नेभिगेशन
प्रदेश

जेनजी आन्दोलनमा तिलोत्तमा नगरपालिकाको कार्यालय कसरी जोगियो ?

बुटवल, ५ असोज - जेनजी आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । 

त्यसो त सडकमा रहेका ट्राफिक लाइट, सडक बत्ती, सिसिटिभी, आकाशे पुलका सिसाहरू भने प्रदर्शनकारीले तोडफोड भए । यस्तै कतिपय वडा कार्यालयहरूमा पनि प्रदर्शनकारीले क्षति पुर्‍याए । तर नगर प्रहरी र स्थानीयको चलाखीले नगरपालिका कार्यालय जोगिन पुगेको छ । 

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल भन्छन्, ‘जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ दिउँसो प्रदर्शनकारीहरू पटक—पटक तिलोत्तमा नगरपालिका कार्यालय पुग्ने प्रयत्नमा थिए । नगर प्रमुख रामकृष्ण खाणको घरमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारीहरू तिलोत्तमा नगरपालिकातिर हिँडेका थिए । तर, आन्दोजनकारीहरूलाई स्थानीय युवाहरूले तिलोत्तमाको गरिमा र महिमा बुझाउँदै सार्वजनिक सम्पत्ति तोडफोड गर्नु हुँदैन भनेर सम्झाएपछि आन्दोलनकारीहरू भैरहवातिर लागे ।’

भदौ २४ गते दिउँसोबाट जिल्लाका विभिन्न सरकारी कार्यालयमा आगजनी तथा तोडफोडका घटनाहरू सामाजिक सञ्जालमा छाएपछि कृष्ण घिमिरेको नेतृत्वमा स्थानीय बासिन्दाले नगरपालिकाको गेटमा पुगेर निगरानी थालेका थिए । 

उनीहरूले कार्यालयमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीरहरू निकालेर आफूसँगै राखी कार्यालय पुग्ने आन्दोलनकारीहरूलाई कार्यालयमा कारवाही भैसक्यो अब केही गर्नुपर्दै न भनेर सम्झाई बुझाई फर्काएका थिए । यत्तिसम्म कि नगर प्रहरी समेत स्वयम् सिभिल ड्रेसमा बसेर स्थानीय बनेका थिए, जसले गर्दा पालिका जोगाउन सहज भएको हो ।

नगर प्रहरी प्रमुख नरप्रसाद श्रेष्ठको कुशल समन्वय तथा स्थानीयको सहयोगले कार्यालयमा कुनै पनि प्रकारको अप्रिय घटना हुन पाएन । नगर प्रहरी प्रमुख श्रेष्ठले नगरका विभिन्न व्यक्तिलाई सहयोगको निरन्तर अपिल गर्नुको साथै पटक पटक कार्यालयमा पुगेका आन्दोलनकारी समूहलाई सम्झाइ बुझाई गरेकोले सफलता प्राप्त भएको बताउँछन् ।

भदौ २४ गते रातभर नगर प्रहरी र स्थानीय बासिन्दाले नगरपालिका कार्यालयलाई पहरा दिएर राखेकोमा राति १० बजेबाट सुरक्षाको जिम्मा नेपाली सेनाले लिएपछि २५ गते एका बिहानै नेपाली सेनाको टोली नगरपालिका तैनाथ भएको थियो । 

सेनाले पालिका कार्यालयको सुरक्षा कमाण्ड सम्हालेपछि पनि पटक पटक आन्दोलनकारीहरू पालिका आक्रमणको लागि नगरपालिका गेटसम्म पुगेका थिए । नेपाली सेनाको टोलीले भदौ २७ गतेसम्म पालिकामा सुरक्षा प्रदान गरेको थियो । सेना फर्किएपछि नगर पालिका कार्यालय क्रमशः पुरानै लयमा फर्किदै गएको छ ।

तिलोत्तमा नगरपालिकामा रहेका विभिन्न जनप्रतिनिधिका घरमा आगजनी, तोडफोड र लुटपाट हुँदा समेत स्थानीयको समन्वय र सक्रियताले तिलोत्तमा नगरपालिका कार्यालय यसबाट जोगिएको घटनाले स्थानीय एकजुट हुँदा बाहिरबाट आउने जो कोहीलाई पनि रोक्न सकिन्छ भन्ने नमूना देखाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्