नेभिगेशन
अर्थतन्त्र
बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का

घट्यो हजार मेगावाट

काठमाडौं । अविरल वर्षा, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण देशभरको विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगेको छ । विद्युत प्राधिकरणका अनुसार प्राकृतिक विपद्का कारण करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । दर्जनौं ठाउँमा प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ ।
गत बिहीबारदेखि सुरु भएको न्यूनचापीय मनसुनका कारण परेको अविरल वर्षा र बाढीले मात्रै करिब ३७० मेगावाट विद्युत् उत्पादन रोकिएको प्राधिकरणले जनाएको छ । नदीको बहाव अत्यधिक बढेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका थप जलविद्युत् केन्द्र पनि बन्द भएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका आयोजनासमेत बन्द हुँदा करिब एक हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिरिएको हो । उत्पादन घटेपछि विद्युत् प्रणाली सन्तुलनमा राख्न केही उद्योगको विद्युत् खपत घटाइएको उनले बताए ।
यसअघि भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट ४१३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको थियो । पछिल्लो बाढीपहिरोबाट प्रभावित करिब एक हजार मेगावाट जोड्दा एक महिनामै करिब १ हजार ४०० मेगावाट विद्युत् उत्पादन क्षमतामा असर परेको छ ।

पछिल्लो विपद्बाट २३ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । आयोजनाका संरचनामा क्षति पुग्नुका साथै प्रसारण लाइन अवरुद्ध हुँदा उत्पादनलाई राष्ट्रिय प्रणालीमा जोड्न नसकिएको हो ।
१४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङ्दीलगायतका आयोजनाको उत्पादन प्रभावित भएको छ ।

कालीगण्डकी करिडोरमा ठूलो क्षति
बाढीपहिरोबाट सबैभन्दा ठूलो असर कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनमा परेको छ । म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । उक्त प्रसारण लाइन अवरुद्ध हुँदा १२ वटा जलविद्युत् आयोजनाको करिब ३५८.२ मेगावाट उत्पादन राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन ।
प्रसारण लाइन अवरुद्ध हुँदा ३८ मेगावाटको निलगिरि–१, ७१ मेगावाटको निलगिरि–२, ४२ मेगावाटको मिस्त्री खोला, १४.८ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापाखोला, ६ मेगावाटको लेले खोला, ५ मेगावाटको घलेम्दी, ४८.५ मेगावाटको अपर राहुघाट, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला र ४० मेगावाटको राहुघाटको उत्पादन रोकिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गतकै कुश्मा–नयाँबुटवल २२० केभी प्रसारण लाइनमा पनि समस्या आएको छ । उक्त लाइन प्रभावित हुँदा करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

बाढीले ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको स्वीचयार्डमा समेत क्षति पु¥याएको छ । कालीगण्डकी नदीले कटान गर्दा स्वीचयार्डमा क्षति पुगेको हो ।
गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ, बागलुङ, मनाङ, पर्वत, तनहुँ र लमजुङमा विद्युत् वितरण प्रणाली पनि प्रभावित भएको छ । दाना सबस्टेसन बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । घासा बजारमा रुख ढलेपछि दाना–कोबाङ ३३ केभी लाइन अवरुद्ध भएको छ । म्याग्दीमा गयादी क्षेत्रमा प्रसारण लाइनमा समस्या आएको छ ।
म्याग्दी–बागलुङ ३३ केभी लाइनको ढोडेनीमा पोल ढलेको छ । कुश्मा–बागलुङ ३३ केभी लाइनको कालाभोला क्षेत्रमा कालीगण्डकीको बाढीले पोल ढलाउँदा बागलुङमा विद्युत् आपूर्ति प्रभावित भएको छ । लमजुङको उदिपुर–खुदी ३३ केभी लाइनमा पहिरोले क्षति पु¥याउँदा मनाङतर्फको आपूर्ति बन्द भएको छ ।
तनहुँमा दमौली–झापाटार ३३ केभी लाइनको पोल ढलेपछि रिसिङका विभिन्न क्षेत्र र तनहुँ हाइड्रोतर्फको आपूर्ति प्रभावित भएको छ । गोरखाका तीन फिडर आंशिक प्रभावित छन् । मनाङको चामे सबस्टेसन पनि बन्द छ ।
पर्वतमा अमरदी र फलेवास फिडर बन्द भएका छन् । कालीगण्डकी किनारमा पोल ढलेपछि आपूर्ति प्रभावित भएको हो । कास्कीको केही क्षेत्रमा पनि फिडर आंशिक प्रभावित छन् । नवलपुरको कावासोती क्षेत्रमा बाढी पसेपछि विभिन्न फिडर प्रभावित भएका छन् ।
मधेश प्रदेशमा पनि ७८ वटा एलटी तथा एचटी पोल ढलेका छन् । १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ । तीनवटा वितरण सबस्टेसनमा पानी निकाल्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

उता, कुलेखानीस्थित इन्द्रसरोवरको पानीको सतह १ हजार ५२६.४२ मिटर पुगेको छ । पानीको सतह सुरक्षित राख्न कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा मर्मत टोली, उपकरण र आवश्यक सामग्री परिचालन गरिरहेको जनाएको छ । सडक तथा पहुँचमार्ग अवरुद्ध हुँदा कतिपय स्थानमा प्राविधिक टोली पुग्न कठिन भएको छ । बाटो खुलेलगत्तै थप टोली परिचालन गरी विद्युत् सेवा पुनःस्थापनालाई तीव्रता दिने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
उनका अनुसार विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरबाट आपूर्ति सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणले ढलेका पोल, तार तथा अन्य विद्युत् संरचनाबाट टाढा रहन उपभोक्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्