नेभिगेशन
अर्थतन्त्र

‘जलवायु न्यायमा आर्थिक अवसर समेट्नुपर्छ’

न्युयोर्क । नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले जलवायु न्यायलाई नेपालको स्वच्छ ऊर्जा सम्भावना र दक्षिण एसियामा बढ्दो विद्युत् मागसँग जोड्न आग्रह गरेकी छन् । 
क्लाइमेट विक न्युयोर्कअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुँदै ज्ञवालीले नेपालले आफ्नो अन्तर्राष्ट्रिय जलवायु एजेन्डालाई मुख्यतः जलवायु जोखिम तथा ‘लस एन्ड ड्यामेज’लाई केन्द्रमा राख्ने र दक्षिण एसियाका लागि स्वच्छ ऊर्जाको सम्भावित साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिएकी छिन् । 
क्लाइमेट विक न्युयोर्कअन्तर्गत आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै ज्ञवालीले जलवायु अभियन्ता, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा पत्रकारहरूसँगको छलफलले नेपालको जलवायु कूटनीतिलाई आर्थिक तथा ऊर्जा महत्वाकांक्षासँग जोड्नुपर्ने बताइन् । 
‘ नेपाल हिमनदी पग्लिरहेको र यहाँका समुदाय जलवायु परिवर्तनबाट पीडित भइरहेको देशका रूपमा मात्र चिनिइरहन सक्दैन ।  हामीले अझ ठूलो कथा भन्न आवश्यक छ,’ उनले भनिन्, ‘नेपाललाई जलवायु न्यायको माग गरिरहेको देशका रूपमा मात्र होइन, दिगो ऊर्जामार्फत ग्लोबल साउथको भविष्यलाई ऊर्जा उपलब्ध गराउन सक्ने देशका रूपमा पनि प्रस्तुत गर्नुपर्छ । ’
उनका अनुसार देश र कम्पनीहरू बढी ऊर्जा र स्रोतका लागि प्रतिस्पर्धा गरिरहेका बेला त्यो प्रतिस्पर्धा जमिनबाट समुद्रतर्फसमेत विस्तार भइरहेको छ । यस्तो अवस्थामा नेपालको जलवायु न्यायसम्बन्धी बहस मात्र हाम्रो अर्थतन्त्रलाई अघि बढाउन पर्याप्त नहुन सक्छ । हाम्रो रणनीति फरक हुन आवश्यक छ ।
उनले नेपालको हिमालय संरक्षणलाई देशको विशाल स्वच्छ ऊर्जा सम्भावना, विशेषगरी जलविद्युतसँग जोड्नुपर्ने बताइन् । ‘हामीले ‘लस एन्ड ड्यामेज’लाई स्वच्छ ऊर्जा लगानीसँग जोड्नुपर्छ । जलवायु कूटनीतिलाई आर्थिक कूटनीतिसँग जोड्नुपर्छ । यसका साथै, हाम्रा हिमनदी संरक्षणको अत्यावश्यकतालाई दक्षिण एसियाका लागि उत्थानशील र दिगो ऊर्जा प्रणाली निर्माण गर्ने अवसरसँग जोड्नुपर्छ,’ उनले भनिन्। 
ज्ञवालीले नेपालको अन्तर्राष्ट्रिय जलवायुसम्बन्धी धारणा केवल जोखिममा केन्द्रित हुने अवस्थाबाट अघि बढेर क्षेत्रीय ऊर्जा रूपान्तरणमा नेपालले पु¥याउन सक्ने योगदानसमेत देखाउने दिशामा विकास हुनुपर्ने बताइन् । डेटा सेन्टर, कृत्रिम बौद्धिकता (एआई), विद्युतीकरण तथा अन्य नयाँ प्रविधिका कारण विद्युतको माग बढ्ने अपेक्षा गरिएको जनाउँदै उनले नेपालले आफ्नो नवीकरणीय ऊर्जा स्रोतलाई दक्षिण एसियाको भविष्यको ऊर्जा प्रणालीको हिस्साका रूपमा स्थापित गर्नुपर्ने पनि बताइन् । 
स्वच्छ ऊर्जा आपूर्तिकर्ता बन्नका लागि ऊर्जा उत्पादन क्षमता बढाउनु मात्र पर्याप्त नहुनेमा उनले जोड दिइन् । नेपालले प्रसारण प्रणाली, ऊर्जा भण्डारण, क्षेत्रीय विद्युत् अन्तरसम्बन्ध, जलवायु उत्थानशील पूर्वाधार तथा सुलभ विद्युत्मा थप लगानी गर्नुपर्ने उनको भनाइ छ । 
छलफलमा विद्युत् पूर्वाधारको बढ्दो महत्व र लागतबारे समेत चर्चा भएको उनले बताइन् । विद्युतीकरण, अन्तर्राष्ट्रिय जलवायु तथा ऊर्जा नीति र जलवायु वित्तलगायतका क्षेत्रमा जिम्मेवारी सम्हाल्ने बेलायतकी जलवायु संक्रमणसम्बन्धी राज्यमन्त्री केटी ह्वाइटले पनि स्वच्छ ऊर्जा संक्रमणसँगै आउने पूर्वाधारसम्बन्धी चुनौतीबारे धारणा राखेकी थिइन् । 
ज्ञवालीले नेपालको जलवायु कूटनीतिले जलवायु वित्त, प्रविधि हस्तान्तरण, अनुकूलन सहयोग तथा ‘लस एन्ड ड्यामेज’को मान्यताका लागि निरन्तर आवाज उठाउनुपर्ने बताइन् । तर, जलवायु न्यायमा जलवायु जोखिममा रहेका देशहरूले थप बलियो र उत्थानशील अर्थतन्त्र निर्माण गर्न पाउने अवसर पनि समेटिनुपर्ने उनको भनाइ छ । ‘नेपालका लागि जलवायु न्याय भनेको ‘लस एन्ड ड्यामेज’को क्षतिपूर्ति मात्र होइन । यसले वित्त, प्रविधि, उत्थानशील पूर्वाधार र बजारमा पहुँचसमेत सुनिश्चित गर्नुपर्छ, जसले नेपाललाई आफ्नो स्वच्छ ऊर्जा सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न सघाओस्,’ उनले भनिन्। 
क्लाइमेट विकका क्रममा ज्ञवालीले वातावरणीय अभियन्ता जेन फोन्डा र एरिन ब्रोकोभिचसँग पनि भेटघाट तथा छलफल गरेकी थिइन्। उनीहरूसँग नेपाल र हिमालयले सामना गरिरहेका जलवायु चुनौतीबारे छलफल भएको उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्