काठमाडौं । नेपाली कांग्रेसले असोज १० का लागि तोकिएका प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर गर्न मातहतका समितिलाई निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन जारी गरिएको हो ।
‘मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र गरिसक्नेगरी त्यहाँको अनुकूलतामा आवश्यक व्यवस्था मिलाउन निर्देश गरिन्छ,’ कांग्रेस निर्वाचन समितिले भनेको छ ।
त्यस्तै, निर्वाचन समितिले ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । १५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ–नगर अधिवेशन सम्पन्न हुने क्रममा छ ।
यसैबीच, कांग्रेसले १५औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । कांग्रेसले सामाजिक सञ्जाल फेसबुकमार्फत नारा र लोगो सार्वजनिक गरेको हो । नेपाली कांग्रेसको १५औं महाधिवेशन– ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस’ अबको विकल्प भन्ने नारा तय गरिएको छ ।
लोगोमा बीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ । कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुनेछ ।
देउवा समूहले पनि खटायो जिल्ला प्रतिनिधि
समानान्तर महाधिवेशनको तयारीमा रहेका पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले आफू पक्षधरको महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेका छन् । देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको छ । असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
डा. कोइरालाले संयोजकका रूपमा ७७ मध्ये ७६ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएका छन् । रुकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन । कोशी प्रदेशका ताप्लेजुङमा प्रतापप्रकाश हाङगाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
त्यस्तै, झापामा कृष्ण हुमागाईं, संखुवासभामा पूर्वऊर्जामन्त्री दीपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागो, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा शुभराम बस्नेत, खोटाङमा सरस्वती बजीमय, ओखलढुंगमा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्की केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
मधेस प्रदेशमा सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेशप्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो. मुख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपाने प्रतिनिधि छन् ।
बागमती प्रदेशमा दोलखामा कुन्दनराज काफ्ले, रामेछाप पूर्णमान तामाङ (कान्छाराम), सिन्धुलीमा सरोजकुमार थापा, रसुवामा बालचन्द्र शर्मा, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुव अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाई, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौ.मा कल्याणी रिजाल केन्द्रीय प्रतिनिधि छन् ।
गण्डकी प्रदेशमा गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्राडा राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषि काफ्ले, बागलुङमा जीत शेरचन र नवलपुरमा गुरु बराल प्रतिनिधि तोकिएका छन् ।
लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्व दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वर सिंह विष्ट, दाङमा गोपाल राज शर्मा बाँकेमा सुदीप नरसिंह राणा र बर्दियामा जग्गा पाण्डे केन्द्रीय प्रतिनिधि बनाइएका छन् ।
कर्णाली प्रदेशमा रुकुम पश्चिममा बाहेक अन्यत्र केन्द्रीय प्रतिनिधि तोकिएको छ । सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतवहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाही केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन तामाकार, अछाममा कविराज पण्डित, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणि भट्ट, डडेलधुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशी, तोकिएका छन् ।