ने मान्छेहरू भेटिए । केही ग्यासका सिलिन्डर बटुल्दै, केही बाकस खोज्दै त केही गरगहनाहरू खोज्दै । अझ बढी विडम्बना त बगेका लासहरूको उद्धारमा उदारता नदेखाई गहना लुट्न सक्ने ती नरपिशाचरुपी मान्छेहरू । कसरी यो हदसम्म पुग्न सकेका ? आज यी यस्तै मानवकै दानवीय व्यवहारले गर्दा आफूलाई मानव भन्न पनि कता कता लाज लागिरहेछ ।
आखिर प्रकृति र यसको नियतिमाथि कसैको केही लाग्दैन । हामी जिम्मेवार बनौँ, यसको संरक्षण र यसमाथि भएका÷गरिएका मानवीय व्यवहार वा गतिविधिहरू बदल्यौं भने मात्र हामी सुरक्षित हुन सक्छौँ नत्र हाम्रो गुनासो अनि यी यस्ता विपद्मा नै हामी विलिन हुनुपर्नेछ । मानवमा मानवीयता अति नै आवश्यक छ । पीडामा मलम लगाउन सकिएन भने, आउने दिनमा अझ धेरै घाउहरू सहन तयार रहनुपर्नेछ । पिल्सिएका घाउ, बाढीसँगै बढारिएको सपना अनि पीडामा छटपटाउँदै बसेका छटपटीहरू पुनः दोहोरिन नदिन हामीले मानव भएर बाँच्न सिक्नु आजको आवश्यकता हो ।
(लेखक केसी समसामयिक विषयमा लेख्छन् ।)