आँधिखोला किनारमा जन्मेकाले उसको नाम आँधिखोले रहेको होइन । आठ नौ महिनाको थियो रे ऊ, बाबुको दिमागमा खै के आयो छोराको नाम आँधिखोले राखिदिए ! त्यस दिनदेखि ऊ आँधिखोले नामले चिनिन थाल्यो ।
आँधिखोले गरिब परिवारमा जन्मेको थियो । आँधिखोले आजीवन निरक्षर रह्यो । वरपीपलको चौतारोमुनिको छाप्रोमा बाबुआमासँगै बस्थ्यो आँधिखोले । आँधिखोले र आँधिखोलेका बाबु सामाजिक वा राजनीतिक हैसियत प्राप्त ‘बडा’ थिएनन् ।
लेखनाथ पौडेलले ‘नैतिक दृष्टान्त’मा लेखेका छन्– ‘बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित !’ जन्तुमा ‘बडा’ ह्वेल माछा । जातमा बडा ‘ब्राह्मण’ ! ‘बडालाई चैन, सानालाई ऐन !’ बडासँग कानून पनि त्राहिमाम हुन्छ । संविधान बडाको गेटकिपर बन्न तयार हुन्छ । वर्ण व्यवस्थाले सदियौँदेखि बडाहरूलाई उच्च सम्मान र स्यालुट टक्र्याउँदै आएको छ ।
वर्ण व्यवस्थामा मानिसको जात जन्मका आधारमा निर्धारित हुने गर्दछ । ऋग्वेदको पुरुष सूक्त भन्छ, ‘ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षेत्री, पेटबाट वैश्य अनि खुट्टाबाट शूद्र पैदा भए ।’ मनुस्मृतिले मानिसको शरीरमा नाइटो (नाभी) भन्दा माथिको भागलाई पवित्र र त्योभन्दा मुनिको भागलाई अपवित्र मानेको छ । त्यसमा पनि मुख सबैभन्दा पवित्र ! ब्राह्मणहरू सबैभन्दा चोखो अङ्ग मुखबाट जन्म लिएका रे ! त्यसैले उनीहरू कर्मकाण्ड चलाउन, पुजारी बन्न लायक भए ! अनि शरीरको सबैभन्दा तलको भाग पैतालाबाट उत्पत्ति भएकाले शूद्रको काम द्विजातिको सेवा गर्ने तोकियो ! ‘एकमेव तु शूद्रस्य प्रभुः कर्म समादिशत् । ऐतेषामेव वर्णानां शुश्रूषामनसूयया ।।’ मनुस्मृतिले यो पनि भनेको छ !
विद्वान्हरू पूर्व वैदिककालमा वर्ण विभाजन नभएको बताउँछन् । हिन्दु समाजमा तीन हजार वर्षभन्दा पहिलेदेखि वर्णमा आधारित जाति प्रथा चलनचल्तीमा रहेको छनक मिल्दछ । एकथरी मानिस जाति प्रथाको सुरुवात युरोपबाट इरानको बाटो गंगा र सिन्धु मैदानमा आई बस्ने आर्यहरूबाट भएको र पछि भारत हुँदै नेपाल भित्रिएको बताउँछन् । तर अर्काथरी चाहिँ ‘जाति प्रथाको उत्पत्तिलाई युरोपबाट इरानको बाटो हुँदै गंगा र सिन्धु मैदानमा आई बस्ने आर्यहरूसँग जोड्नुभन्दा दक्षिण एसियाको सामाजिक र धार्मिक विकासक्रमसँग आबद्ध गरेर बुझ्नुपर्छ’ भन्ने मत राख्छन् । वर्ण विभाजनलाई कडाइका साथ लागू गर्ने काम राजा मनुले गरेका हुन् भन्नेमा धेरैको सहमति छ । पछि गएर वर्ण र श्रम विभाजनको पालना नगर्ने शूद्रलाई ‘अछुत’मा झार्ने थिति बसालियो ।
वर्ण व्यवस्थाका बारेमा युरोपियन विद्वान्हरूले समेत अध्ययन गरेको पाइएको छ । प्रसिद्ध बेलायती विद्वान् तथा क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक ‘एडवर्ड जेम्स रेप्सन’ लेख्छन्, ‘सर्वप्रथम आर्यको गोरो र अनार्यको कालो रङ्गलाई लिएर जातिप्रथा प्रारम्भ भयो । काला रङ्गका अनार्य आदिवासी कालान्तरमा शूद्र बनाइए । अर्का बेलायती अध्येता डक्टर ‘ह्युग कार्टिस रलिनसन’को मत पनि एडवर्ड जेम्स रेप्सनसँग मिल्दोजुल्दो छ । ‘जातिको प्रारम्भिक आधार वर्ण यानी रङ्ग थियो ।’ उनले लेखेका छन् । त्यस्तै फ्रान्सेली विद्वान् ‘इमाइल सेनार्ट’ लेख्छन्, ‘वैदिक साहित्यमा शूद्रको वर्णन खासै पाइँदैन ।’
शूद्रहरूलाई वेद अध्ययन गर्ने र यज्ञोपवित धारण गर्ने अधिकार थिएन । स्वामी प्रपन्नाचार्यले ‘वेदमा के छ’मा लखेका छन्– ‘शूद्र र महिलामाथि वेद अध्ययनको प्रतिबन्ध वैदिक कालमा थिएन । स्मृति र पुराण कालपछि मात्र यसो हुन गएको होे ।’
आर्यहरू भारत हुँदै नेपाल प्रवेश गरेको विषय आइसकेको छ । नेपाल प्रवेशपछि शासनमा कब्जा जमाएका लिच्छविहरूले चार वर्ण अठार जातको थिति कायम गरे । लिच्छविपछिका मल्ल राजा जयस्थिति मल्लले कीर्तिनाथ उपाध्याय, मैथिली ब्राह्मणहरू रघुनाथ झा, रामनाथ झा र भारतका श्रीनाथ भट्टलाई बोलाई बागमती उपत्यकामा चार वर्ण चौसठ्ठी जातको सामाजिक व्यवस्था बाँधे । यसैको सिको गर्दै गोरखाका राजा राम शाहले चार वर्ण छत्तिस जातको सामाजिक व्यवस्था बसाले ।
जातीय भेदभावको कथा–व्यथा भारत–नेपालमा मात्र भेटिन्छ कि विश्वको अन्य भूगोलमा पनि पाइन्छ त ? मानिस मानिसबीचको विभेदको कथा विश्वका अन्य भूगोलमा समेत पढिँदै, सुनिँदै र देखिँदै आएको विषय हो । तर तिनीहरू एकै प्रकृतिका भने छैनन् । प्राचीन रोममा मानिसहरूलाई अभिजात वर्ग र तल्लो वर्ग गरी दुई श्रेणीमा विभाजन गर्ने गरिन्थ्यो । जापान, कोरिया, यमन, नाइजेरिया, सेनेगललगायतका मुलुकमा समेत यो वा त्यो स्वरूपको जातीय विभेदको इतिहास पढ्न सकिन्छ । आर्य नश्ललाई दुनियाँकै उत्कृष्ट नश्ल ठान्थ्यो हिट्लर । ‘आर्यन सुप्रिमेसी’कै आवरणमा उसले तीस लाख यहुदीहरूलाई ग्यास च्याम्बरमा होमेर मा¥यो । एक जमानामा अमेरिकामा हब्सीहरूलाई अछुत जस्तै व्यवहार गरिन्थ्यो । कालो हब्सी बसको सिटमा बसेको बेला गोरो अमेरिकन आइपुग्यो भने कालाले गोरालाई सिट छोडिदिनुपर्दथ्यो । गोरा र कालाहरूका लागि विद्यालय, रेष्टुरेन्ट, अस्पताल र शौचालय अलग–अलग हुन्थ्यो । अफ्रिकन हब्सीहरूलाई दास सरह व्यवहार गरिन्थ्यो । अफ्रिकाबाट काला हब्सीहरूलाई कृषि मजदुरमा प्रयोग गर्न साङ्लालो बाँधेर अमेरिका पु¥याइन्थ्यो । अमेरिकामा काला र गोराबीचको जातीय विभेद अद्यापि कायम छ ।
परन्तु वर्ण व्यवस्थाभित्रको जातीय विभेद ती सबैभन्दा भिन्न छ । वर्ण व्यवस्थाभित्र मानिसहरू जातका आधारमा छुत–अछुत कहलाउने गर्दछन् । ‘छुतहरूद्वारा अछुतहरू’माथि अमानवीय व्यवहार गरिनु परम्परागत समाजको आमविशेषता हो । म यहाँ त्यस्ता केही उदाहरण प्रस्तुत गर्न चाहन्छु ।
२०५६ सालतिर सिरहाको लहानमा सिनो नफाल्ने निर्णयमा पुगेका चमार जातिलाई ‘उपल्लो जाति’का मानिसहरूले सार्वजनिक सूचना नै जारी गरी सामाजिक बहिष्कार गरे । २०६० सालमा सप्तरीमा दलित युवकले गैरदलित युवतीसँग अन्तरजातीय विवाह गरे । त्यसपछि ठूलो समूहले दलित बस्तीमा आक्रमण गरी १२ दलित परिवारका ८० जना सदस्यलाई गाउँ छोड्न बाध्य बनायो । २०७३ सालको अर्को घटना छ । काभ्रेको अजित मिजारले पराजुली थरकी केटीसँग विवाह गर्दा निजको रहस्यमय मृत्यु भयो । उनको शव धादिङस्थित राजमार्ग छेउको पाटीमा झुण्डिएको अवस्थामा फेला प¥यो । त्यस्तै २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेमको बहानामा नवराज विकको हत्या भयो !’ अरु त अरु दलित भन्ने थाहा भयो भने राजधानी काठमाडौंमा समेत डेरा पाउन गाह्रो छ ।
माथि उल्लेखित विषय जातीय विभेदका प्रतिनिधि घटना मात्र हुन् । समाजको गर्भमा त्यस खालका अनगिन्ती क्रूर र अमानवीय कथा–व्यथा लुकेका छन् । नेपाली समाज विचित्रको छ । यहाँ जुन कानून कमजोर, निमुखाहरूलाई लाग्छ त्यो राजा–महाराजा वा बडालाई लाग्दैन । श्री ३ महाराज जंगबहादुरसँग सम्बन्धित त्यस्तै एउटा तथ्य छ ।
सिकार खेल्न मोरङ गएका जंगबहादुरलाई मेचे जातिकी कन्या असाध्यै मनप¥यो । उनमा युवतीलाई रानी बनाएर दरबार भिœयाउने भूत सवार भयो । तर त्यसमा एउटा समस्या थियो । मेचेहरू पानी नचल्ने अर्थात् अछुत जातिमा पर्दथे । तर श्री ३ महाराजका निम्ति त्यो समस्याको विषय बनेन । कन्यालाई दरबार प्रवेश गराउनुपूर्व उनले भारदारी परिषद्को बैठक बसाए । बैठकले मेचे जातिलाई पानी नचल्नेबाट पानी चल्ने जातिमा प्रमोसन गर्ने निर्णय लियो । श्री ३ भीमसमसेरसँग सम्बन्धित त्यसैसँग मिल्दोजुल्दो घटना पनि छ ।
यसबीचमा देशले थुप्रै राजनीतिक उतारचढावहरू बेहोरिसकेको छ । दुई हजार त्रिसठ्ठी साल जेठ एक्काइस गते नेपाललाई ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरिसकिएको छ । तर संबिधानका अक्षर र घोषणा मात्रले जातीय बिभेदको अन्त्य नहुँदोरहेछ ।
वर्ण व्यवस्था सिर्जित जातीय विभेद उन्मूलनको सपना देखाउँदै पश्चिमाहरूले धर्मान्तरणलाई तीव्र पारिरहेको देखिन्छ । परन्तु धर्मान्तरणलाई जातीय विभेदको ‘अचूक दवा’ ठान्न थालियो भने सही उपचार नहुन सक्छ । समाजबाट प्राणवायु पाउने भएकाले यो प्रथा अन्त्यको मूल कडी सांस्कृतिक रूपान्तरणसँग छ । त्यसका निम्ति कठोर दण्ड त आवश्यक पर्छ नै तर त्यतिले मात्रै पुग्दैन । देशमा जन्म लिने प्रत्येक बालक, हरेक नागरिकमा मानवता, समानता, भाइचारा अनि वैज्ञानिक विचारधाराले ओतप्रोत ‘सोसियल इन्जिनियरिङ’ अभियान चलाउनु पनि त्यति नै जरुरी छ । त्यसको पहलकदमी सरकारले लेओस् । स्कुल–कलेजको पाठ्यक्रममा जातीय विभेदको विषय समावेश गरोस् ।
हाम्रो घरभन्दा केही तल आँधीखोले नाम गरेको ‘क्षेत्री’को छोरो थियो । आँधिखोले हट्टाकट्टा जवान थियो । आँधिखोले र आँधिखोलेका बाबु लेखनाथ पौडेलले लेखेजस्तो सामाजिक हैसियत प्राप्त ‘बडा’ थिएनन् । उनीहरूको श्री ३ जंगबहादुर र भीमसमसेरसँग तुलना हुने त झन् कुरै भएन ।
म त्यस बिहान आँधिखोलेको घरको बाटो भएर हिँडिरहेको थिएँ । घाम डाँडाबाट एक बाँसमाथि उक्लिसकेको थियो । अरुको निम्ति घाम उदाएपछिको बिहान भए पनि आँधिखोलेको निम्ति घाम डुबेपछिको साँझ बन्दै थियो त्यो क्षण । मेरा आँखा आँधिखोलेको घर–आँगनमा खचाखच भरिएका मानिसहरूमाथि परे ।
त्यस बिहान आँधिखोलेको घरमा के दहलफसल चलिरहेको थियो त ? आँधिखोलेको छिमेकी युवतीसँग प्रेम सम्बन्ध थियो । प्रेमले रङ्गिन रूप धारण गर्दै जाँदा दुवैले सँगै जिउने सँगै मर्ने वाचा गरे । तर युवती जातमा ‘सर्किनी’ थिई । सर्किनी अर्थात् वर्ण व्यवस्थाको दृष्टिमा शूद्र महिला । रुढिवादी समाजको परिभाषामा ‘पानी नचल्ने’ जातिकी ‐अछुत) स्त्री । युवतीको नाम खै के थियो । सबैले उसलाई साइँली भनेर बोलाउँथे । साइँली त्यो जमानामा उधुमै राम्री थिई । साइँलीको रूपको अगाडि लियोनार्दो दाभिन्चीकी ‘मोनासिला’ फिका पर्थी ।
साइँली र आँधिखोलेबीच शारीरिक सम्पर्क भयो । जब साइँलीको पेटमा रहेको आँधीखोलेको गर्भ बाहिरबाटै देखिने हुन थाल्यो, त्यसले चौतर्फी बहस सिर्जना ग¥यो । बहस बढ्दै जाँदा ‘पञ्च भलाद्मी’ बोलाइए । कचहरी बस्यो । कचहरीले ‘आँधिखोलेलाई जातिच्यूत गर्ने र बाबुको घरबाट तत्काल निकाल्ने’ फर्मान सुनायो ।
आँधिखोले निरक्षर थियो । उसलाई वर्ण व्यवस्थाको कथा । जंगबहादुरले ‘पानी नचल्ने जातकी युवती’ दरबार भिœयाउँदा जात गुमाउन नपरेको लगायतका विषय थाहा थिएन । आँधिखोलेलाई मात्र यति थाहा थियो, प्रेम गर्नु अपराध होइन । मान्छेको कुनै जात हुँदैन ।
साइँली आँधिखोले आउने बाटो हेरेर बसिरहेकी थिई । जब उसले जातिच्यूत गरी घरबाट निकालिएको आँधिखोलेलाई लत्ता–कपडाको पोकोसहित आउँदै गरेको देखी साइँलीका आँखा साउने झरी झैँ बर्सिए । आँधिखोलेले साइँलीको समिप पुगेर लत्ता–कपडाको भारी बिसायो । साइँली आँधिखोलेको अँगालोमा बाँधिएर रोई अनि रुन्चे हाँसो हाँस्दै भनी –
‘प्यारो आँधी !’
आँधिखोलेले पनि साइँलीको भिजेका परेली पुछिदियो र भन्यो –
‘प्यारी साइँली !’
तब आँधिखोले र साइँली दुई ज्यान एक प्राण भए । साइँली र आँधिखोले जीवनको नवीन यात्रामा निस्किए । यात्रासँगै आँधिखोलेको जातीय परिचय फेरियो । आँधिखोले क्षेत्रीबाट सार्की भयो !
(प्रकाश तिवारी जातीय विभेद र अन्तरजातीय विवाहमा आधारित उपन्यास ‘निहारिका’का लेखक पनि हुन् ।)