नेभिगेशन
अर्थतन्त्र

सहकारीले स्थानीय क्षेत्रमा मूल्य र मान्यतामा काम गर्ने विश्वास

काठमाडौँ । सहकारी संस्थाहरूमा देखिएका चुनौती तथा कठिनाइहरूलाई समीक्षा गर्दै सहकारी संस्थाका सञ्चालक तथा अभियन्ताहरूले सहकारीको मर्म र सिद्धान्त अनुरूप काम गरेमा कुनै पनि खालको कठिनाइ नआउने धारणा राखेका छन् । 
शनिबार बौद्ध रामनगरस्थित सद्गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभामा सो सहकारीका सञ्चालक तथा सहकारीविज्ञहरूले सहकारीको सिद्धान्त र आदर्शमा जोड दिएका हुन् । सहकारी क्षेत्रका विज्ञ नवराज सुवेदीले अहिलेको अवस्थामा सहकारी संस्थाहरूले सहकारीको नीति नियम र सिद्धान्तहरूलाई पालना नगर्दा समस्या आएको हुँदा सहकारीका सञ्चालक, सेयरधनी, कर्मचारी, बचतकर्ता, ऋणी तथा सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने बताए । सबै पक्ष जिम्मेवार भएको अवस्थामा सहकारीले महिला तथा गृहणीहरूको आर्थिक तथा उद्यमशीलतामा सहयोग पुग्ने विज्ञ सुवेदीले बताए । प्रमुख अतिथि रीता शाहले सहकारीको प्रगतिको शुभकामना दिँदै संस्थाले भविष्यमा अझ बढी उन्नति र प्रगति गर्ने विश्वास गरिन् । 
काठमाडौं महानगरपालिका वडा नं ६ का सदस्य लिला बिसुखेले यस क्षेत्रका स्थानीय महिलाहरूको बढी सहभागिता रहेको सो सहकारीले निर्वाह गरेको भूमिकाको प्रंससा गर्दै भविष्यमा अझ बढी संस्थाले आफ्नो विकास गर्ने विश्वास गरेकी छन् । कार्यक्रममा न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसले सहकारी संस्थाहरूले  वित्तीय अनुशासन र सिद्धान्तमा रहेर काम गर्नुपर्नेमा जोड दिँदै  सहकारी संस्थाहरूले स्वरोजगार र उद्यमशीलताको विकासमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने विश्वास गरेका छन् । सहकारीको चुनौती र कठिनाइलाई पनि मनन गरेर अघि बढ्न उनले आग्रह गरे ।
कार्यक्रममा सद्गुरु बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कोपिला अधिकारीले सहकारीले यस क्षेत्रका महिला, गृहणी, बालबालिका, तथा जेष्ठ नागरिक सबै पक्षलाई सहकारीमा जोडेको बताउँदै अहिलेको कठिन अवस्थामा सहकारीको मूल्य मान्यता र आर्दशमा रहेर काम गरेको बताइन् । उनले सबै पक्ष जिम्मेवार भएर काम गरेको हुँदा भविष्यमा कुनै पनि समस्या नआउने प्रतिबद्धता जनाइन् । संस्थाकी सचिव सम्झना घिमिरेले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै सो संस्थाले आफ्नो संस्थागत विकास गरी आफ्नो मूल्य र मान्यतामा रहेर काम गरेको हुँदा थप सेवाहरू विस्तार गर्ने बताइन् । संस्थाकी कोषाध्यक्ष रन्जु खड्काले कोषाध्यक्षको प्रतिवेदन पेस गर्दै संस्थाको आर्थिक कारोबारलाई पारदर्शी र संस्थाको मूल्य र मान्यतामा रहेर सञ्चालन गरेको बताइन् । 
सो सहकारीका व्यवस्थापक सुशीला कार्कीले संस्थाले सहकारीको सिद्धान्त र आदर्शमा रहेर काम गरेको हुँदा संस्थामा कुनै समस्या नआएको र अहिलेको अवस्थामा सबै पक्ष गम्भीर र इमानदार भएर काम गरेकाले कुनै पनि समस्या नआउने विश्वास व्यक्त गरिन् । पुरस्कृत सदस्यहरूका तर्फबाट राजकुमार सापकोटा र गोमा काफ्लेले सहकारीले यस क्षेत्रमा बचत तथा कर्जा प्रवाहबाट उद्यमशीलता र स्वरोजगारमा सहयोग गरेको हुँदा अन्य संस्थाहरूसँग मर्जरमा जान नपर्ने सुझाव दिएका थिए । 
सो सहकारी संस्थाले बौद्ध, सुविगाउँ, रामनगर, सिमलटार रामहिटी तथा कपन क्षेत्रमा रहेर काम गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्