नेभिगेशन
राजनीति

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं  । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भई शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरे । 
शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन गत मंगलबार न्युयोर्क गएका थिए ।  प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत थिए । महासभामा नेपालको तयारीका लागि परराष्ट्रमन्त्री खनाल शाहभन्दाअघि नै न्यूयोर्क पुगेका थिए । उनी अझै उतै रहेर महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन् । प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनले हुने क्षतिको क्षतिपूर्तिका विषयमा प्रदूषणका जिम्मेवारहरुले गम्भीर हुनुपर्ने भनाइ राखेका थिए । उनले गत भदौ १० गतेको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गरेका थिए । 
सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने तथा ‘हिमनदी र बाढी ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्’ भनी उल्लेख गरेका थिए । शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका थिए । 
भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार भेटवार्ता गरेका थिए । भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए । 
विमानस्थलमा प्रधानमन्त्री शाहले सञ्चारकर्मीसँग कुराकानी गरेनन् । उनको  भ्रमणबारे परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले सञ्चारकर्मीसँग संवाद गरे । महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको ढकालले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्