नेभिगेशन
दृष्टिकोण

एसियाली खेलकुदमा स्वर्णपदक सपना

प्रत्येक चार वर्षमा आयोजना हुने गरेको एसियाली खेलकुद एसियाडमा नेपालले सहभागिता जनाउन थालेको सात दशक बितिसकेको छ । हरेक संस्करणमा नेपाली खेलाडीले नयाँ उत्साह, नयाँ सम्भावना र पदकको आशा बोकेर प्रतिस्पर्धा गर्दै आएका छन् । एसियाडमा केही खेलाडीले पदक जितेर इतिहास रच्दै नेपालको राष्ट्रिय झण्डा उचाल्ने अवसर पाइसकेका छन् तर एउटा प्रश्न अझै अनुत्तरित छ— एसियाली खेलकुदमा नेपालले स्वर्णपदक कहिले पाउला ? एसियाडमा हालसम्म सीमित नेपाली खेलाडीले मात्र रजत र काँस्य पदक पाएका छन् । नेपालको यात्रा स्वर्णपदकसम्म पुग्न अझै बाँकी छ ।    
नागोयाको प्रतिस्पर्धा     
यसपटक एसियाडमा नेपालले विभिन्न २१ खेलमा प्रतिस्पर्धाका लागि ५७ महिला तथा ७८ पुरुष गरी १३५ जना खेलाडी सहभागी भएका छन् । सबै सहभागी मुलुकले पदक प्राप्तिलाई नै मूल लक्ष्य मानेर मैदानमा उत्रिएका छन् । नेपालले पनि पदक जित्न सक्ने सम्भावित खेललाई मुख्य जोड दिँदा उचित हुन्थ्यो । सन् २०२३ मा चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ वटा खेलमा २५३ जना खेलाडीलाई सहभागिता गराएको तुलनामा यसपालि टोली केही सानो छ । 
नेपालले यो एसियाडमा आर्चरी, ब्याडमिण्टन, बक्सिङ, क्यानोइङ, क्रिकेट, साइक्लिङमा भाग लिदैछ । नेपाली खेलाडीहरूले गल्फ, जुडो, कबड्डी, कराते, स्केट बोर्ड, सफ्ट टेनिस, स्क्वास, स्विमिङ, टेबुलटेनिस, ताईक्वाण्डो, टेनिस, महिला भलिबल, कुस्ती र उसु खेलमा पनि प्रतिस्पर्धा गर्दैछन् । नेपालले विभिन्न एसियाडमा गरी सर्वाधिक १३ वटा पदक जितिसकेको ताइक्वाण्डोमा छनोट चरणमा पराजय भएपछि तीन खेलाडीलाई मात्र पठाएको छ ।     
नेपालको सहभागिता धेरै खेलमा भए तापनि मुलुकको छवि ज्वाज्वल्यमान बनाउने कार्य भने सीमित खेलबाट हुने निश्चित छ । तैपनि त्यति महत्वपूर्ण प्रतियोगितामा भाग लिन गएका नेपाली खेलाडीहरूले खेलको न्यूनतम् मापदण्ड भने पार गर्नै पर्ने हुन्छ ।     
इतिहासतर्फ फर्कंदा     
नेपालले एसियाली खेलकुदको प्रारम्भदेखि नै निरन्तर सहभागिता जनाउँदै आइरहेको छ । भारतको नयाँदिल्लीमा सन् १९५१ मा आयोजना भएको पहिलो एसियाली खेलकुदमा एथलेटिक्सतर्फ धावक स्वर्गीय गजराज जोशीले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसपछि सन् १९५४ मा फिलिपिन्सको मनिला तथा सन् १९६२ मा इण्डोनेशियाको जकार्तामा भएको एसियाली खेलकुदबाहेक नेपालको सहभागिता हालसम्म अन्य कुनै एसियाली खेलकुदमा छुटेको छैन । जापानले यस वर्ष समेत गरी हालसम्म तीनपटक एसियाडको आयोजना गरिसकेको छ ।     
पहिलोपटक सन् १९५८ मा टोकियोमा तेस्रो एसियाली खेलकुद आयोजना हुँदा नेपालले एथलेटिक्समा मात्र दुई खेलाडी पठाएको थियो । त्यतिखेर धावक स्वर्गीय भूपेन्द्र सिलवालले म्याराथन दौडमा सातौं स्थान प्राप्त गरेका थिए । सन् १९९४ मा हिरोसिमामा १२ औं एसियाली खेलकुदमा नेपालले ताइक्वाण्डोमा दुई र करातेमा एक कास्य पदक प्राप्त गरेको थियो । 
पहिलो पटक जित्दा     
एसियाडमा नेपालले पदक पाउन सन् १९५१ देखि सन् १९८६ सम्म कुर्नुप¥यो । सन् १९८६ मा दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न दशौं एसियाली खेलकुदमा नेपालले पहिलोपटक ठूलै सफलता प्राप्त गरेको थियो । एकैपटक ताइक्वाण्डोतर्फ चार र बक्सिङतर्फ चार गरी कूल आठ कास्य पदक जित्नु सानो उपलब्धि थिएन । अझ उल्लेखनीय पक्ष त एसियाली खेलकुद लगत्तै सियोलमै सन् १९८८ मा आयोजित गृष्मकालीन ओलम्पिकमा एसियाडमा पदक जितेका ताइक्वाण्डो खेलाडी विधान लामाले पुनः कास्य पदक प्राप्त गरी नयाँ इतिहास बनाउन सफल भएका थिए तर त्यस ओलम्पिकमा ताइक्वाण्डोलाई प्रदर्शन खेलका रूपमा समावेश गरिएकाले उनको पदकलाई आधिकारिक मान्यता दिइएन ।   अत्यधिक पदक जितेर फर्कदा     
दक्षिण कोरियाको एसियाडमा पदक जितेर स्वदेश फर्केका खेलाडीहरूलाई पहिलोपटक भव्य सम्मानसहित १४ अञ्चलकै परिक्रमा गराइएको थियो । त्यतिखेर राजधानी सियोलमा भएको दशौं एसियाली खेलकुदमा पहिलोपटक पदक त्यो पनि अत्यधिक संख्यामा प्राप्त गरेर कीर्तिमान नै कायम गरेर नेपाली खेलाडीहरूले प्रशंसनीय कार्य गरेका थिए । ताक्वाण्डोमा चार र बक्सिङमा चार गरी आठ वटा पदक मुलुक भित्रिनु सानो सफलता थिएन । खेलाडीहरूले मुलुकका विभिन्न भागमा सम्मानका साथै विभिन्न जिन्सी सामान र नगद पुरस्कारका साथै प्रत्येक पदक विजेताले राजदूत मोटरसाइकलसमेत प्राप्त गरेका थिए ।    
हालसम्मको पदकको स्थिति     
नेपालले सन् १९५१ देखिनै एसियाली खेलकुदमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको भएता पनि हालसम्म कुनै स्वर्ण पदक पाउन सकेको छैन । नेपालले विभिन्न एसियाली खेलकुदमा गरी तीन रजत र २३ काँस्य पदक गरी कूल २६ पदक हासिल गरेको छ तर ७५ वर्षको सहभागिताको यात्रा अवधिमा प्राप्त पदकको संख्या खासै उल्लेखनीय होइन । रजत पदक प्राप्तिको प्रसङ्गको चर्चा गर्दा ताइक्वाण्डो खेलाडी सविता राजभण्डारीले सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा मुलुकका लागि एसियाली खेलकुदमा पहिलो रजत पदक जितेकी थिइन् ।     
सन् २०१८ मा इण्डोनेशियाको जकार्तामा भएको एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङको क्रस कन्ट्री टिम इभेण्टमा दोस्रोपटक रजत पदक जितेको थियो । सन् २०२३ मा चीनको हाङ्गझाउमा भएको एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले महिलाहरूको ६८ केजी तौल समूहको करातेमा मुलुकको लागि रजत पदक जितेकी थिइन् । पछिल्लो पटक चीनमा नेपाली महिला कबड्डी टिमले पनि कास्य पदक प्राप्त गरेको थियो । यस्तै सन् २००२ र सन् २००६ मा गरी ताइक्वाण्डो खेलाडी दिपक विष्ट एसियाली खेलकुदमा दुई कास्य पदक जित्ने एकमात्र नेपाली खेलाडी बन्न सफल भएका थिए ।     
धेरैपटक एसियाड खेल्ने खेलाडी     
नेपालका टेनिस खेलाडी अभिषेक बास्तोलाले नागोयामा चौथोपटक भाग लिएर धेरैपटक एसियाली खेलकुदमा खेल्ने नेपाली बन्न सफल भएका छन् । उनले सन् २०१४ मा पहिलोपटक दक्षिण कोरियामा आयोजित एसियाली खेलकुदमा १६ वर्षको उमेरमा सहभागिता जनाएका थिए । उनले दोस्रोपटक २०१८ मा इण्डोनेशिया तेस्रोपटक सन् २०२३ मा चीनमा एसियाली खेलकुदमा खेलिसकेका छन् । 
विगतमा सन् २०२० सम्ममा ओलम्पिकमा पदक जित्ने लक्ष गरी सुरु गरेको ‘भिजन ट्वाण्टी–ट्वाण्टी’ जस्ता अभियानलाई पछिल्ला पदाधिकारीले निरन्तरता नदिनाले पदक प्राप्तिको दीर्घकालीन लक्ष्य ओझेलमा पर्न गएको थियो । एसियाडमा नेपालको सहभागिता पदकको प्रतिस्पर्धा मात्र नभई विश्व खेलकुदमा नेपालको पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसर पनि भएकाले यसलाई सहभागितामा मात्र सीमित राख्न नहुने टड्कारो आवश्यकता महसुस गरिएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण