वासिङ्टन, ५ असोज - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलयाती प्रधानमन्त्री सर कियर स्टार्मरलाई अवैध प्रवासीहरू युके आउन रोक्न ‘सेना परिचालन’को सल्लाह दिएका छन् । उनले सेना परिचालन नगरे अवैध प्रवासीहरूले देशलाई भित्रैबाट नष्ट गर्न सक्ने चेतावनीसमेत दिएका छन् । उनको बेलायत भ्रमणको अन्त्यमा भएको एक पत्रकार सम्मेलनमा बोल्दै आफ्ना धारणा राखेका हुन् ।
प्रधानमन्त्री स्टार्मरले आयोजन गरेको ट्रम्पसँगको संयुक्त प्रेस कान्फ्रेन्समा बोल्दै ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा अवैध आप्रवासी घुस्नबाट रोक्न उनले कडा कदम चालेको दाबी गर्दै स्टार्मरलाई पनि त्यस्तै गर्न आग्रह गरे । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भनें, अवैध आप्रवासीहरूलाई रोक्नुस् । यसका लागि सेनालाई बोलाउनुस् वा अन्य कुनै माध्यम प्रयोग गर्नुस्, केही फरक पर्दैन । नरोके यसले देशहरूलाई भित्रैबाट नष्ट गर्छ ।’
ट्रम्पको यो हस्तक्षेपकारी भनाइ यस्तो राज्य भ्रमणको समाप्तिमा आएको हो जुन धेरै हदसम्म सकारात्मक र समस्यामुक्त थियो । भ्रमणका क्रममा स्टार्मरले अमेरिकी कम्पनीहरूले बेलायतमा १५० अर्ब पाउन्ड लगानी गर्ने वाचा गरेको दाबी गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको सेना परिचालन गरेर अवैध आप्रवासबाट देश बचाउने आह्वान गरेको कुरा अर्का विपक्षी नेता निगेल फारेजको दक्षिणपन्थी रिफर्म युकेको मागसँग मेल खाएको छ । उनीहरूले पनि यस मुद्दालाई कडारूपमा अपनाउनुपर्ने बताइरहेका छन् । फारेजको पार्टीले ‘ठूलो मात्रामा निर्वासन’ गर्नुपर्ने माग उठाउँदै आएको निकै भइसकेको छ ।
ट्रम्पको सैन्य परिचालनका बारेमा बोल्दै प्रधानमन्त्री स्टार्मरले भनेका छन्, ‘सरकारले यो समस्या समाधान गर्न कदम चालिरहेको छ र हालै केही घटनामा गैरकानूनीरूपमा भित्रिएका आप्रवासीहरूलाई फर्काइएको समेत उनले बताए ।
दुई नेताहरूले एकान्तमा एक घण्टा विश्वव्यापी मुद्दाहरूमा कुराकानी गरेका थिए । तीमध्ये स्टार्मरको प्यालेस्टिनी राज्यलाई चाँडै मान्यता दिने योजनामा पनि मतभेद थियो । ट्रम्पले यो ‘हाम्रा केही मतभेदमध्ये एक’ हो भनी जवाफ दिएका थिए ।
तर अन्य मतभेदहरू पनि थिए । तीमध्ये एउटा चाहिँ स्टार्मरले समर्थन गरेको ‘पवनशक्ति’ अर्थात् एयर पावर पनि एउटा हो । हावाबाट ऊर्जा उत्पादन गर्ने बेलायती प्रयासलाई उनले ‘एउटा महँगो ठट्टा’ भन्दै उत्तर सागरको तेल दोहनलाई अधिकतमरूपमा बढाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।
स्टार्मरले गाजा क्षेत्रमा भइरहेको ‘मानवीय संकट’को कुरा गरेका थिए भने ट्रम्पले इजरायलमा सैन्य अभियान रोक्न थप दबाब दिने बेला भएन र भन्ने प्रश्नमा हमासले बनाएको इजरायली बन्धकहरूमा मात्र ध्यान केन्द्रित गरेका थिए ।
अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘वास्तवमै मलाई निराश पारे’ भने तर उनले युक्रेनमा युद्ध रोक्न क्रेमलिनलाई कसरी दबाब दिने भन्नेबारे भने बताएनन् । ट्रम्पको अलास्कामा पुटिनसँग शान्तिवार्ता एक महिना भन्दा बढी अघि भएको थियो । प्रेस कन्फ्रेन्सको सबैभन्दा ठूलो आश्चर्य चाहिँ वासिङ्टन फर्किनुअघि बेलायतमा ट्रम्पको अन्तिम काम– तालिबानसँग अफगानिस्तानको बाग्राम वायुसेना अड्डा फिर्ता लिने अमेरिकाको इच्छा थियो ।
ट्रम्पले भने, ‘हामीले तिनीहरूलाई यो कुनै कारणबिना नै छाडिदियौं । हामी यसलाई फिर्ता लिने प्रयास गरिरहेका छौं, किनभने उनीहरूलाई हामीबाट धेरै चीजहरू चाहिन्छ । तर हामीले अड्डा चाहने एउटा कारण भनेको तपाईंलाई थाहा छ, चीनले आफ्नो आणविक हतियार बनाउने ठाउँबाट यो एक घण्टा मात्रै टाढा छ ।’
यो प्रेस कान्फ्रेन्सले ट्रम्पको ऐतिहासिकरूपमा सफल बेलायती भ्रमण सकेको जनाउ दियो । अफिसमा छँदै कुनै एक अमेरिकी राष्ट्रपतिले दुई यस्ता कार्यक्रमहरू गरेको यो पहिलोपटक हो । उनको पछिल्लो भ्रमण सन् २०१९ मा उनको पहिलो राष्ट्रपतिकालमा भएको थियो ।
ट्रम्पले भोग्नुपर्ने नमीठो एउटा सम्भावित प्रश्नबाट भने उनले सामना गर्नुपरेन । उनले दोषी पीडोफाइल जेफ्री इप्स्टीनसँग उनको सम्बन्धका बारेमा फेरि प्रश्नहरूको सामना गर्नुपर्ने सम्भावना थियो ।
इप्स्टीनसँगको सम्बन्धका कारण स्टार्मरले लर्ड पीटर मान्डेल्सनलाई वासिङ्टनमा बेलायती राजदूतको पदबाट हटाएको बारेमा सोधिएपछि ट्रम्पले त्यो बेलायती प्रधानमन्त्रीको लागि प्रश्न हो भने । उनले भने, ‘म उनलाई चिन्दिनँ ।’ उनले हालै स्कटिस व्हिस्कीका बारेमा कुराकानी गर्न ओभल अफिसमा मान्डेल्सनलाई आमन्त्रित गरेका थिए । - एजेन्सी