नेभिगेशन
नेपाल
मन्त्रीपरिषद विस्तार हुँदै

पाँचजनाको नाम पुग्यो राष्ट्रपति कार्यालय

5-mantri-1758500746.jpgकाठमाडौं, ५ असोज - प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ अनुहारलाई मन्त्रीमा सिफारिस गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन, तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियार र पत्रकार जगदीश खरेललाई मन्त्रीका रूपमा अघि सारेको हो । 

सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्‍य तथा आपूर्ति मन्त्रालय दुवैको जिम्मेवारी दिन लागिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको छ । न्याय क्षेत्रमा लामो अनुभव बोकेका उनी मन्त्रिपरिषद्मा प्रवेशको तयारीमा छन् । 

बैठकले स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्राको नाम सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयमै अतिरिक्त सचिव रहेकी उनले मन्त्री बन्ने सम्भावना देखेपछि जागिरबाट राजीनामा दिएकी छन् । अघिल्लो सरकारले बढुवा रोकेकोमा उनी असन्तुष्ट थिइन् ।

मन्त्रीको सिफारिसमा परेका महावीर पुन लामो समयदेखि वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सक्रिय छन् । उनले आविष्कार केन्द्र खोलेर प्रविधि क्षेत्रमा योगदान गर्दै आएका छन् । उनका कामहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएका छन् । पछिल्लो समय आफ्नो जीवनी बेचेर हिडिरहेका उनले केही दिनअघि आफूलाई सरकारमा सामेल हुने निम्तो आएको संकेत गरेका थिए । 

डा. मदन परियार भने तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहिसकेका छन् । उनी संघीयता, प्रशासनिक सुधार र नीति निर्माणमा लामो अनुभव राख्छन् । पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने छन् भने परियारले कृषि मन्त्रालयको नेतृत्व गर्नेछन् । 

प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्रीका लागि पत्रकार जगदीश खरेलको नाम पनि सिफारिस गरेकी छिन् । इमेज टिभीका समाचार प्रमुख खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर हुन् । पाँच जनाको नाम सिफारिस भएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन् ।

प्रधानमन्त्री कार्कीले यसअघि ऊर्जा मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिएकी छन् भने ओमप्रकाश अर्याललाई कानून र गृहमन्त्रालयको नेतृत्व दिएकी छन् । 

आइतबारको निर्णयसँगै मन्त्रिपरिषद्मा नयाँ अनुहार थपिदै गर्दा सरकारलाई पूर्णता दिने तयारी भएको देखिएको छ । नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस भइसकेकाले बीचमा कुनै व्यवधान नआए औपचारिक नियुक्ति र शपथपछि उनीहरूले जिम्मेवारी सम्हाल्नेछन् । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सदस्य थप्ने निर्णय सिफारिस गरेर पठाइसकेको छ । नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्