नेभिगेशन
दृष्टिकोण

इन्द्रजात्राको सांस्कृतिक महत्व

हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । नेवारहरूको आफ्नैपनको मौलिक संस्कृति र परम्परा रही आएको छ, जुन नेवारहरूको पहिचान पनि हो । नेवारहरूको मौलिक संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति हुँदै आएकाले संसारमै परिचित हुन गई प्रख्यात पनि भइरहेको छ । 
आठ दिनसम्म मनाइने इन्द्रजात्रामा उपत्यकाको वातावरण साँच्चिकै स्वर्ग झैं भइरहन्छ । एकातिर देवताका पनि राजा देवराज इन्द्रलाई पारिजात फूल चोर्ने चोर भन्दै डोरीले बाँधेर मरु टोलका सिंहसत्तल अगाडि दोबाटोमा जात्रा गरी राखेको हुन्छ भने अर्कोतिर इन्द्रकी आमा दाँगी पनि छोरालाई खोज्न आइरहेकी हुन्छिन् । त्यस्तै जीवित देवी देवता गणेश, भैरव र कुमारीमो रथयात्रा पनि भइरहेको हुन्छ । इन्द्रलाई खोज्न आएका इन्द्रको हात्ती ऐरावतलाई यहाँका मानिसहरूले पुलुकिसीका नामले नचाइरहेका हुन्छन् । 
काठमाडौ, भक्तपुर र ललितपुरका टोल टोलमा हाथुद्यः (भैरव) देवताका साथै विभिन्न देवताहरू पनि प्रदर्शन गरी राखेको हुन्छ । यसका साथै घर घरका झ्यालहरूमा दलूमत (दियो) बालेर झुण्डयाई राखेको हुन्छ । भक्तपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा विभिन्न किसिमका देवीनाच र पुलुकिसी ऐरावत हात्तीलाई पनि नचाइरहेको हुन्छ । काठमाडौंमा इन्द्रलाई बाँधेर जात्रा गरिएझैं भक्तपुरमा भने इन्द्रका छोरा जयन्तलाई पनि पारिजातको फूल चोरेको भन्दै बाँधेर जात्रा गरिराखेको हुन्छ । 
ललितपुरमा भने अलि बेग्लै किसिमले इन्द्रजात्रा मनाउने गरिन्छ । ललितपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा टोलटोलमै हाथुद्यः भैरवको प्रदर्शन गरी दलुमत (दियो) घर घरकै झ्यालमा झुण्ड्याएर बालिरहेको हुन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन जुन दिन समे पुन्ही भनी घरैपिच्छे समेबजी खाने र खुवाउने गरिन्छ । यो दिन समे पूर्णिमा मनाउने भन्दै केटाकेटीहरूले तिहारमा भैलो मागे जस्तै घर–घरमा गई ला छकू वयेक समेबजी (छ्वयला मासु आउने गरी चिउरा देउ) भन्दै माग्ने गर्छन् । 
काठमाडांै उपत्यकाका सबै रमणीय दृश्यहरू हेर्दा यो संसारमा कतै स्वर्ग छ भने यहीं मात्र छ भन्ने लागिरहेको हुन्छ । स्वर्गका सम्पूर्ण देवताहरू पनि स्वर्गमा समेत कहिल्यै देख्न नपाएको यस्तो दृश्य देखेर अचम्म मानी हेरिरहेका हुन्छन् । यहाँका मानिसहरूले पनि स्वर्गको आनन्द लिएर आफ्नैपनले जात्रा मनाइरहेका हुन्छन् । इन्द्रजात्रा र कुमारीको रथयात्रा किन गर्नुप¥यो ? भन्ने कुरा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । 
एकपटक देवताका पनि राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गर्न आवश्यक पारिजात फूल स्वर्गमा नभएकाले खोजेर ल्याऊ भनेकाले काठमाडांैमा आई इन्द्रले भिमसेन टोलको ख्यः क्यबः बारीमा पारिजात फूल टिपिरहँदा जग्गाधनी ज्यापुले देखेर इन्द्रलाई चोर भन्दै डोरीले बाँधेर सबैलाई देखाउन आठ दिनसम्म मरु टोलको सिंहसत्तलअगाडि दोबाटोमा प्रदर्शन गरी राखेको हुन्छ । इन्द्रलाई खोज्न आएको इन्द्रको हात्ती ऐरावतलाई यहाँका मानिसहरूले पुलुकिसी भन्दै यताउता घुमाउँदै नचाउन थाले । उता स्वर्गमा इन्द्रकी आमाले इन्द्र फर्केर नआउँदा इन्द्रका छोरा जयन्तलाई पारिजातको फूल ल्याउन अह्राउछिन् । जयन्तले भने भक्तपुरमा आई पारिजात फूल टिप्न खोज्दा जग्गा मालिक ज्यापुले जयन्तलाई चोर भन्दै डोरीले बाँधेर दोबाटोमा प्रदर्शन गरी राखेको हुन्छ । जयन्तलाई खोज्न आएका जयन्तको हात्ती ऐरावतलाई पनि भक्तपुरका मानिसहरूले समातेर नचाउँदै नगर परिक्रमा गराइरहन्छन् । 
स्वर्गमा पारिजात फूल इन्द्रले ल्याउला भनी पर्खी बसेकी इन्द्रकी आमाले नाती जयन्तलाई पठाउँदा पनि पारिजात फूल नल्याएकाले यी दुवै बाबुछोरा कता हराए भनी खोज्न आउँदा यस कान्पिुरी नगरीमा इन्द्रलाई डोरीले बाँधी चोर भनी राखेको देख्छिन् । अनि इन्द्रकी आमा दांगीले आफ्नो र इन्द्रको पहिचान गराएर ज्यापुसँग माफी माग्छिन् र किसानहरूलाई धान पकाउन कुइरो दिने र मृतकहरू सबैलाई सुगतिमा पारिदिने बचन दिन्छिन् । तर यहाँका मानिसहरूले पत्याएनन् । स्वर्गका राजा इन्द्र र तपाईं आमा हुनुहुन्छ भने हामीलाई हाम्रा दिवंगत बाबुबाजेलगायत सबैलाई स्वर्गमा भेटाइदिनुहोस भन्छन् । इन्द्रकी आमा दांगीले पनि ‘तिमीहरूका दिवंगतहरूलाई स्वर्गमा गई भेट्ने इच्छा भएका सबैले सत्बीज लिएर मेरो खास्टोको फेरो एक जनाले समाउनु र उसको खास्टोको फेरो अर्कोले समाउनु । यसरी सबैले एकआपसको खास्टोको फेरो समातेर लहरै मिलेर सत्बीज छर्दै मेरो पछि–पछि आउनु । मरिसकेपछि स्वर्गमा पुगेका आफन्तहरूलाई भेट्नु । यसपछि सत्बीजमा टेक्दै फर्कनु । फर्किसकेपछि थानकोटको इन्द्रदहमा नुहाएर घरमा जानु ।’ इन्द्रकी आमा दांगीले यति भनेपछि इन्द्रलाई सम्मानसाथ डोरी फुकाली छोडिदिएपछि कान्तिपुरका दिवंगत भएका घरपरिवारमध्ये एक–एक जनाले दांगीले भने जस्तै एक जनाले दांगीको खास्टोको फेरो समाउँछन् र उसले अर्कोको उसले उसको खास्टोको फेरो समाएर सत्बीज छर्दै स्वर्गमा पुग्छन् र आफना दिवंगत आफन्तहरूको अनुहार हेरेर स्वर्गका राजा इन्द्रलाई सत्कार गरी फर्केका रहेछन् । त्यसबेलादेखि इन्द्रजात्राका बेलामा नेवारहरूले दिवंगत भएका घरका आफन्त सुगतिमा परुन् भनी दांगी जाने चलन चलेको हो । यसैको स्मरण स्वरूप नेवारहरूले काठको दुवै हात फैलाएको इन्द्रको मूर्ति बनाई डोरी बाँधेर इन्द्रजात्रा मनाउने गरेको पाइन्छ । यो चलन लिच्छविकालीन राजा गुणकामदेवले चिकंमुगलको अट्कोनारायण अगाडि इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा मनाउने चलन चलाएका हुन भनिन्छ । पछि राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्वतलाई युद्धमा हराएको खुशीयालीमा दरबार नजिकै रहेको कालभैरवको सामुन्ने इन्द्रध्वज ठड्याएर मनाउन थालेको हो भनिन्छ । 
भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा शुरु गरिन्छ । इन्द्रध्वज ठड्याउन चाहिने ३२ हात लामो गोलो रुख भक्तपुर र काभ्रेको बीचमा रहेको चित्तपोलको जंगलबाट ल्याउनुपर्दछ । यसरी इन्द्रध्वजको रुख ल्याउन काठमाडौंका साल्मी मानन्धर र ठिमीका मानिसहरू मिलेर वनमा गई बोका बलि दिएर रुख काटेर ल्याउनुपर्छ । रुख काट्नुअघि कुन रुख काट्ने हो भनी निर्णय गर्न पनि बलि दिन लगेको बोकालाई नै त्यहाँ छोडिन्छ । बोकाले जुन रुखलाई हान्छ त्यही रुखमा बोकाको बलि दिएर इन्द्रध्वजको रुख भनी काटेर ल्याइन्छ । 
इन्द्रको नाममा इन्द्रध्वजोत्थान भनी ३२ हात लामो लिङ्गो रुख ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँछन् अनि ब्याण्ड बाजा पनि बजाउँछन् साथै मालश्री धुन पनि बजाई वातावरण नै रमाइलो पारिएको हुन्छ । इन्द्रको प्रतीकका रूपमा काठको इन्द्रको मूर्ति बनाई इन्द्रचोक, मरु, नरदेवी, किलागल, ज्याबहाल, ब्रम्हटोलका साथै विभिन्न टोलमा प्रदर्शन गरिन्छ । इन्द्रध्वजको लिङ्गो ठड्याउने दिन भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ दिनसम्म काठमाडौ, ललितपुर र भक्तपुरका नेवारहरूले विभिन्न स्थानमा हाथुद्यः भैरवका साथै विभिन्न देवताहरू प्रदर्शन गरेर दलुमत (दीयो) घरघरका झ्यालमा झुण्ड्याएर बाल्छन् । भाद्र शुक्ल द्वादशीकै दिन दिवंगतहरूका आफन्तहरूले उपत्यकामा भएका विभिन्न देवी देवता र चैत्यहरूमा पालामा बत्ती बालेर बलेको धूप पनि समाई उपाकु जाने भन्दै दिवंगतहरूको आत्मा शान्तिका लागि प्रार्थना गर्दै नगर परिक्रमा गर्दछन् । 
यही दिन मध्यरातमा इन्द्रचोकका आजुद्यः आकाश भैरवलाई मन्दिर अगाडि मञ्च बनाई प्रदर्शनका लागि राखिन्छ । यो दिनदेखि हल्चोकका सवःभकु भैरव, किलागलको पुलुकिसी र देवी नाच, मजिपाटको लाखे, कुम्हाननीको देवी नाच, भक्तपुरको महालक्ष्मी नाच र बाँदर नाचका साथै दश अवतार नाच पनि प्रदर्शन गरिन्छ । 
इन्द्रचोकमा प्रदर्शनका लागि राखिने आजुद्यः आकाश भैरव किराती राजा यलम्बर हुन् । पाँच हजार वर्षअघि हिन्दुस्थानको कुरुक्षेत्रमा हुन लागेको महाभारत युद्ध हेर्न राजा यलम्बर गएका रहेछन् । महाभारत युद्ध हुने मैदान कुरुक्षेत्रमा गएर राजा यलम्बर एक्लै यताउता हेर्न थालेछन् । महाभारत युद्ध हुने घोषणा भएकै थिएन । भगवान् श्रीकृष्णको मनमा मात्र थियो महाभारत युद्ध हुन्छ भन्ने तर एक्कासी यो किराती कहाँबाट र किन यो युद्ध मैदानमा आइपुग्यो भनी हेर्न र बुझ्न स्वयं श्रीकृष्ण जाँदा राजा यलम्बरले आफ्नो परिचय दिँंदै पाण्डव र कौरवमध्ये जुन पक्षले हार्छ उसैको पक्षमा युद्ध लड्छु भने । महाभारत युद्ध हुने कुरा पत्ता लगाएर यहाँ आउने यलम्बर यति शक्तिशाली थिए कि उनले जसको पक्षमा युद्ध लड्छन् उसैको जित हुन्छ तर हार्नेको मात्र साथ दिइरह्यो भने त महाभारत युद्ध कहिल्यै पनि नसकिने भन्ने ठानी श्रीकृष्णले छल गरी सुदर्शन चक्रले यलम्बरको टाउको काटिदिएछन् । महादेवको अंश भएका राजा यलम्बर आफैं तान्त्रिक पनि भएकाले तन्त्रको शक्तिले आफ्नो टाउको जीवितै राखी आकाशबाटै महाभारत पूरै हेरेर आकाश मार्गबाट आफ्नो देशमा फर्केका रहेछन् । यसरी आकाश मार्गबाट उडेर आएकाले आकाश भैरव भनी मान्ने गरिएको हो । काठमाडौंवासीहरूले आफना राजाको सम्मानमा मन्दिर बनाई इन्द्रचोकमा राजा यलम्बरको टाउको झरेर सिद्ध भएको स्थानमै स्थापना गरी आजुद्यःका रूपमा मान्दै आएको छन् । यही दिनको स्मरणमा हरेक वर्ष आजुद्यः आकाश भैरवको टाउको मूर्ति र अर्कोतर्फ बाकाःद्यः भनी आजुद्यःका मित्रको टाउकोको मूर्ति पनि तान्त्रिक विधिबाट पूजा गरी सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको छ । 
बडा दशैं चाड नजिकै आइरहेको समयमा पर्ने यो जात्रा निकै रमाइलो हुन्छ । भाद्र शुक्ल अनन्त चतुर्दशीका दिन जीवित कुमारी रथयात्राको पहिलो दिन वसन्तपुर गद्दी बैठकमा राष्ट्र प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि एवं विशिष्टि व्यक्तिहरूको उपस्थितिमा कुमारीको रथयात्रा चलाइन्छ । साथै जीवित गणेश र भैरवका रथयात्रा पनि गरिन्छ । यही समयमा मजिपाः लाखे, सवःभकु र दश अवतार, महालक्ष्मी र पुलुकिसीको नाच पनि नचाइन्छ । कुमारीको रथयात्रा सकिएपछि दांगीलाई थःने, क्वःने अर्थात माथिल्लो टोल र तल्लो टोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतीकका रूपमा मरु टोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दांगीलाई धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दांगीको पछिपछि लाग्दै काठमाडांैका नेवारहरूले सोही वर्षमा दिवंगत भएका आफन्तहरूको नाममा नौथरी गेडागुडीसहितको सत्बिज बाटोभर छर्दै हिंँड्छन् । यो दिन स्वर्ग जाने बाटो मानिएको थानकोटको इन्द्रदहमा मेला लाग्छ । 
भाद्र शुक्ल पूर्णिमाका दिनलाई यँयाः पुन्ही भनिन्छ । समे पुन्ही भनिने यो दिन नेवारहरूले घरै पिच्छे छ्वयला, लसुन, अदुवा, कालो भटमास राखेर समेबजी खाने र बाँड्ने चलन छ । घरैपिच्छे केटाकेटीहरूले ‘ला छकू वयेक समेबजी, वलवल पुलुकिसी’ भन्दै समेबजी माग्न जाने चलन छ । समेबजी माग्ने क्रममा पुलुकिसी पनि टोल टोलमा जाने गर्दछ । 
यसै दिन कुमारी रथ यात्राको दोस्रो दिन थःने याः माथिल्लो टोलको जात्रा मनाइन्छ । थःने याः गरिदां पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्यःखा, बांगेमुढा, न्ह्य्कंतल्ला, असन, केलटोल, इन्द्रचोक, मखन हुँदै वसन्तपुरमा पु¥याएर रथयात्रा सकाइन्छ । यसरी थःने याः माथिल्लो टोलमा रथयात्रा गरिरहँदा बांगेमुढा र इन्द्रचोकमा दी प्याखं देवी नाच नचाइरहेको हुन्छ । 
आश्विन कृष्ण चौथीका दिन नानीचा याः भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचा याःलाई दथुयाः अर्थात बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेंडासिं, इन्द्रचोक, मखन र हनुमानढोका दरबार हुँदै वसन्तपुर पुगेपछि नानीचा याःको समापन गरिन्छ । यही दिन इन्द्रध्वज विर्सजन गर्ने भन्दै लिङ्गो ढालेर टेकु दोभानमा लगेर विसर्जन गर्नेबित्तिकै इन्द्रजात्रा सकिन्छ । 
स्मरण रहोस, नेवारहरूको आफ्नो धर्म, संस्कृति र परम्परा चलाउँदै आएको राज्यमा गोरखाका राजा पृथ्वीनारायण शाह आई ने.सं. ८८८ मा काठमाडौमा इन्द्रजात्रा मान्दै कुमारीको रथयात्रा गरी रमाइलोसँग जाँड रक्सी खाई चाड मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपालमण्डल जितेका हुन् । पृथ्वीनारयण शाहले नेवारी संस्कृतिलाई नमानी यहाँ शासन गर्न अप्ठेरो पर्ने कुरा बुझेर नेवारी संस्कृति, चाडबाड र जात्रा सवै जस्तो छ, त्यस्तै मान्ने बचन दिएकाले आजसम्म पनि कुमारीको रथयात्रा चलाउँदै आएको हो ।
(लेखक डंगोल धर्म संस्कृतिका  जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्