नेभिगेशन
राजनीति
यूएनभन्दा वासिङ्टनतिर विश्वको नजर

ट्रम्प–सी भेट नयाँ शक्ति सन्तुलन !

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा विश्वका अधिकांश राष्ट्राध्यक्ष र सरकार प्रमुख न्यूयोर्कमा भेला भइरहेका बेला विश्व राजनीतिका दुई प्रमुख शक्ति अमेरिका र चीनका नेताबीच भने वासिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गर्दै आयोजना गरेको यो भेटले अमेरिका–चीन सम्बन्धको आगामी दिशा मात्र होइन, विश्व कूटनीतिको शक्ति–सन्तुलनबारे पनि बहस चर्काएको छ ।
सी तीनदिने राजकीय भ्रमणका क्रममा बुधबार वासिङ्टन पुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनबाहिरको जोइन्ट बेस एन्ड्रयुजमा विमानबाट ओर्लनेबित्तिकै आफैं उपस्थित भएर स्वागत गरे । अमेरिकी राष्ट्रपतिले विदेशी नेताको विमानस्थलमै पुगेर स्वागत गर्ने यस्तो औपचारिकता दुर्लभ मानिन्छ । लामो रातो कार्पेट, सैनिक सम्मान र औपचारिक आतिथ्यसहित गरिएको उनको स्वागत सामान्य कूटनीतिक आतिथ्यभन्दा बढी प्रतीकात्मक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रोयटर्सका अनुसार ट्रम्पले सीका लागि गरेको यो स्वागतमा सम्बन्ध सुधारको सन्देश दिन खोजिएको देखिए पनि दुई मुलुकबीच व्यापार, प्रविधि, ताइवान र इरानलगायत विषयमा गहिरो मतभेद कायमै छन् । 
सीको यो भ्रमण एक दशकभन्दा बढी समयपछि भएको पहिलो वासिङ्टन भ्रमण हो । ट्रम्प र सीबीच यस वर्ष दोस्रोपटक शिखर वार्ता हुँदैछ । उनीहरूको यस वर्षको भेटलाई लिएर विश्वको ध्यान त्यतिबेला वासिङ्टनतिर खिचिएको छ, जतिबेला संयुक्त राष्ट्रसंघको ८१औं महासभा न्यूयोर्कमा चलिरहेको छ । रोयटर्सले यसलाई विश्व राजनीतिका दुई ठूला शक्ति केन्द्रबीचको प्रत्यक्ष संवाद र यूएनमा भइरहेको बहुपक्षीय कूटनीतिबीचको असामान्य समानान्तर गतिविधिका रूपमा प्रस्तुत गरेको छ । 
सीले महासभामा सहभागी हुन न्यूयोर्क जानुभन्दा ट्रम्पसँग प्रत्यक्ष वार्तालाई प्राथमिकता दिएको विषय पनि कूटनीतिक वृत्तमा चर्चामा छ । अन्तर्राष्ट्रिय संकट समाधान, युद्ध अन्त्य, जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताको विश्वव्यापी नियमनजस्ता विषयमा यूएनको भूमिका कमजोर हुँदै गएको बहस भइरहेका बेला दुई शक्तिशाली राष्ट्रका नेताबीचको प्रत्यक्ष वार्ताले अर्को प्रश्न उठाएको छ, विश्वका ठूला निर्णय बहुपक्षीय संस्थामार्फत हुन्छन् कि शक्तिशाली मुलुकका नेताबीचको प्रत्यक्ष सहमतिबाट ?
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले पनि यही पृष्ठभूमिमा ट्रम्प–सी भेटलाई विशेष महŒव दिएको छ । उसका अनुसार यस वर्ष यूएन महासभामा विश्वका नेताहरूले युद्ध, आर्थिक संकट र अन्तर्राष्ट्रिय व्यवस्थाका चुनौतीबारे छलफल गरिरहँदा वासिङ्टनमा हुने ट्रम्प–सी वार्ताले तत्कालका धेरै विश्वव्यापी प्रश्नमा प्रभाव पार्न सक्छ । 
तर वार्ताको मुख्य विषय अमेरिका–चीन आर्थिक सम्बन्ध नै रहने देखिएको छ । दुवै देशले गत वर्षदेखि जारी व्यापार युद्धलाई केही समयका लागि रोक्ने सहमति गरेका थिए । यही व्यापारिक अस्थायी सहमतिको अवधि थप दुई महिना बढाइएको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन् । नोभेम्बर १० मा समाप्त हुने भनिएको व्यापारिक युद्धविरामलाई थप समय दिँदै ठूलो व्यापार सम्झौताका लागि वार्ता जारी राख्ने सहमति भएको छ । 
व्यापार युद्धविराम विस्तार भए पनि अमेरिका र चीनबीचको आर्थिक प्रतिस्पर्धा समाप्त भएको छैन । अमेरिकी बजारमा चिनियाँ वस्तुको प्रवेश, चिनियाँ दुर्लभ खनिज तथा धातुको निर्यात, अमेरिकी कृषि उत्पादनको चीनतर्फ बिक्री र बोइङ विमान खरिदजस्ता विषय वार्ताका महŒवपूर्ण एजेन्डा छन् । रोयटर्सका अनुसार चीनले अमेरिकाबाट ठूलो परिमाणमा कृषि उत्पादन खरिद गर्ने र बोइङका विमान खरिद गर्ने प्रतिबद्धता पूरा गर्नुपर्ने विषय पनि अझै टुंगिएको छैन । 
दुर्लभ खनिज अर्को संवेदनशील विषय हो । आधुनिक विद्युतीय उपकरण, विद्युतीय सवारी, रक्षा प्रविधि र उच्च प्रविधि उद्योगमा आवश्यक पर्ने दुर्लभ खनिजको विश्वव्यापी आपूर्तिमा चीनको ठूलो प्रभाव छ । अमेरिकाले चीनमाथिको निर्भरता घटाउन खोजिरहेको भए पनि आगामी केही वर्षसम्म चीनबाट आपूर्ति हुने दुर्लभ खनिजको महŒव कायमै रहने रोयटर्सको विश्लेषण छ । 
वार्ताको अर्को प्रमुख विषय कृत्रिम बौद्धिकता अर्थात् एआई बन्नेछ । अमेरिका र चीन अहिले अत्याधुनिक एआई प्रविधिको विकासमा तीव्र प्रतिस्पर्धामा छन् । एआई चिप, उच्चस्तरीय कम्प्युटिङ प्रविधि र प्रविधि हस्तान्तरणमा अमेरिकाले लगाएका प्रतिबन्धप्रति चीन असन्तुष्ट छ । अर्कोतर्फ अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी प्रविधि तथा एआई क्षमता हासिल गर्ने विषयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै आएको छ । एपीका अनुसार दुवै मुलुक एआईमा प्रतिस्पर्धी भए पनि गलत बुझाइबाट संकट उत्पन्न नहोस् भन्ने उद्देश्यले संवाद कायम राख्न चाहन्छन् । 
ताइवानबारेको सरोकार पनि वार्ताबाट अलग रहने छैन । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सैन्य सहयोग गर्दै आएको छ । सीको वासिङ्टन भ्रमणकै पूर्वसन्ध्यामा चिनियाँ रक्षा मन्त्रालयले ताइवानलाई हतियार बिक्री गर्दा अमेरिकाले ‘अत्यन्त सावधानी’ अपनाउनुपर्ने चेतावनी दिएको छ । यसले ताइवानको प्रश्न अझै पनि दुई देशबीचको संवेदनशील सुरक्षा मुद्दामध्ये एक रहेको देखाएको छ । 
यूएनको अन्तर्राष्ट्रिय संकट समूहका निर्देशक रिचर्ड गोवनले भनेका छन्, 
‘सीको न्यूयोर्कको महासभाभन्दा वासिङ्टनलाई प्राथमिकता दिनु विशेष रूपमा उल्लेखनीय छ ।’ उनका अनुसार यसले बहुपक्षीय कूटनीति र शक्तिशाली राष्ट्रबीचको प्रत्यक्ष वार्ताबीचको बढ्दो अन्तरलाई देखाउँछ ।
चीनका लागि पूर्व अमेरिकी राजदूत जोन हन्ट्सम्यानले भनेका छन्, हामी समाधान खोज्नेछौँ भन्ने होइन, तर समाधान खोज्न एउटै टेबलमा बस्नु नै सकारात्मक कुरा हो ।’ हन्ट्सम्यानले संवाद टुट्दा दुई देशले एकअर्काको सबैभन्दा खराब आशंका गर्न थाल्ने भन्दै नियमित सम्पर्क आवश्यक रहेको बताएका छन् ।
यसपटक अमेरिका–चीनबीच इरानको विषय पनि वार्तामा प्रवेश गर्ने सम्भावना छ । मध्यपूर्वमा जारी युद्ध र अमेरिकाको इरानसँगको तनावका कारण चीनको भूमिका वासिङ्टनका लागि चासोको विषय बनेको छ । अलजजिराका अनुसार ट्रम्प–सी भेटमा व्यापार, एआई र इरान प्रमुख एजेन्डा बन्न सक्छन् । 
यद्यपि यस भेटबाट तत्काल ठूलो सम्झौता वा ऐतिहासिक सहमति हुने अपेक्षा कम छ । रोयटर्सले दुवै नेताको मुख्य उद्देश्य सम्बन्धलाई थप बिग्रन नदिने र व्यापार युद्धविरामलाई निरन्तरता दिने रहेको उल्लेख गरेको छ । एपीले पनि विगतका सहमति कार्यान्वयनमा अझै धेरै काम बाँकी रहेको जनाएको छ । 
त्यसैले वासिङ्टनमा भइरहेको ट्रम्प–सी भेटलाई तत्कालीन समस्या समाधान गर्ने वार्ताभन्दा पनि दुई प्रतिस्पर्धी शक्तिबीच सम्बन्धलाई नियन्त्रणभित्र राख्ने प्रयासका रूपमा हेर्न सकिन्छ । व्यापार, एआई, दुर्लभ खनिज, ताइवान र इरानजस्ता विषयमा मतभेद रहे पनि संवादको ढोका खुला राख्नु दुवै पक्षको प्राथमिकता देखिन्छ ।
यसबीच यूएन महासभाले बहुपक्षीय सहकार्य, युद्ध अन्त्य र विश्वव्यापी एआई शासनको आवश्यकता औंल्याइरहेको छ । महासचिव एन्टोनियो गुटेरेसले आफ्नो अन्तिम महासभा सम्बोधनमा एआईको जोखिम व्यवस्थापन, युद्ध अन्त्य र यूएन सुधारको आवश्यकता औंल्याएका छन् । 
न्यूयोर्कमा विश्वका राष्ट्रहरू बहुपक्षीय संस्थाको भविष्यबारे छलफल गरिरहँदा वासिङ्टनमा अमेरिका र चीनका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता हुनु आफैंमा बदलिँदो विश्व व्यवस्थाको संकेत बनेको छ । यसको अर्थ यूएनको भूमिका समाप्त हुँदैछ भन्ने होइन । तर विश्व अर्थतन्त्र, प्रविधि र सुरक्षामा अमेरिका र चीनको प्रभाव यति गहिरो छ कि उनीहरूबीचको प्रत्यक्ष सहमतिले विश्वका अन्य मुलुक र बहुपक्षीय संस्थाका निर्णयलाई समेत प्रभावित गर्न सक्छ । यही कारण अहिले विश्वको कूटनीतिक नजर न्यूयोर्कको महासभा हलसँगै वासिङ्टनको ह्वाइट हाउसमाथि पनि केन्द्रित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्