नेभिगेशन
अर्थतन्त्र

१५० सीसीको हाइपर स्पोर्ट स्कुटर टीभीएस एनटर्क १५० नेपालमा

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा १५० सीसीको हाइपर स्पोर्ट स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ । कम्पनीले नक्सालमा आयोजित कार्यक्रममा नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
१४९ दशमलव ७ सीसीको रेस–ट्युन गरिएको इन्जिनयुक्त एनटर्क १५० ले ७ हजार आरपीएममा १३ दशमलव २ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४ दशमलव २ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । स्कुटरले ६.३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने तथा अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ ।
स्टिल्थ विमानबाट प्रेरित डिजाइनमा तयार गरिएको स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङलेट, स्पोर्टी टेललाइट, कलर्ड एलोय ह्विल र विशेष मफलरलगायतका विशेषता छन् ।
कम्पनीका अनुसार एनटर्क १५० मा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड सुविधा छन् । टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिम पार्किङ स्थान, कल तथा सन्देश सूचना र विभिन्न राइडिङ मोड यसमा उपलब्ध छन् ।
सुरक्षाका लागि सिंगल–च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल राखिएको छ । त्यस्तै टेलिस्कोपिक सस्पेन्सन, एड्जस्टेबल ब्रेक लिभर, ई–जेड सेन्टर स्ट्यान्ड र २२ लिटरको अन्डर–सिट स्टोरेजले प्रयोगलाई सहज बनाउने कम्पनीको दाबी छ ।
एनटर्क १५० स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुने बताइएको छ । यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले सन् २०१८ मा नेपालमा एनटर्क सार्वजनिक भएयता ब्रान्डले ग्राहकको विश्वास हासिल गरेको उल्लेख गर्दै नयाँ मोडलले सम्बन्धलाई थप मजबुत बनाउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्