नेभिगेशन
प्रदेश

कोइराला निवास हेरेर टोलाए गच्छदार

विराटनगर, ५ असोज - गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगरको ऐतिहासिक कोइराला निवास अवलोकन गर्न विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र सर्वसाधारणले निरन्तर भ्रमण गरिरहेका छन् ।

राणाकालमा कृष्णप्रसाद कोइरालाले निर्माण गरेको सो निवास देशमा प्रजातन्त्र र लोकतन्त्रको आधारभूमि बनेको मानिन्छ । यतिबेला करिब सय वर्ष पुरानो यो निवास आगजनीपछि खण्डहर बनेको छ भने नयाँ घर मर्मत सम्भारको क्रममा छ । कोइराला निवासले नेपाललाई तीन जना प्रधानमन्त्री उत्पादन गरेको ऐतिहासिक गौरव बोकेको छ । 

आगोले क्षतिग्रस्त घरको अवलोकन गर्न नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार, सह– महामन्त्री भीष्मराज आङ्दम्बे लगायतका नेताहरू पुगेका थिए । अवलोकनका क्रममा टोलाएका गच्छदारले लोकतन्त्र र प्रजातन्त्रको इतिहास मेटाउने नियतले कोइराला निवासमा आगजनी गरिएको आरोप लगाए । 

उनले देशभर एकै समयमा विभिन्न नेता–कार्यकर्ताका घरमा आगजनी हुनु ग्राण्ड डिजाइन अन्तर्गतको गतिविधि हो, यसबारे न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए । 

मुलुकको गौरवपूर्ण राजनीतिक इतिहास जोगाउनु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उनले जेन्जी पुस्ताले पनि लोकतान्त्रिक आन्दोलनबारे अध्ययन–अनुसन्धानमा सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्