नेभिगेशन
प्रदेश

हाइटेन्सन टावर जोखिममा

रौतहट । लगातारको वर्षासँगै चाँदी खोलामा बढेको बहावले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रहेको २०८ नम्बरको टावर जोखिममा परेको छ । टावर सुरक्षाका लागि निर्माण गरिएको तटबन्धको ठूलो हिस्सा खोलाको बहावले कटान गरेपछि पानी टावरको पिल्लरको छेउसम्म पुगेको हो ।
साउनको अन्तिममा चाँदी खोलामा आएको बाढीले तटबन्धको एक भाग भत्काएको थियो । त्यसयता टावर आसपासको जमिन निरन्तर कटानमा पर्दै आएको स्थानीयले बताएका छन् । नदी नियन्त्रण र तटबन्ध संरक्षणको काम तत्काल अघि नबढाए टावरको जगसमेत कटानमा पर्न सक्ने उनीहरूको भनाइ छ ।
स्थानीय अमर लामाले अहिले नै खोलाको धार टावरको पिल्लरको छेउसम्म आइपुगेको बताए । ‘अहिले नै खोलाको धार टावरको पिल्लरको छेउसम्म आइपुगेको छ । बाढी आयो भने अवस्था अझ गम्भीर हुन सक्छ । टावर जोगाउन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्छ,’ उनले भने । स्थानीयका अनुसार टावरको सुरक्षाका लागि बनाइएको तटबन्धले खोलाको प्राकृतिक बहाव प्रभावित गर्दा खोला किनारका बस्तीसमेत कटानको जोखिममा परेका छन् । स्थानीय कृष्ण दाहालले टावर र बस्ती दुवैको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक रहेको बताए । ‘खोला धार फेर्दै गाउँतिर फर्किरहेको छ । टावर र बस्ती दुवैको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक छ,’ उनले भने ।
स्थानीय अधिकार लामिछानेले समस्या देखिएदेखि नै सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि काम नभएको गुनासो गरे । उनका अनुसार खोलाले लगातार जमिन कटान गरिरहेकाले दुर्घटना भएपछि मात्र काम गर्ने प्रवृत्तिभन्दा अहिले नै रोकथामका उपाय अपनाउन आवश्यक छ ।
यता हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सवस्टेसन हेटौंडाका प्रमुख अमर दाहाल भने टावरको जग बलियो रहेकाले तत्काल ठूलो जोखिम नरहेको बताउँछन् । टावर निर्माणका बेला केही पर रहेको खोलाको धार पछि आसपास कटान गर्न पुगेको हो । यसअघि पनि कटानका कारण टावरको जग देखिएको थियो । त्यसपछि मर्मत गरी टावर संरक्षणका लागि ढुंगाजालीसहितको तटबन्ध निर्माण गरिएको उनले सुनाए । अहिले बाढीले उक्त तटबन्धसमेत भत्काएपछि पुनः संरक्षणको आवश्यकता परेको उनले बताए ।
‘यसको प्राविधिक अध्ययन भइसकेको छ । वर्षा रोकिएपछि दसैं–तिहारलगत्तै टावर आसपासको कटान रोकथाम र संरक्षणको काम अघि बढाउँछौं,’ उनले भने । तटबन्धका कारण गाउँमा असर नपर्ने दाहालको दाबी छ ।
चन्द्रपुर–४ का वडाध्यक्ष रवि रानामगरले परियोजना पक्षलाई पत्राचार गरी टावरको तत्काल मर्मत र संरक्षणका लागि आग्रह गरिएको जानकारी दिए । 
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन देशको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा नेपाल–भारत विद्युत् व्यापारका लागि महŒवपूर्ण संरचना हो । करिब २८८ किलोमिटर लामो यस प्रसारण लाइनका टावरको उचाइ १८० फिटसम्म हुने र एउटा टावर निर्माणमा एक करोड रुपैयाँसम्म खर्च हुने आयोजना पक्षले जनाएको छ । स्थानीयले आगामी बाढीअघि नै संरक्षणको काम सुरु गर्न माग गरेका छन् । टावरमा क्षति पुगे विद्युत् प्रसारणसँगै ठूलो आर्थिक क्षति हुन सक्ने उनीहरूको चिन्ता छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्