नेभिगेशन
अर्थतन्त्र

भोटेकोशी बाढीपीडितका लागि एनआरएनएले उठायो ६ करोड

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको आर्थिक अभियानमा ९ करोड १९ लाख ४५ हजार २७२ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आए पनि हालसम्म ६ करोड २ लाख ३१ हजार रुपैयाँ मात्रै संकलन भएको छ । बाँकी ३ करोड १७ लाख १४ हजार २७२ रुपैयाँ पनि छिट्टै संकलन हुने अपेक्षा गैर आवासिय संघ नेपालले गरेको छ । 
भोटेकोशी–रसुवा बाढी २०२६ का प्रभावितका लागि सञ्चालन गरिएको अभियान २९औँ दिनमा पुग्दा प्रतिबद्ध रकमको करिब दुईतिहाइ मात्रै प्राप्त भएको हो । बाँकी रकम प्राप्त हुने क्रम जारी रहेको एनआरएनएले जनाएको छ ।
एनआरएनएको वित्तीय विवरणअनुसार विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), संस्था तथा विदेशमा रहेका नेपाली समुदायबाट बाढीपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको हो । प्रतिबद्धतामध्ये हालसम्म प्राप्त रकम राहत सामग्री खरिद तथा प्रभावित परिवारलाई प्रत्यक्ष सहयोगमा परिचालन भइरहेको संघले जनाएको छ ।
आर्थिक सहयोगमा सबैभन्दा ठूलो रकम बेलायतबाट आएको छ । बेलायत एनसीसीबाट पहिलो चरणमा ५३ लाख ४३ हजार २४४ रुपैयाँ प्राप्त भएको छ । त्यसपछि अस्ट्रेलियाबाट ३१ लाख १ हजार ५८२ रुपैयाँ, क्यानडाबाट २७ लाख ३ हजार ४०८ रुपैयाँ र बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख छ ।
त्यस्तै न्युजिल्यान्डबाट २१ लाख ५२ हजार ९०० रुपैयाँ, हङकङबाट १८ लाख ७७ हजार २३३ रुपैयाँ, स्विडेनबाट १८ लाख ३१ हजार ५३५ रुपैयाँ र नर्वेबाट १७ लाख ८९ हजार ८४३ रुपैयाँ प्राप्त भएको छ । ओमानबाट १३ लाख १५ हजार रुपैयाँ र फिलिपिन्सबाट १२ लाख रुपैयाँ प्राप्त भएको छ ।
दक्षिण कोरियाबाट ११ लाख १० हजार ८१२ रुपैयाँ, नेदरल्यान्ड्सस्थित स्टिचिङ नेपाल फन्डबाट १० लाख ५५ हजार १९४ रुपैयाँ, लग्जम्बर्गबाट १० लाख ४६ हजार ५४९ रुपैयाँ र साउदी अरेबियाबाट १० लाख रुपैयाँ प्राप्त भएको छ ।
यसैगरी टर्कीबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, कंगोबाट ६ लाख ५८ हजार ६६३ रुपैयाँ, संयुक्त अरब इमिरेट्सबाट ६ लाख ५८ हजार ६६३ रुपैयाँ र म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । इजरायलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ तथा आयरल्यान्ड र थाइल्यान्डबाट ५–५ लाख रुपैयाँ प्राप्त भएको वित्तीय विवरणमा उल्लेख छ ।
एनआरएनएका अनुसार विभिन्न मुलुक तथा संस्थाबाट प्राप्त सहयोगमध्ये केही रकम पहिलो चरणमा प्राप्त भएको हो । बाँकी प्रतिबद्ध रकम पनि क्रमशः प्राप्त हुने अपेक्षा गरिएको छ । त्यसैले अभियानको अन्तिम संकलन हालसम्मको रकमभन्दा बढ्ने संघको भनाइ छ ।
राहत वितरणमा मौसम बाधक
आर्थिक सहयोग संकलनसँगै एनआरएनएले प्रभावित परिवारलाई प्रत्यक्ष राहत वितरणसमेत गरिरहेको छ । भोटेकोशी बाढीका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न, ग्यास सिलिन्डर, भाँडाकुँडालगायत सामग्री उपलब्ध गराइएको छ ।
काठमाडौंमा आफन्तको काजक्रिया सकेर कोठा भाडामा बसिरहेका उत्तरगया र विदुरका थप १५ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । बाढीमा घर तथा आफन्त गुमाएपछि उनीहरू काठमाडौं, नुवाकोटलगायतका स्थानमा अस्थायी रूपमा बस्दै आएका छन् ।
तर प्रतिकूल मौसमका कारण रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सञ्चालन हुँदै आएको राहत वितरण भने अस्थायी रूपमा रोकिएको छ । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन मौसममा सुधार आवश्यक भएकाले केही दिनका लागि वितरण रोकिएको एनआरएनएले जनाएको छ ।
मौसम अनुकूल भएपछि प्रभावित क्षेत्रमा पुनः टोली परिचालन गरी राहत वितरणलाई निरन्तरता दिइने संघको भनाइ छ ।
राहतबाट पुनःस्थापनातर्फ चुनौती
भोटेकोशी बाढीबाट घर, सम्पत्ति र आफन्त गुमाएका परिवारको आवश्यकता तत्कालीन राहतमा मात्र सीमित छैन । विस्थापित परिवारलाई अस्थायी बसोबास, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्