नेभिगेशन
नेपाल

भारी वर्षाको सम्भावना

शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, जोखिमयुक्त तथा डुबान सम्भावित क्षेत्रमा नबस्न र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको हो । मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी भइरहेको जनाएको छ । साथै, सर्वसाधारणलाई त्रासमा नपरी उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 
यसैबीच, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले पनि मौसमी अवस्थाबारे जानकारी लिएका छन् । बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि भइरहेका पूर्वतयारीबारे जानकारी लिए । 
सो क्रममा महानिर्देशक श्रेष्ठले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको जानकारी गराएकी छन् । 
सम्भावित जोखिमलाई ध्यानमा राख्दै चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याइएको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले जानकारी दिए । उनका अनुसार सम्भावित प्रभावित जिल्लाका प्रशासन कार्यालयसँगै पर्यटन, यातायात, पूर्वाधारलगायत सम्बन्धित क्षेत्रसँग समन्वय गरी आवश्यक तयारी भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भारी वर्षाको सम्भावित अवधिमा नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान सम्भावित स्थानमा विशेष सावधानी अपनाउन  आग्रह गरेको छ । आइतबारदेखि मौसममा क्रमशः सुधार आउने अनुमान गरिएको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रमुख नदीमा बाढीको पूर्वानुमान अवधि ३ दिनबाट ५ दिन र साना नदीमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान २४ घण्टाबाट ४८ घण्टा पु¥याएको छ । केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार नेपालकेन्द्रित बाढी पूर्वानुमान मोडेलसहित विभिन्न विश्वव्यापी तथा क्षेत्रीय मोडेललाई एकीकृत गरी नयाँ प्रणाली सञ्चालनमा ल्याइएको छ । यसबाट बाढीको सम्भावित जोखिमबारे समयमै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता र प्रतिकार्यका लागि थप समय उपलब्ध हुने बताइएकोे छ ।
यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले मौसम प्रतिकूल हुने पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो । त्यस्तै, मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै