नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

विश्वमञ्चमा हिमालय सुनामीको सन्देश

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएकामध्ये विश्वकै सबैभन्दा कान्छा उमेरका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको जलवायु संकट, हिमालयको संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्व–समुदायसमक्ष स्पष्ट रूपमा उठाएका छन् । उनले विपद्बाट नेपाली जनता र नेपालमा परेको गम्भीर अवस्थाको विषयमा नीडरतापूर्वक सम्बोधन गरेका छन् । 
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी वास्तवमा नेपालले निम्ताएको विपत्ति होइन । जलवायुमा आएको परिवर्तन र हिमनदी विस्फोट हुँदा त्यसको विपत्तिबाट नेपालको ठूलो मात्रामा जनधनको क्षति भयो । जुन कुरा प्रधानमन्त्रीले विश्व समुदाय समक्ष प्रस्तुत गरे । तिब्वत क्षेत्रका हिमालय शृंखलाहरूबाट भविष्यमा पनि हिमताल तथा हिम पहिरोको जोखिम भएको अवस्थालाई नेपाली पक्षले अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्टसँग उठाउनुपर्ने अवस्था छ । भोटेकोशीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र अन्य आसपासका क्षेत्रमा भएको क्षतिको अवस्थाले एउटा गम्भीर प्रश्न खडा गरेको छ । बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणको कार्य गर्नुपर्ने ठूलो चुनौती छ । बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्वासको काम गर्नको लागि ठूलो आर्थिक स्रोत र प्रविधिको आवश्यकता छ । यति ठूलो स्रोतसाधन जुटाउन नेपालजस्तो मुलुकका लागि निकै ठूलो चुनौती छ । बालबालिकाको विद्यालय भवन, उनको घरपरिवार, अभिभावक बाढीबाट प्रभावित भई जनधनको गुमाएको अवस्था वास्तवमै कठिन घडीमा रहेको अवस्थालाई नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले पनि विश्वमञ्चमा हिमालय क्षेत्रबाट भएको विपत्तिलाई विभिन्न कोणबाट विश्वसमक्ष राखेका छन् । परराष्ट्र मन्त्रीको प्रयास र पहललाई पनि कूटनीतिक परिपक्वताका रूपमा लिन सकिन्छ । 
प्रधानमन्त्री बालेन शाहले बाढीलाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशले भोगिरहेको असमान क्षतितर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा विपद् आएपछि राहत दिएर वा भौतिक संरचना पुनर्निर्माण गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै विपद्को कारण र जिम्मेवारी पहिचान गर्ने, उचित क्षतिपूर्ति सुनिश्चित गर्ने र भविष्यका विपद् सामना गर्न अझ उत्थानशील समाज निर्माण गर्ने दिशामा विश्व अघि बढ्नुपर्छ भन्ने विषयलाई जोडदार रूपमा उठाएका छन् । 
प्रधानमन्त्री शाहले जलवायु वित्त, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पनि औंल्याउदै जलवायु संकटबाट प्रभावित देशलाई थप ऋणको बोझमा पार्नुको सट्टा न्यायपूर्ण र पर्याप्त सहयोग आवश्यक रहेको भनाइ पनि निकै चोटिलो मान्न सकिन्छ । त्यसैगरी, हिमालय संरक्षण नेपालको मात्र विषय नभई सम्पूर्ण विश्वको वातावरणीय र मानवीय सरोकारको विषय भएको सन्देश पनि प्रधानमन्त्रीले राखेका छन् । 
विश्वमा युद्ध र हतियारमा भइरहेको ठूलो खर्चतर्फ संकेत गर्दै प्रधामन्त्रीले विश्वका मानिसको खाद्य सुरक्षा, रोजगारी, सम्मानजनक जीवन र विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने कुरा उठाएका छन् । 
समग्रमा प्रधानमन्त्री बालेन शाहको सम्बोधनले जलवायु न्याय, हिमालय संरक्षण, जिम्मेवारी, क्षतिपूर्ति, उत्थानशीलता र प्रभावकारी बहुपक्षीय सहकार्यलाई नेपालले अन्तर्राष्ट्रिय आवाजका रूपमा अघि सारेको छ ।
प्रधानमन्त्री बालेनले विश्वमञ्चमा व्यक्त गरेको क्लाइमेट डिप्लोमेसी र हिमालय सुनामीजस्ता गम्भीर विषयलाई विश्वजगतले संवेदनशील रूपमा लिनुपर्ने हुन्छ । हिमालय विपत्ति नेपाल र नेपाली जनताको मात्र समस्या होइन, यो आज विश्वभरका मानवजातिका लागि गम्भीर समस्या देखिएको छ । हिमालयबाट भविष्यमा हुन सक्ने जोखिमबाट चीन, नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तानलगायत क्षेत्रमा बढी प्रभाव पर्न सक्ने देखिन्छ । त्यसैले यो क्षेत्रको हिमालय विपत्ति नेपालको मात्र समस्या नभएर छिमेकी मुलुकका साथै यो क्षेत्रमा रहेको अन्य मुलुकहरूको पनि साझा समस्याका रूपमा उठाउनु आजको आवश्यकता भएको छ । अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालका प्रधानमन्त्री र उनको टिमले प्रस्तुत गरेको विपत्तिको अवस्था र त्यसको दूरगामी असरप्रति विश्व समुदायको ध्यानलाई नेपालले आगामी दिनमा व्यवहारमा उर्तान सक्नुपर्छ । नेपाली जनता भोलि पनि प्राकृत्तिक विपत्ति र हिमाली सुनामीको खतराबाट मुक्त हुने अवस्था देखिँदैन । यसका लागि बेलैमा गम्भीर हुनुपर्ने अवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण