नेभिगेशन
राजनीति

उच्च सतर्कताको अपिल

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो र चट्याङका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री वालेन्द्र  शाहले सन्देश जारी गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । विपद्का कारण हालसम्म २१ जना नागरिकले ज्यान गुमाएको र ५ जना बेपत्ता रहेको भन्दै उनले वेपत्ताहरुको खोजी जारी रहेको बताएका छन् । 
‘हाम्रो अगाडि खतरा अझै टरेको छैन, जोखिम कायमै छ । त्यसैले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु,’ उनले भनेका छन् । अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ । 
बाढी–पहिरोमा परी म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लामा २१ जनाको मृत्यु भएको पनि उनले जानकारी गराएका छन् । बाढी र पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्ग लगायत मुख्य सडकहरू अवरुद्ध भएका छन् । कालिगण्डकीको पक्की पुल बगेको छ भने विभिन्न नदी तटीय क्षेत्रका सडकमा क्षति पुगेको छ । नारायणी नदीमा क्रुजसिप बगाएर पुलमा अड्किएपछि सुरक्षाका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ ।
पूर्वसूचनाका कारण हिमाली क्षेत्रका पदयात्री र विद्यार्थीहरू जोगिन सफल भएको दाबी गर्दै प्रधानमन्त्री शाहले प्रभावितहरूका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइएको पनि बताएका छन् ।  महाकाली, सेती, नारायणी र कमला नदीमा पानीको सतह निकै बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ । प्रधानमन्त्रीले संकटको समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने वा कालोबजारी गर्नेहरूमाथि कडा निगरानी राखिएको र त्यस्ता कार्य गरेमा कारबाही हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्