नेभिगेशन
अर्थतन्त्र

अखाद्य गुदपाक उद्योग सिलबन्दी, दूषित चिया बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । उपत्यकामा सञ्चालनमा रहेका गुदपाक तथा पुष्टकारी उद्योग, प्रशोधित पानी, बेकरी र खाद्यान्न पसलहरूमा म्याद नाघेका तथा किरा परेका अखाद्य कच्चा पदार्थ प्रयोग भइरहेको पाइएपछि नियामक निकायले कारबाही प्रक्रियालाई तीव्र बनाएको छ ।
 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौंको टोलीले चन्द्रागिरि, स्वयम्भू, कागेश्वरी मनोहरालगायतका क्षेत्रमा गरेको आकस्मिक अनुगमनका क्रममा अखाद्य सामग्री जफत गरी नष्ट गर्नुका साथै दूषित खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरू सिलबन्दी गरेको हो । 
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही चलाउँदै बजारमा बिक्रीका लागि पठाइएको दूषित चियासमेत तत्काल फिर्ता गर्न उत्पादकलाई कडा आदेश दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माका अनुसार चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा सञ्चालित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा गरिएको अनुगमनमा गुदपाक र पुष्टकारी बनाउन म्याद नाघेका र किरा परेका कच्चा पदार्थ प्रयोग भइरहेको भेटिएको थियो । अनुगमन टोलीले त्यहाँबाट म्याद नाघेको चिउरा १८ केजी, चकलेट , खुला टुक्रा बिस्कुट १०० केजी, किरा परेको भुटेको चना २२० केजी, चनाको पिठो २७४ केजी, स्किम मिल्क पाउडर ७ केजी तथा किरा परेको बदाम र ओट्स प्रयोग गरी बनाइएको करिब १०० केजी गुदपाक र ५३५ केजी पुष्टकारी जफत गरी नष्ट गरेको उनले जानकारी दिइन् । 
करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको उक्त उद्योगले म्याद नाघेका चकलेटमा नयाँ लेबल लगाएर बिक्री गर्ने गरेको र विभागबाट अनुमति पत्रसमेत नलिएको पाइएपछि उद्योग सिलबन्दी गरी सम्पूर्ण उत्पादन तथा बिक्री वितरण रोक्का राखिएको पनि अधिकृत डा शर्माले जानकारी दिइन् । 
ढुङ्गेअड्डाकै अर्को उद्योग वज्रबाराही भण्डारमा पनि एउटै कोठामा अस्वच्छ तरिकाले पुष्टकारी प्रशोधन तथा प्याकेजिङ भइरहेको पाइएको थियो । लेबलमा उल्लेख नगरिएका चिउरा र मैदा प्रयोग गरी बिना अनुमति उत्पादन गरिएका करिब १ लाख ४० हजार रुपैयाँ बराबरको ३५० केजी तयारी खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । उक्त उद्योगको समेत गुदपाक र पुष्टकारीको नमूना संकलन गरी कारबाहीका लागि सम्पूर्ण बिक्री रोक्का गर्दै सिलबन्दी गरिएको विभागले जनाएको छ ।
स्थानीय तह र प्रहरीसँगको समन्वयमा स्वयम्भू क्षेत्रमा सञ्चालित पसल तथा उद्योगहरूमा पनि विभागले छापा मारेको थियो । नक्कली डेट कोड र लेबल लगाई रिप्याकेजिङ गरेको उजुरीका आधारमा सस्तो बास्केट पसलमा अनुगमन गर्दा अनुमति नलिई खाद्यान्न र चिनीको खुद्रा प्याकिङ गरेको पाइएपछि म्याद नाघेका सुजी १४ केजी, ब्रेड क्रम्ब ५ केजी, थाइम १० केजी र राजमा १ केजी जफत गरी नष्ट गरिएको छ । 
यसैंगरी अनुमतिपत्र नलिई २ थान आइस मेसिन, १ थान आरओ मेसिन र ३ थान डिप फ्रिज राखी सञ्चालन गरिएको यति आइस प्रालिले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ पालना नगरेको पाइएपछि त्यसको उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।
यसैगरी, रूपन्देहीस्थित साई कृपा चिया उद्योग प्रालिले उत्पादन गरेको ‘साई कृपा गोल्ड चिया’ प्रयोगशाला परीक्षणका क्रममा दूषित पाइएपछि विभागले उक्त चिया बजारबाट तत्काल फिर्ता गर्न सार्वजनिक आदेश जारी गरेको पनि वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा शर्माले बताइन् । 
सन् २०२६ जुलाईमा उत्पादन भई १८ महिना उपभोग्य अवधि उल्लेख गरिएको ‘८३.डि.०५’ ब्याच नम्बरको १ हजार ग्रामको चिया दूषित पाइएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार बजारबाट फिर्ता गर्न र दफा ३८(४) अनुसार बिक्री वितरण नगर्न÷नगराउन महानिर्देशक स्तरको निर्णयबाट आदेश दिइएको हो  ।
यसअघि विभागले काठमाडौँ उपत्यकाका अन्य ५ वटा खाद्य प्रतिष्ठानमा गरेको निरीक्षणका क्रममा कागेश्वरी मनोहरा–७ स्थित ए वन पोलिमर एंड वेभरेज प्रालिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सुधार नभएसम्मका लागि उत्पादन बन्द गराएको थियो । उक्त उद्योगमा ग्ख् उपचार प्रणालीभन्दा पछाडि माइक्रो फिल्टर राखिएको र प्रशोधित पानी उत्पादन मापदण्डका कागजात नभएकाले स्टकमा रहेका फ्युजन पार्क ब्रान्डका ३०० बोतल र एक्वा माइन ब्रान्डका १ हवा ९६० बोतल पानीको बिक्री रोक्का गरिएको छ । काठमाडौं–१४ स्थित श्याम बेकरी उद्योगमा उपभोग्य मिति सकिएको ६० लिटर वनस्पति घ्यू फेला पारी नष्ट गरिएको थियो भने कागेश्वरी मनोहरा–६ को बि एंड बि डेरी एंड बेकरीमा लेबल नभएका दही र रसबरी नष्ट गरी अनुमति नलिएका उद्योगबाट दुधजन्य पदार्थ खरिद नगर्न निर्देशन दिइएको थियो ।
विभागले कालिमाटीस्थित टु एस आर. ग्रुप र बागडोलस्थित सगरमाथा एग्रो ट्रेडिङलाई खाद्यान्न बोराहरू प्यालेटमा राख्न र कीट नियन्त्रण व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनमा आएसँगै बजार अनुगमनलाई निरन्तरता दिइएको र अस्वच्छ वा दूषित खाद्य पदार्थ कारोबार गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने विभागले स्पष्ट पारेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्